जरिवानाको डरले बाँझो जमिनमा धमाधम खेतीपाती

बुटवल : बुटवल उपमहानगरको बेलवास नयाँगाउँ आठ वर्षअघिसम्म प्रशस्त धान फल्ने क्षेत्र मानिन्थ्यो । सडक किनारमा एकाध घरबाहेक सबै हरियै खेत थियो। त्यो स्वरुप चार वर्षअघि फेरियो । जग्गा प्लटिङ भए । खेतको बीचमा सडक र बिजुलीका पोल ठडिए ।

प्लटिङपछि धान रोपाईं भएन् । खेत घडेरी बन्यो र बाँझै रह्यो । नयाँगाउँका लेखनाथ गौतमको खेत पनि त्यसैगरी मासियो । घडेरी किन्ने केहीले त घर बनाए । तर अरु जमिन बाँझै रह्यो । ५/७ वर्षपछि ती जमिन फेरी पुरानै स्थितिमा फर्किन थालेका छन् ।

‘लकडाउनले सबै घरमा बसेपछि खेत जोतेर तरकारी लगाएका छौं, गौतमले भने । बाँझो जमिन जोतेर तरकारी, मकै लगाउने उनी एक्ला हैनन् । छिमेकीले समेत धमाधम तरकारी रोपेका छन् ।

वडा कार्यालयले घर अगाडिको जमिन बाँझो नराख्नु भन्ने निर्देशन दिएको छ । वडाको निर्देशनपछि अरुको घडेरी समेत जोतेर खेती सुरु गरिएको छ । ‘करेसावारीमा तरकारी उत्पादन गरे बजारमा किनिरहनु पर्दैन, ‘यसले भारतबाट हुने आयात कम हुन्छ,’ बुटवल १२ का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले भने।

नयाँगाउँ वेलवास क्षेत्रमा बाँझा खेत जोत्ने अभियान नै चलेको छ । जोजस्को घर छेउछाउमा खाली जमिन छ त्यो जोतेर बाली लगाइएको छ । प्रायः खेतमा तरकारी रोपिएको छ । मकै, मुङ लगाउने पनि छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जमिन बाँझो नराख्न उर्दी जारी गरेको छ । बाँझो जमिन राख्नेले जरिवाना नै तिर्नुपर्ने निर्णय नगरपालिकाले गरेपछि खेतीपाती सुरु भएको छ । नगरपालिकाको निर्णय अनुसार बाँझो जमिनमा जग्गाधनी आफैले खेती नगरे सधियार वा अन्य व्यक्तिले समेत खेती गर्न सक्नेछन् ।

नगरपालिकाको निर्णयसँगै घरछेउका बाँझा जमिनमा खेती गर्ने बाटो खुलेको हो । ‘कृषि उत्पादन बढाउनका लागि हामीले यो निर्णय लिएका हौं, तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले भने, ‘निर्णयसँगै बाँझो जमिनमा बेमौसमी तरकारी खेती सुरु भएको छ । यसले तरकारीमा पालिकालाई आत्मनिर्भर बनाउँछ।’

एक सय २६ वर्ग किलोमिटरमा फैलिएको तिलोत्तमामा ४१ हजार ४ सय ५० मेट्रिकटन तरकारी उत्पादन हुँदै आएको छ । यो निर्णयपछि तरकारी उत्पादनको मात्रा बढ्ने विश्वास गरिएको छ । नगर क्षेत्रमा २२ हजार ४ सय ६० मेट्रिक टन धान उत्पादन हुन्छ । गहुँ आठ हजार १ सय र मकै २ हजार ४ सय ५० मेट्रिक टन उत्पादन हुन्छ । नगरलाई कृषि उपजमा आत्मनिर्भर बनाउने योजनासहित यसअघि नै भारतीय तरकारी र फूलको प्रयोगमा रोक लगाइएको छ।

लकडाउनको समयमा गरिएको निर्णय कार्यान्वयनमा आएपछि घडेरीमा पनि तरकारी खेती उत्पादन हुनेछ । तीव्र शहरीकरणले तिलोत्तमाको धेरै खेतीयोग्य जमिन टुक्र्याएर घडेरीमा परिणत गरिएका छन् । जसले धान उत्पादन हुने खेतहरु बाँझिएका छन् ।

यो निर्णय कार्यान्वयनमा आए जग्गाको कर धनीले तिर्नुपर्ने छ । अर्कैले गरेको खेती जग्गाधनीले क्षति गरे वा अवरोध पुराए जरिवाना तिराउने निर्णय समेत नगरपालिकाले गरेको छ । खेती गर्नुअघि नगरपालिकामा जानकारी गराउनुपर्ने प्रावधान राखिएको छ ।

रुपन्देहीकै सैनामैना नगरपालिकाले समेत जमिन बाँझो नराख्ने नीति सहित खेती गर्न आग्रह गरेको छ । नगरप्रमुख चित्रबहादुर कार्कीले कृषि उपजमा आत्मनिर्भर बन्नुका साथै स्थानीयको आर्थिक व्यवभार घटाउन उत्पादनमा जोड दिइएको बताए ।

पालिकाले जग्गा बाँझो नराख्ने नीतिसहित खेती गर्नेलाई बीउबिजन समेत निशुल्क दिएका छन् । कोरोनाको महामारीका कारण अन्य क्षेत्रमा नकारात्मक प्रभाव देखिएपछि कृषि उत्पादनमा वृद्धि हुने विश्वास गरिएको छ ।

प्रदेश ५ का तराईका जिल्लामा मात्रै नभई पहाडि जिल्लामा समेत खनजोत सुरु गरिएको छ।लकडाउनले परिवारका सदस्य घरमै भेला भएपछि फलफूल, तरकारी खेती लगाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *