चितवनमा लकडाउन निकै खुकुलो

२३ वैशाख, चितवन । लकडाउनका सुरुवाती दिनमा चितवनमा गाडी सञ्चालनमा निकै कडाइ गरिए पनि हिजोआज खुकुलो देखिएको छ । डराएर घर बसेका नागरिक पनि सवारी साधन लिएर सडकमा निस्कन थालेका छन् ।

यसको उदाहरण चितवनका शहरी तथा भित्री भागमा देख्न सकिन्छ । जिल्लाका मुख्य बजार क्षेत्र नारायणगढ, भरतपुर लगायतका क्षेत्रमा साँझ र विहानको समयमा लकडाउन बिर्साउने गरी सवारी साधनहरु चलिरहेका छन् । मानिसहरुको आवातजावत पनि निर्वाध छ ।

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले देशव्यापी लकडाउन गरेको मंगलबार ४३ औं दिन भइसकेको छ । यस अवधिमा देशभरमा ८२ जनामा कोरोना संक्रमण देखिएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका ८ का आमा र छोरालाई कोरोना संक्रमण देखिएकोमा छोरा निको भएर घर फर्किएका छन् भने आमा अझै अस्पतालमा नै छिन् ।

चितवनका ग्रामीण तथा शहरी क्षेत्रका भित्री पसलहरु धमाधम खुल्न थालेका छन् । मानिसहरु झुण्ड झुण्डमा किनमेलका जाने गरेका देखिन्छन् । सुरुमा धमाधम पक्राउ गरेर कारर्वाही चलाउने प्रहरी प्रशासन सडकमा त छन् तर उनीहरुले कुनै रोकावट गर्दैनन् । लकडाउनकै बेला पूर्वी चितवको खैरहनीमा हाइवेमा नै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्युसमेत भएको छ ।पहिला लकडाउनको उल्लंघन गरेको भनेर दैनिकजसो यात्रुलाई नियन्त्रणमा लिएर छाड्ने गरिएको भए पनि हिजोआज सो क्रम रोकिएको छ ।

चितवनमा दिउँसो चर्को घाम लाग्ने हुँदा सडकमा त्यति मानिसहरु देखिदैनन । साँझपख शिलत खोज्न भन्दै धेरै मानिस बाहिर निस्केका छन् । अस्पतालमा समेत भिड बढ्न थालेको छ । बिरामीसहित उनीहरुका आफन्तहरु पनि अस्पताल जाँदा भिड निकै बढेको र सामाजिक दूरी कायम गर्न नसकिएको अस्पतालहरुले जनाएका छन् ।

शहरी क्षेत्रका अधिकांश बैंक खुल्ला छन् । बैंकमा सर्वसाधारणको अत्यासलाग्दो भीड देख्न सकिन्छ । नारायणगढ र भरतपुरको एसबीआई बैंकमा सबैभन्दा भिड छ । भरतपुरस्थित प्रभु बैंक, नारायणगढको नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एसिया, एनसीसी, एभरेष्ट बैंकलगायतमा सर्वसाधारणको चाप निकै बढेको छ । सरकार मातहतका राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडमा पनि चाप बढी छ ।

तरकारी तथा खाद्यान्न बजारमा पनि भीड छ । कोरोना प्रभावित जिल्लाहरुबाट समेत नारायणगढ बजार क्षेत्रमा मान्छे आउने क्रम बढेको पाइएको छ । कोरोना प्रभावित जिल्लाबाट पनि मान्छे आएको थाहा पाएपछि बजार क्षेत्रका वासिन्दा त्रसित बनेका छन् ।

भरतपुर महानगरपालिका ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डितले बजार क्षेत्रमा तराइबासी आउने–जाने क्रम बढेकोले डर बढेको बताए । उनी भन्छन् ‘बजार क्षेत्रमा विभिन्न ठाँउबाट मानिसहरु आएको भन्दै जनताले फोन गर्न थालेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *