ग्राहक बनेका मन्त्रीलाई नै प्याज व्यापारीले ठगेपछि…

काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बुधबार बिहानै लगनखेलस्थित कृषि तथा तरकारी बजार पुगे। उनी प्याजमा तोकिएभन्दा चर्को मूल्य लिएको थाहा पाएपछि त्यहाँ पुगेका थिए। मन्त्रीले प्याज किन्‍न खोजे तर व्यापारीले सजिलै चिने । उद्योगमन्त्री भट्टसँग व्यापारीले भने, “हामीलाई के भन्नुहुन्छ । हामीले प्याज ल्याउने बल्खु र कालीमाटी बजारबाट हो ।

त्यहाँ गएर सोध्नुस् न ।” त्यसपछि मन्त्री भट्ट मन्त्रीको गाडीमा नभएर अर्कै गाडीमा बल्खु पुगे । मुखमा मास्क थियो । नजिकै सुरक्षाकर्मी पनि थिएनन् । मन्त्रीले प्याज किन्‍न गोजीबाट पैसा झिके । ४८ रुपैयाँमा मिलिरहेको प्याज मन्त्रीसँग १२० रुपैयाँसम्म व्यापारीले लिए । उनले एक पसलबाट मात्रै होइन, २/४ पसलबाट प्याज किने । मन्त्री भट्टले बाह्रखरीसँग हाँस्दै भने, “मैले ५०/६० किलोसम्म प्याज आफैंले खरिदें । उनीहरुले चिनेनन् ।

व्यापारीले बदमासी गरेको पाइएपछि प्रहरी सक्रिय भयो । मैले स्थानीय प्रहरीसँग भने समन्वय गरेको थिएँ ।” यसअघि बजारमा पर्याप्त उपलब्ध प्याज एकाएक अभाव भएको सूचना मन्त्रीसम्म पुगेको थियो । सोही सूचनाका आधारमा आफूले छड्के अनुगमन गरेको मन्त्री भट्टले जानकारी दिए । भारतले प्याजको निर्यात रोकेपछि नेपाली बजारमा प्याजको मूल्य आकासिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *