चिनियाँ रिपोर्टको चेतावनी – कोरोनाका कारण तियानमेन घटनापछिको जस्तै अवस्था आउनसक्छ

एक चिनियाँ रिपोर्टले कोरोनाभाइरसको महामारीका कारण चीनले वैमनश्यताको लहर सामना गरिरहेको र त्यसले अमेरिकासँगको सम्बन्ध टकरावको स्थितिमा पुग्ने चेतावनी दिएको छ।

समाचार संस्था रोयर्टसका अनुसार यसै महिनाको सुरूमा चीनको राज्य सुरक्षा मन्त्रालयले चिनियाँ राष्ट्रपति सी चिनफिङसहितका उच्च चिनियाँ नेताहरूलाई प्रस्तुत गरेको रिपोर्टमा यो सन् १९८९ को तियानमेन स्क्वायर घटनापछि सुरु भएको चीनविरोधी भावना जत्तिकै उच्च हुने निचोड निकालिएको छ।

बेइजिङले महामारीको पछिल्लो समयमा संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेको चीनविरोधी भावनाहरूको लहर सामना गरिरहेको छ।रिपोर्टमा दुई विश्व शक्तिबीच हुनसक्ने सबैभन्दा खराब परिस्थितिको सशस्त्र टकरावको लागि तयार हुन आवश्यक रहेको उल्लेख छ।

रिपोर्टसँग निकट मानिसहरूलाई उद्धृत गर्दै रोयटर्सले लेखेको समाचारमा उसले विषयको संवेदनशीलतालाई ध्यानमा राख्दै ती व्यक्तिहरूले पहिचान खुलाउन अस्वीकार गरेका जनाएको छ।यो रिपोर्टलाई चीनको रक्षा मन्त्रालयसँग जोडिएको थिंक ट्यांक चाइना इन्सिट्युट अफ कन्टेम्पोररी इन्टरनेशनल रिलेसन(सिआईसिआइआर)ले तयार पारेको हो।

यो संस्था चीनको उच्च जासुसी निकाय हो।रोयटर्सले सो प्रतिवेदनको कागज भने नहेरेको जनाएको छ। तर, यस निचोडका बारेमा प्रत्यक्ष रूपमा जानकार रहेकाहरूले जानकारी दिएको उसको भनाइ छ।

‘योसँग सम्बन्धित जानकारी हामीसँग छैन’, रोयटर्सले सोधेको प्रश्नहरूको एक विज्ञप्तिमार्फत जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयको प्रवक्ता कार्यालयले भनेको छ।चीनको राज्य सुरक्षा मन्त्रालयले यसबारेमा कुनै सार्वजनिक टिप्पणी गरेको छैन भने जानकारीका लागि मन्त्रालयसँग सम्पर्क हुन नसकेको रोयटर्सको भनाइ छ।

सिआईसिआइआर सन् १९८० सम्म मन्त्रालयअन्तर्गत नै रहेको प्रभावशाली ‘थिंक ट्यांक’ हो। यो संस्थाले चिनियाँ सरकारलाई परराष्ट्र तथा सुरक्षा मामिलाका बारेमा सल्लाह दिनेगर्छ। उसले पनि यसबारेमा प्रतिक्रिया दिएको छैन।

सो रिपोर्टमा भनिएको कुरालाई चिनियाँ नेताहरूले कुन स्तरसम्म लिएका छन् र नीतिको कुन तहसम्म प्रभाव पार्नेछ भन्ने बारेमा थाहा हुन नसकेको रोयटर्सले बताएको छ।तर, रिपोर्टले चीनले डायस्पोराको रणनीतिक लगानी र सुरक्षा अवस्थालाई कति संवेदनशिल तरिकाले हेर्छ भन्ने देखाएको छ।

अमेरिकाबाट अस्वस्थ व्यापार र प्राविधिक अभ्यासलाई लिएर चीनप्रति गहिरिँदै गइरहेको अविश्वास र तनावले चीन-अमेरिका सम्बन्ध दशकौं यताको खराब तहमा आएको छ।

यसमा हङकङ, ताइवानका विषय र दक्षिण चीन सागरमा चीनले गरेको अतिक्रमणसम्मका विषयहरू पनि छन्।पछिल्ला दिनहरूमा कोरोना भाइरसका कारण भएको दशौं हजार अमेरिकीको मृत्यु र अर्थ व्यवस्थामा परेको गहिरो प्रभावले राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतिमा निर्वाचित हुने अभियानमा कठिनाइ उत्पन्न गराइरहेको छ।

उनले यसबाट देशभित्र चर्को आलोचना खेपिरहेका छन्।यसै कारणले गर्दा उनले पछिल्लो समय चीनको चर्को आलोचना गर्दै व्यापारमा नयाँ करहरू लगाउने धम्की दिँदै आएका छन्। उनको प्रशासनले कोरोना महामारीले निम्त्याएको अवस्थाका लागि चीनसँग बदला लिने उपायहरू खोजिरहेको बताउँदै आएको छ।

बेइजिङले भने यसलाई उदाउँदो चीनलाई अमेरिकाले नियन्त्रण गर्न खोजेको प्रयासका रूपमा बुझ्दै आएको छ।सो रिपोर्टले चीनको प्रगतिलाई वासिङ्टनले आफ्नो अर्थव्यवस्था र राष्ट्रिय सुरक्षाका लागि चुनौतीका रूपमा हेरेको र पश्चिमा प्रजातन्त्रका लागि चुनौती मानेको निचोड निकालेको बताइएको छ।

रिपोर्टले चीनको सत्तासीन कम्युनिस्ट पार्टीको लोकसमर्थनलाई घटाउन लक्षित रहेको उल्लेख गरेको छ।रोयटर्सलाई प्रतिक्रिया दिदैं अमेरिकी प्रवक्ता मोर्गन ओर्टागसले कोरोना भाइरस बारेका पहिलो जानकार चीन नै भएकाले यसले निम्त्याएको खतराका बारेमा उनीहरूका नागरिक र विश्वलाई जानकारी दिने ‘विशेष जिम्मेवारी’ चिनियाँ अधिकारीहरूको भएको बताएकी छन्।

चिनियाँ रिपोर्टले निकालेको निश्कर्षलाई प्रत्यक्ष सम्बोधन नगरी उनले ‘बेइजिङको वैज्ञानिक, पत्रकार तथा नागरिकलाई चुप बनाउने प्रयास र गलत सूचनाले स्वास्थ्य खतरा बढाएको’ बताइन्।

यसमा अमेरिकी सुरक्षा परिषदका एक प्रवक्ताले भने टिप्पणी गर्न अस्वीकार गरे।रोयटर्सका अनुसार सो चिनियाँ रिपोर्टले कोरोना भाइरसका कारण आउने चीन विरोधी भावनाले उसको ‘बेल्ट एण्ड रोड इन्फ्रास्टक्चर प्रोजेक्ट’मा असर गर्ने चेतावनी चीनलाई दिएको छ।

रिपोर्टमा वासिङटनले क्षेत्रिय साझेदारहरूलाई आर्थिक र सैन्य सहयोग दिएर एसिया क्षेत्रको सुरक्षा अवस्थालाई अस्थिर बनाउन सक्ने उल्लेख छ।तीन दशक अगाडि तियामेन नरसंहारपछि अमेरिकासँगै थुप्रै पश्चिमी सरकारहरूले चीनमाथि हतियार विक्री र प्रविधि साझेदारीमा प्रतिबन्ध लगाएका थिए।

चीन आज त्यो समय भन्दा धेरै शक्तिशाली छ।राष्ट्रपति सि चिनियाँ सरकारको नेतृत्वमा आएपछि उनले चीनको सैन्य रणनीतिलाई आधुनिक युद्धका लागि सुसज्जित बनाएका छन्। उनले चिनियाँ नौसैनिक र वायुसेनालाई अमेरिकाले यस क्षेत्रमा ७० वर्षदेखि जमाउँदै आएको प्रभूत्वलाई चुनौती दिनसक्ने गरी विस्तार गरिरहेका छन्।

एक विज्ञप्तिमा चीनको विदेश मन्त्रालयले ‘चीन-अमेरिकाको सुमधुर सम्बन्ध’ले दुबै देश र अन्तराष्ट्रिय समुदायको हितमा काम गर्ने भएकाले साझेदारी गर्न आव्हान गरेको छ।

‘राजनीतिक भड्काउ ल्याउने कुनै शव्द वा कामले जारी महामारीविरूद्धको अन्तराष्ट्रिय लडाईंका लागि अनुकुल नहुने’मा पनि त्यसले जोड दिएको छ।रिपोर्टसँग जानकार रहेकाहरुले चिनियाँ जासुसी समुदायले यसलाई दोश्रो विश्व युद्धपछि सुरु भएको शितयुद्धको चिनियाँ संस्करणका रुपमा बुझेको जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *