जसलाई लकडाउनले बनायो व्यवसायी

अचेल मोबाइलमा घण्टी बज्दा उनको अनुहारमा चमक आउँछ। केही काम गर्दै छन् भने त्यो काम छोडेर हत्तपत्त मोबाइल उठाउन गइहाल्छन्।
मोबाइलमा घण्टी बजेन भने कसैले म्यासेज छोडेको छ कि भनेर पनि छिनछिनमा हेरिरहन्छन्। त्यही मोबाइलमा आउने घण्टी र मेसेजकै कारण आजकल उनको हातमुख जोर्ने बाटो खुल्छ।

पर्वतका ३० वर्षीय लक्ष्मण भट्टराईले १२ वर्ष भयो भारत र नेपालका विभिन्न होटलहरूको भान्छामा खाना पकाउने (कुक) काम गर्दै आएको।
१८ वर्ष हुँदा गुजरातमा होटलमा काम गर्न पुगेका लक्ष्मणले मुम्बई, गोवा, दिल्ली र लद्दाकमा ११ वर्ष बिताए।

यी वर्षहरूमा नेपालमा पनि आर्थिक गतिविधि बढिरहेका थिए। शहरहरू थपिँदै थिए, भएका पनि अझै बढ्दै थिए।गएको असोज महिनामा लद्दाकदेखि लक्ष्मण घर आए। अब त नेपालमै काम पाइन्छजस्तो उनलाई लाग्यो।

भारतका विभिन्न सहरका होटलहरूको भान्सामा काम गर्दा उनले चाइनिज, म्याक्सिकन, कोरियन, थाई, इन्डियन, कन्टिनेन्टल फुड बनाउन सिकेका थिए। यही सीपलाई स्वदेशमै लगाउँछु भन्ने सोचेर उनले बुटवलमा बस्ने निधो गरे।

तीन-चार महिना बुटवलको एउटा क्याफेमा काम गरेका लक्ष्मण फागुनको पहिलो सातादेखि भने क्लब डेनोभोमा कुकको काम गर्न थालेका थिए। डेनोभोमा काम सुरू गरेको एक महिनामात्रै भएको थियो, विश्वभर फैलिएको कोरोना महामारी नेपालमा पनि देखिन थाल्यो।

महामारी रोक्न लकडाउन सुरू भयो। व्यापार व्यवसायसँगै होटल रेष्टुरेन्ट पनि बन्द भए।होटलमा कुकको काम गर्दै आएका लक्ष्मणको रोजगारी सरकारले घोषणा गरेको लकडाउनसँगै खोसियो।

कोरोना महामारीपछिको ७० दिन कामविहिन बनेर उनी कोठामा बसे। होटलमा काम गर्दा बचत गरेको केही रकम थियो, लकडाउनको समयमा सबै सकियो। लकडाउन कहिलेसम्म जारी रहन्छ थाहा थिएन।

छोरी र श्रीमती उनकै भरमा थिए। पैसा नभए खाने केही हुन्न। उनी छट्पटिँदै यता र उता गर्न थाले। भविष्यप्रति यति धेरै डर उनलाई यसअघि कहिल्यै लागेको थिएन।

एक दिन समय कटाउन पुराना कागजपत्र, गोजीका कार्ड मिलाउन थाले। त्यो बेला उनले आफ्नै पर्समा आफ्नै परिचयपत्र भेट्टाए। लेखिएको थियो-लक्ष्मण सेफ। उनले होटलमा काम गर्दा विभिन्न स्वादका परिकार बनाएको सम्झिए।

यो त बितिसकेको समय थियो, अहिले त बैंक ब्यालेन्स पनि थिएन। १२ वर्षसम्म होटलमा कुकको काम गर्दा सिकेको सीप खेर जान दिनहुन्न भन्ने त्यतिखेर उनलाई नलागेको होइन। तर बजारमा होटल रेष्टुरेन्ट बन्द थिए।

त्यही दिन उनी यस्सो बाहिर निस्केका थिए। आफू बस्ने घर वरिपरिका छिमेकी र साथीभाइसँग उनले के गर्ने होला भन्ने कुराकानी झिके।
‘तिम्रो हातमा त सीप छ कोठाबाटै म:म चाउमिन बनाएर बेचे पनि हुन्छ नि,’ साथीहरूको यस्तो सल्लाहले उनको आँत दरियो।

‘टोल छिमेकी पनि लकडाउनको कारण रेष्टुरेन्ट गएर खान पाएका थिएनन्,’ उनले भने, ‘मैले नै बनाएर बेचें भने उनीहरूको रहर पनि पूरा हुन्छ, मैले पनि काम पाउँछु भन्ने सोचें।’

केहीदिनमै सुरू भयो उनको- लक्ष्मण सेफ म:म सेन्टर। उनको यो म:म सेन्टर कतै बाहिर छैन। आफ्नै कोठालाई उनले म:म सेन्टर घोषणा गरेका हुन्।

‘होटल रेष्टुरेन्ट बन्द भए पनि अरू कार्यालय र व्यवसाय सञ्चालनमा छन्। ५/६ प्लेट भए पनि म:म, चाउमिन बिक्री होला भन्ने लाग्यो,’ उनले भने, ‘अनि कोठामै रेष्टुरेन्टमा पाइने खाना बनाउन थालें।’

उनलाई कोठामै विभिन्न परिकार बनाउन र घरघरमै पुर्‍याउन पनि सकिन्छ भन्ने लाग्यो। घरघरबाट अर्डर लिन मोबाइल फेसबुक छँदै छन्।
‘वरिपरि चिनेजानेकालाई भए पनि खाजा बेचेर खर्च जुटाउन सक्छु भन्ने विश्वासको भरमा काम थालें,’ उनले भने।

बुटवल ११ देवीनगर देवी देउराली पथमा कोठा भाडामा लिएर बस्दै आएका लक्ष्मणले आफूले रेस्टुरेन्टको खाना कोठामा बनाएर बेच्ने कुरा छिमेकीहरूलाई त थाहा दिए। फेसबुकमा पनि राखे।

‘सुरूमा त कुनै दिन ३५ प्लेटसम्म अर्डर आयो, एकपटक अर्डर गरेको व्यक्तिले दोहोर्‍याएर अर्डर गर्नुहुन्छ,’ उनले भने। अहिले उनी हरेक दिन बिहानैदेखि म:म चाउमिनको अर्डरको पर्खाइमा रहन्छन्। कसैले म:मको अर्डर गर्‍यो कि हतारहतार बनाउन थालिहाल्छन्।

लक्ष्मणलाई श्रीमती अस्मिताले सघाउँछिन्। कसैले अर्डर गर्‍यो भने अस्मिता मुछेर राखेको मैदा बेल्न थाल्छिन् लक्ष्मणले त्यसमा किमा भरेर डल्लो पार्छन्।जेठ २१ गतेदेखि सुरू गरेको होम डेलिभरी म:म सेन्टरबाट लक्ष्मणले दिनमा कम्तिमा पनि १०/१२ प्लेट म:म बिक्री गर्छन्।

चिकन र भेज म:मसँगै चाउमिन, चिकेन चिल्ली, चिकेन क्याप्सिकनजस्ता परिकारको पनि अर्डर हुन थालेको छ।८/१० प्लेट म:म बन्ने किमा बिहानै बनाएर फ्रिजमा राख्छन्। मैदा मुछेर फ्रिजमै डल्लो पारेर राख्छन्। जब अर्डर आउँछ उनले ३० देखि ४५ मिनेटको समय माग्छन्। आधा घन्टामा म:म तयार भइहाल्छ।

गत शुक्रबार उनको कोठामा पुग्दा लक्ष्मण मोबाइलमा म:मको अर्डर लिइरहेका थिए।कालिकानगरदेखि दुई प्लेट म:मको अर्डर आएको रहेछ। अस्मिताले मैदा बेल्न लागिन्, लक्ष्मणले किमा भरेर डल्लो बनाउँदै भाँडोमा राख्न थाले। ३० मिनेटमा घरमै लगिदिने भन्दै समय लिएका लक्ष्मणले २० मिनेटमै म:म पकाएर प्याकिङ गरी कोठाबाट निस्किए।

अर्डरअनुसार उनीनजिकै छ भने पैदल लगिदिन्छन्, टाढा छ भने अटो रिक्साबाट समेत पुर्‍याइदिने गर्छन्। शुक्रबार कोठा नजिकैबाट अर्डर आएकोले उनलाई रिक्सा खोज्नु परेन, तीन-चार मिनेटमा पैदल गएर छोडिदिए ।

एकदिन त देवीनगरदेखि लक्ष्मीनगरसम्म अटो रिक्सामा ५० रुपैयाँ भाडा तिरेर एक प्लेट म:म डेलिभर गरेको उनले बताए। त्यो दिन पो एक प्लेट अर्डर आएको थियो। अटोमै ५० रूपैया गयो। आफूले बनाएको म:मको स्वाद मन पराए ग्राहकले अर्कोदिन अर्डर गर्लान् भनेर उनले भाडा लागेको ५० रुपैयाँ माया मारेका थिए।

नभन्दै दुई दिनपछि उनै व्यक्तिले ७ प्लेट म:म अर्डर गरे। ‘एक प्लेट लगिदिँदा ५० रुपैयाँ खर्च हुन्छ भनेको भए पर्सिपल्ट सात प्लेट मगाउनु हुने थिएन,’ उनले भने,’अहिले मलाई धेरै नाफा चाहिएको छैन, खर्च उठेर थोरै बचत भए पुग्छ।’

अहिले उनले मम चाउमिनको मूल्य पनि कम राखेका छन्। धेरै नाफा राखेर थोरै ग्राहकलाई बेच्नुभन्दा थोरै नाफा राखेर धेरै ग्राहकलाई बेच्नु फाइदाको कुरा हो भन्ने उनलाई लागेको छ।

‘रेष्टुरेन्टमा गए पनि १ सय ५० भन्दा कममा चिकन म:म पाइँदैन मैले १ सय २० मा घरमै लगिदिन्छु,’ उनले भने,’यसो गरे मलाई ग्राहक कमाउन सजिलो होला। मलाई धेरै नाफा होइन ग्राहक चाहिएको हो।’

लकडाउनमा रोजगारी गुमाएर पनि यहीबेला व्यवसायी बनेका उनलाई यसैगरी ग्राहक बनाउनु छ किनभने उनले यी २०l२५ दिनमै लकडाउन खुलेपछि आफ्नै रेष्टुरेन्ट चलाउने सपना देखिसकेका छन्।

‘अब कति अरूको होटलमा काम गर्नु? अरूमाथि भर पर्दा यस्तै अप्ठ्यारा अवस्थामा बिचल्ली भइने रहेछ,’ उनले भने, ‘लकडाउन खुलेपछि सटर भाडामा लिएर रेष्टुरेन्ट चलाउने योजना छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *