जनकपुरमा २ सातादेखि दिनहुँ निःशुल्क भोजन

जनकपुरधाम, २१ वैशाख । यहाँस्थित मारवाड़ी सेवा समितिमा विगत १४ दिनदेखि निःशुल्क भोजनको व्यवस्थापन गरिएको छ ।जनकपुरको महावीर चौकमा अवस्थित समितिमा दैनिक १५ सय बढ़ी व्यक्ति भोजन गर्छन् र घर परिवारका लागि समेत लिएर जाने गर्छन् ।

नगरमा रहेका विपन्नहरु दैनिकजसाे समितिमा आउछन्, खाना पनि खाने गर्छन् र घरको लागि लिएर जाने गर्छन् । निःशुल्क भोजनका लागि उनीहरूले बिहानैदेखि आआफ्नाे भाड़ाे लाइनमा लगाएर राखेका हुन्छन् ।

ठीक ११ बजे सबैजना लाम लाग्ने गर्छन् र भोजन गर्ने गर्छन् । खाइसकेपछि परिवारमा भएका सबै सदस्यका लागि समेत खाना लिएर जाने गर्छन् । मारवाड़ी सेवा समितिले लकडाउन सुरु हुने बित्तिकै नगरभित्र राहत वितरण सुरु गरेको थियो । र, पछि लकडाउन बढ्दै जाँदा असहाय तथा विपन्नहरुका लागि निःशुल्क भोजनको व्यवस्थापन गरेको हाे ।

प्रत्येक दिन दिनको ११ बजेदेखि दिनको १ बजेसम्म आउनेजति सबैलाई भोजन दिने गरेको समितिका अध्यक्ष ललित बजाजले न्यूज २४ लाई जानकारी दिए । बजाजका अनुसार मारवाड़ी समुदायले गरिब विपन्न र असहायकलाई भोजन गराउन पाउँदा अत्यन्त प्रसन्न रहेको प्रतिक्रिया दिए । उनले भने, ‘जति दिनसम्म लकडाउन रहन्छ, हामी निःशुल्क भोजन गराउने छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *