घरबाहिर निस्किन नदिन ‘भूत’को भेषमा स्वयंसेवक परिचालन

एजेन्सी, २ वैशाख । इन्डोनेशियाको एउटा गाउँमा कोरोनाभाइरस नियन्त्रणका लागि मानिसहरू घरभित्रै बसून् भन्ने उद्देश्यले भूतको भेषमा स्वयंसेवकहरू परिचालन गरिएको छ । गत महिनादेखि जाभा द्वीपको केपु गाउँमा भूतको भेषमा स्वयंसेवकहरू राति सडकमा परिचालन गरिएको हो ।

इन्डोनेशियाको लोककथामा मृत्यु भएका मानिसको आत्माले मुक्ति पाएन भने ‘पोकोङ’ बन्ने उल्लेख छ । पोकोङहरू डरलाग्दा हुन्छन् । अहिले स्वयंसेवकहरूलाई पनि त्यस्तै भेषधारण राति-राति सडकमा परिचालन गरिएकाे छ । गाउँले युवाहरूको समूहका प्रमुखको अगुवाइमा स्थानीय प्रहरीसँग सहकार्य गरेर उक्त अभियान थालिएको हो ।

स्थानीयहरूका अनुसार स्वयंसेवकहरूले गस्ती गर्न थालेपछि मान्छेहरू घरभित्रै बस्न थालेका छन् । ‘पोकोङ देखिन थालेपछि अभिभावक र बालबालिकाहरू घरबाट बाहिर निस्किएका छैनन्,’ कर्नो सुपद्मोले रोएटर्ससँग भने, ‘अनि मानिसहरू सन्ध्याकालीन प्रार्थनापछि बाटोमा भेला हुने वा बसिरहने गर्दैनन्।’

पोकोङको भेषमा स्वयंसेवकहरूलाई देखेपछि कोरोनाभाइरस कति घातक हुन सक्छ भन्ने गाउँलेहरूले बुझेको र त्यो अभियान प्रभावकारी भएको स्थानीय मस्जिदका रक्षक अन्जर पान्काले ‘जाकार्ता पोस्ट’ पत्रिकालाई बताएका छन् ।

युवा समूहका प्रमुख अन्जर पन्कानिङ्त्यासले गाउँलेहरू बाहिर ननिस्कुन भनेर याे विधि अपनाएकाे बताएका छन् । उनले भने, ‘हामी अरूभन्दा फरक हुन चाहन्थ्यौँ। अनि पोकोङहरू डरलाग्दा देखिने भएकाले तिनबाट (गाउँलेहरू) हतोत्साह होऊन् भन्ने चाहन्थ्यौँ ।’

अहिलेसम्म इन्डोनेशियामा झन्डै ४,५०० जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। तीमध्ये ४०० जनाको मृत्यु भएको छ । ३८० जना भने पूर्णरूपमा निकाे भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *