चीनद्वारा कोरोना महामारीको चेतावनी दिने डा. लीसहित १३ जना सहिद घोषित

काठमाडौं, चैत २१ । चीनले कोरोनाभाइरसको उद्गमविन्दु चीनको हुबेई प्रान्तमा कोरोना महामारीको चेतावनी दिने डा. ली वेनलियाङसहित १३ जनालाई सहिद घोषणा गरेको छ । गत डिसेम्बरको अन्त्यतिर कोरोनाभाइरसले महामारीको रूप लिने चेतावनी दिएका डा. लीलाई प्रहरीले हिरासतमा लिएर केरकार गरेको थियो ।

बिरामीको उपचारमा खटिएका लीको गत फेब्रुअरीमा कोरोना संक्रमण भएर मृत्यु भएको थियो । लीको चेतावनी सही सावित भएपछि उनलाई सहिद घोषणा गरिएको हो । चीनले कोरोनाभाइरसको महामारीबाट ज्यान गुमाएका नागरिकको सम्झनामा शनिबार देशभरि शोक मनाउने भएको छ ।

कोरोनाभाइरसबाट ज्यान गुमाउने तीन हजार ३२२ जनाको सम्झनामा शोक मनाउन लागिएको हो । जसअनुसार स्थानीय समय बिहान १० बजे ३ मिनेटसम्म मौनधारण गर्न भनिएको छ भने गाडी र डुंगाचालकहरूलाई आफ्नो सवारीको हर्न बजाउन आग्रह गरिएको छ ।

वर्षभरि ज्यान गुमाउनेको सम्झना गरिने चिनियाँ पर्व चिङमिङको अवसर पारेर शोक मनाउन लागिएको हो । शोकसभाकै क्रममा चीनभित्र र उसका कूटनीतिक नियोगहरूमा चिनियाँ झन्डा आधा झुकाइने छ । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *