चप्पल उद्योगमा आगलागी हुदाँ एक करोड क्षति, कर्मचारी घाइते

बाँके : नेपालगन्ज–गुलरिया सडकखण्डको खजुरारोडस्थित जानकी गाउँपालिका–३, इन्द्रपुरगेटमा रहेको जय सियाराम मेनिफेक्चरिङ इण्डट्रिज प्रालिको चप्पल उद्योगमा बुधबार बिहान लागेको आगालागीबाट करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको छ। आगो १० बजे नियन्त्रणमा आएको छ। आगलागीमा परी एक करोड रुपैयाँ सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

आगलागीबाट उद्योगमा रहेका कच्चा पदार्थ र उत्पादन भएका चप्पल जलेर नष्ट भएका छन्। आगलागीमा परी चप्पल उद्योगका कर्मचारी २५ वर्षीय दिलिप चमार घाइते भएको प्रहरीले जनाएको छ। घाइते चमारको टाउको र कम्मरमुनि जलेको छ। उनको भेरी अस्पतालमा उपचार भइरहेको छ।

मंगलबार राति करिब १ बजेतिर आगो लागेको हो। आगो नियन्त्रणका लागि नेपालगन्ज, कोहलपुर, बर्दियाको गुलरिया, मधुवन, नेपालगन्ज विमानस्थलका दमकल प्रयोग गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताए। आगो नियन्त्रणको लागि घटनास्थलमा नेपाल प्रहरी, राँझास्थित भैरवनाथ गणका नेपाली सेनाको टोली, सशस्त्र प्रहरी खटिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *