घर हिंडेका वटुवाहरुलाई भक्तपुरको जगाती चोकमा खाना र आरामको व्यवस्था

भक्तपुर, ७ बैशाख । अरनिको राजमार्ग हुँदै घर जान हिंडेका वटुवाहरुलाई भक्तपुरको जगाती चोकमा खाना र आराम गर्ने व्यवस्था मिलाइएको छ। लकडाउनको अवधि बढेसंगै बिभिन्न जिल्लामा ज्याला मजदूरी गरेर खाने व्यक्तिहरुलाई खान बस्न समस्या भए पछि हिंडेर घर जान थालेका छन् ।

यसरी हिंडेकाहरुका लागि भक्तपुर सिपाडोलका स्थानीय युवाहरुले जगाती प्रहरी वृतको समन्वय र ब्यवस्थापनमा चेकपोस्ट अगाडि खाना, आराम गर्ने ठाउँ र गाडी व्यस्थापन गरी गन्तव्यसम्म जाने व्यवस्था सुरु गरेका छन् ।

स्थानीय युवाहरुको सक्रियतामा मजदूरहरुलाई खाना खुवाउने, स्वास्थ परीक्षण गर्ने तथा टेन्ट हालेर विश्राम स्थलको निर्माण गरी आराम गर्ने र गन्तव्य सम्म जान गाडीको समेत व्यवस्थापन गरेको हो ।

उपत्यका लगायत आसपासका जिल्लामा ज्याला मजदूरी गर्दै आएका उनीहरु लकडाउनको समयावधि बढेसँगै पैसाको अभावले खाने समस्या भए पछि हिंडेरै आफनो गाँउघर फर्किन लागेका हुन ।

उनीहरुलाई स्थानीय युवाहरुले जगाती प्रहरी बृत्तको समन्वयमा आफनो गन्तव्य तर्फ जान चाहनेहरुको लागि खाद्यान्न तथा तरकारी ढुवानी गर्ने गाडीहरुबाट गाडीवालाको बाटो पर्ने ठाउँ सम्म जाने व्यवस्थापन समेत गरिएको सूर्यविनायक ८ का वडाध्यक्ष किरण थापाले जानकारी दिनु भयो ।

शुक्रवार रातिदेखि नै यो अभियान चलाए पछि अहिलेसम्म करिव ५ सय जनालाई आआफनो गन्तव्य तर्फ पठाएको छ । रामेछापबाट हिडेरै जगाती चौकी पुगेका उनीहरु कोही पश्चिमको हुम्ला, जुम्ला, रोल्पा, दाङ, जाने छन् भने कोही काठमाडौंबाट पूर्वको दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ओखलढुंगा, सर्लाही, महोत्तरी,बारा पर्सा लगाएका जिल्लाहरुमा जान हिंडेकाहरु छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *