जनकपुरको सडकमा पैसा फाल्दै हिड्ने महिलाहरुबारे प्रहरीले थाल्यो अनुसन्धान

जनकपुरधाम, ५ वैशाख । शुक्रवार अपरिचित दुई महिलाले जनकपुरधाममा सडकमै पैसा फाल्दै हिँडेपछि स्थानीयवासी त्रसित भएका छन् । जनकपुरधाम वडा नम्बर ४ महावीर चोकमा दुईजना महिलाले सडक र पसल छेउमा पैसा फाल्दै भागेपछि स्थानीयवासी त्रसित भएका हुन् ।

शुक्रवार दिउँसो एकबजे तिर दुईजनाको समूहमा रहेको ती महिलाहरुले १० रुपैयाँको नोटहरु छरेर भागेको स्थानीय महावीर चौकवासीहरुको भनाई छ । धनुषा प्रहरीका अनुसार नोट फालेर जाने महिला को हुन र किन पैसा फालेर गए त्यो यकीन हुन नसकेको धनुषा प्रहरी प्रवक्ता रामेस्वर कार्कीले न्यूज २४ लाई जानकारी दिनुभयो ।

कार्कीले भन्नुभयो, ’स्थानीयले खबर गर्ने बित्तिकै हामीले घटनास्थल पुगेर दशका १३ वटा नोट संकलन गरेर सुरक्षित साथ लिएर आएको हो ।’ महिलाको तस्वीर आफूहरुसंग आईसकेको र खोजी कार्य सुरु गरी सकेको कार्कीको भनाइ रहेको छ ।

सडकमा पैसा किन फ्यालेको भन्दै सोधेपछि दुबैजना नजिकै रहेको पेठिया बजारतर्फ भागेको स्थानीय दिलीप साहले न्यूज २४ लाई जानकारी दिनुभयो । घटनास्थलमा पुगेको प्रहरी टोलीले रुपैयाँ फ्यालिएको स्थानहरु सेनेटाइज गरेका छन् ।

सडकमा रुपैयाँ फ्याल्ने दुबै महिलाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । साथै स्थानीयवासीले दिएको सूचनाको आधारमा रुपैयाँ उठाउने व्यक्तिहरुको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले नजिकै रहेको एक घरमा सीसीटिभी फुटेज नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यता घटनालाई लिएर स्थानीय त्रसित भएका छन । किन र कुन उदेश्यले पैसा फ्यालिएको हो भन्ने अनुुसन्धान हुनु पर्ने स्थानीयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *