जापान जान लागेका श्रीमानलाई रोकेर भैंसी पालनमा जमिरहेकी अनिता

कैलालीको धनगढी उपमहानगरपालिका-३ बडहराकी ३६ वर्षीया अनिता केसी भैंसी पाल्छिन। भैंसी पालेरै उनले राष्ट्रपति उत्कृष्ट कृषि पुरस्कार पाइसकिन्। सुदूरपश्चिमको क्षेत्रीय उत्कृष्ट कृषि पुरस्कार पनि पाएकी छन्। अनिताको उद्यम हेर्न अहिले सरकारी कार्यालयका कर्मचारीहरू आइरहन्छन्। उनी पनि आफ्नो गोठ हेरेर दंग छिन्।

झन्डै १४ वर्षअघि उनले एउटा भैंसी पाल्न सुरू गरेकी थिइन्।२०५९ मा कक्षा १० पढ्दै गर्दा बिहे गर्नु परेपछि पढाइ पनि छोड्नुपर्‍यो। श्रीमानको संयुक्त परिवार थियो। चार वर्ष उनी बुहारीमात्र भएर बसिन्। अरू महिलाजस्तै उनी पनि घरयसी काममै व्यस्त हुन्थिन्।

‘ससुरा सरकारी जागिरे हुनाले घरका सबै उहाँकै तलबले चलेका थियौं,’ उनले भनिन्।त्यसबेला उनका घरमा दूध खान पालेको एक भैंसी थियो। त्यसको गोबर फाल्ने, घाँस काट्ने, दुहुनेजस्ता काम उनी गर्थिन्। २०६३ सालमा श्रीमान् भाइ अंश लिएर छुट्टिए। उनको भैंसी पनि छुट्यो। श्रीमान् र उनी दुबै बरोजगार थिए। अब घरमै बसेर केही हुँदैन भनेर उनका श्रीमान् मलेसिया जान तयार भए।

अनिताले नजानु भन्ने आधार पनि थिएन। छरछिमेकका अरू पुरूष पनि विदेश गएकै थिए।‘बाहिरबाट कमाइ गर्नेहरूले उता जेजस्तो दुःख गरे पनि घरगाउँतिर फलानो त विदेशमा छ भन्ने चलन छ। त्यही इज्जतिलो मानिन्थ्यो। त्यसैले उहाँ पनि जानुभयो,’ अनिताले भनिन् ।

श्रीमान् विदेश जाँदा एक लाख रूपैयाँ खर्च लागेको थियो। उता गएर उनले २० हजार महिनाको तलब पाउने भए। नयाँ घरमा एक्लै भएकी उनलाई घरखर्च चलाउन पनि विदेशबाट श्रीमानले कहिले पठाउनलान् भनेर पर्खनु पर्ने हुन थाल्यो। अप्ठेरो पनि लाग्न थाल्यो। उनले कसरी आफैंले पैसा कमाउन सक्छु होला सोच्न थालिन्।’भैसी पालेर दूध बेच्ने आइडिया आयो। सानोतिनो खर्च जुट्छ भन्ने सोचेर १८ हजारमा एउटा भैसी किनें,’ उनले भनिन्।

भैसीको दूध बिहानै धनगढीका होटल र पसलमा उनी बेच्न थालिन्।‘गाउँमा अरूले पढाइ छोडेर बिहे गरेकी, अहिले दूध बेच्न जान्छे भन्लान् भन्ने डरले अँध्यारोमै दूध बेचेर फर्किसक्थें,’ उनले सम्झिइन्।यसै गरी दूध बेच्दाबेच्दै तीन वर्षमा उनले दुई भैंसी थपिन्।

‘एक भैसीको पाडो बेचें र दूधबाट जम्मा भएको पैसाले अर्को किनिहालें,’ उनले भनिन्। अर्को भैंसी श्रीमानले पठाएको पैसाबाट किनिन्।२०६७ मा उनका श्रीमान् रतन केसी मलेसियाबाट फर्के। श्रीमानले कमाएको पैसा पनि पशुपालनमै लगाउने उनको सोच थियो। रतन भने यस्तो व्यवसायले राम्रो कमाइ नहुने भन्दै उनलाई समेत नगर्न भन्थे।

‘मैले यो भैंसी पालेर के हुन्छ होला भनेर नगरौं पनि भनें,’ उनले भने, ‘व्यवसाय गर्नेभन्दा पनि जापान जाने सोच बनाएको थिएँ।’अनिताले भने भैसी पालनमै श्रीमान पनि लाग्नुपर्छ भन्ने अडान थियो। जापान जान सबै कागजपत्र तयार पारी बुझाए पनि उनको भिसा लागेन। जति नै प्रयास गरे पनि श्रीमान जापान जान पाएनन्।

जापान जान नपाएपछि उनले विदेश जाने रहर त्यागे। श्रीमतीले भनेको माने। उनले श्रीमानलाई विदेशको रहर छोड्न फकाइन्। २०६७ सालमा बैंकबाट कर्जा लिएर १२ भैंसी थपिन्। अलि ठूलो गोठ बनाइन्। श्रीमान् पनि यही काममा लागे।२०७१ मा अनिताले आफ्नै नाममा भैंसी फार्म दर्ता गरिन्।उनीहरू दैनिक सय लिटर जति दूध बेच्न थाले। त्यसबेला लिटरको ४० रुपैयाँमा दूध ब्रिकी हुन्थ्यो। अरूका डेरीमा दूध बेच्न उनलाई समस्या हुन थाल्यो।

गर्मीमा त दूध किन्थे तर चिसो मौसममा भने खपत भएन भनेर डेरीवालाले दूध मन नलागे नलिने गर्न थाले। सयौं लिटर दूध नबिकेपछि त ठूलै घाटा लाग्ने भयो। त्यसपछि उनले धनगढी चौराहामा आफ्नै डेरी पनि खोलिन्।‘डेरी पनि खोलेपछि झन् राम्रो आम्दानी हुन थाल्यो,’ उनले भनिन्।डेरीमा आफ्नो फार्मको सबै दूधले पनि नपुगेपछि किसानहरूको दूध पनि किन्न थालिन्।त्यसबेला श्रीमानले डेरी हेर्थे उनले फार्म। अब एक्लै फार्मको काम नभ्याउने भएपछि कर्मचारी पनि राख्नुपर्यो। उनले चारजना कर्मचारी राखेकी छन्।

२०७२ सालमा क्षेत्रीय पशु कार्यालयका मान्छे आए। उनलाई एउटा कार्यक्रमको निम्ता दिन आएका रहेछन्। डडेल्धुराको तुफानडाँडामा हुने कार्यक्रममा जसरी पनि आउन उनीहरूले भनेका थिए।उनी गइन्। त्यहाँ सैयौं कृषकको उपस्थिति थियो। उनलाई त्यो कार्यक्रमको मञ्जबाट उत्कृष्ट कृषक भनेर पुरस्कार दिन बोलाइयो। राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार पाउँदा उनलाई आफैप्रति गर्व लाग्यो त्यो दिन।

अनिताकी आमा सानैमा बितेकी थिइन्। बुवा ड्राइभर थिए। बुवाको सिट छेउ बसेर उनी धेरै ठाउँमा घुमेकी छन्। त्यसरी घुम्न पाउँदा सानैमा उनलाई खुब खुसी लाग्थ्यो। तर १० कक्षा पढ्दापढ्दै उनको बिहे गरिदिए। उनले बिहे गर्दिनँ, पढ्छु भन्न पनि सकिनन्। हाम्रो समाजमा छोरीलाई अर्काको घर जाने जात भन्दै हुर्काइएको हुन्छ। उनी पनि अरू सामान्य छोरीझैँ अर्कैको घर जानुपर्‍यो।

संयुक्त परिवारमा आफ्नो निर्णय चल्दैन। घरको काम र सासु ससुराको सेवा राम्ररी गर्नु नै भाग्य ठानेर धेरै छोरीहरू दिनरात खटिन्छन्। त्यो कामको मूल्य कहिलेकाहीँ पाउने सासु ससुराको प्रशंसा र माया मात्रै हो। महिलाको सारा जिन्दगी घरकै काम गरेर बित्छ, पैसा नआउने काम गर्नुलाई काम गरेकै भन्ठान्दैन कसैले।

अनितालाई त्यस्तो कुरा मन्जुर भएन। श्रीमानको मात्र भर पर्न मनैले मानेन। आफूले जे गर्न सकिन्छ त्यसैलाई केही बढाउँदै पैसा पनि आर्जन गर्दै गर्नुपर्छ भन्ने उनलाई लाग्यो। काम नगर भन्ने श्रीमानलाई पनि मनाएर उनले भैसीपालनलाई निरन्तरता दिइन्।आफूले वर्षौं लगाएर गरेको संघर्षको पुरस्कार पाएकामा उनको मन भरिएको थियो।

पहिलो पटक पुरस्कार पाएको २०७३ मा सुदूरपश्चिमभरिको उत्कृष्ट कृषकका छनोट भएर प्रमाणपत्र र नगद पुरस्कार पाइन्। यो पुरस्कारले उनमा थप हौसला र चिनिने मौका मिल्यो।समाजका मानिसहरू उनलाई मान्न थालेका छन्। कसैले राम्रो कृषि गर्ने को छ भन्यो भने छरछिमेकीले आफ्नै नाम लिने गरेको उनलाई थाहा छ।

घरपरिवार समाज र सरकारकै हौसलाका कारण उनले आफ्नो व्यवसाय अझ ठूलो बनाउने सपना देखेकी छन्। यता जिल्ला प्रदेशतिरको पुरस्कार पाए पनि केन्द्रीयस्तरमै चिनिने गरी व्यवसाय अघि बढाउने मन उनलाई छ।vपुरस्कार पाएको केही समयपछि उनले श्रीमानसँग सल्लाह गरेर बैंकबाट एक करोड ऋण लिइन्। ६५ ओटा भैंसी र ३५ ओटा गाई गरी फार्ममा एक सय पशु पाल्न थालिन्।

फार्मलाई सुधार गरिन्। गाईभैंसीलाई चाहिने दाना पानीका लागि दुई बिघा आफ्नै जमिनमा घाँस लगाउन थालिन्। अरू १० बिघा जमिन लिजमा लिएर त्यसबाट पनि घाँस प्राप्त गर्ने गरेकी छन्।हिजो विदेशमा अर्काको काम गर्नुपर्दाको समय सम्झँदा रतनलाई अहिले निकै खुसी लाग्छ।‘पहिले अरूकोमा काम गर्ने म आज आफैं मालिक बनेर काम गरिरहेको छु,’ उनले भने।

अब उनी पनि श्रीमतीकै जस्तो गरी कुखुरा व्यवसाय सुरू गर्ने तयारीमा छन्।श्रीमतीलाई ‘यसो नगर उसो गर भनेर’ आफूलेमात्र भनेको मान्नुपर्ने भए आज यहाँसम्म पुगिने थिएनजस्तो उनलाई लाग्छ। ‘केही कुरामा ऊनी मभन्दा जानकार छन्। उनका कुरा मैले सुन्छु। मलाई व्यवसाय गर्न उनले सिकाउँछिन्,’ उनले भने।

अहिले उनको फार्ममा कृषि गर्न चाहनेहरू सिक्न आउँछन्। अनितालाई देशभरिका विभिन्न ठाउँमा तालिम दिन पनि डाक्छन्।अनिताले दैनिक २५० देखि ३०० लिटर फार्मको दूध बेच्न सकेकी छन्। अरू किसानले पनि उनको डेरीमा २०० लिटर दूध बेच्न आउँछन्।‘फार्म पनि आफ्नै, डेरी पनि आफ्नै भएपछि ग्राहकहरूले पनि शुद्ध दूध, दही पाएका छन्,’ उनले भनिन्।

उनको उद्यम देखेर राष्ट्रिय वाणिज्य बैंकले बिना धितो १० लाख ऋण उनलाई दिएको छ। गत वर्ष प्रदेश सरकारले दश लाख दिने भने पनि तीन लाख अनुदान दिएको छ। अरू पनि केही पैसा थपेर अनिता अर्को व्यवस्थित गोठ बनाउन लागेकी छन्।

अहिले भान्जा र दिदीभिनाजु पनि उनीहरूसँगै डेरीको काम गर्छन्।उनको फार्मममा काम गर्ने चार जनाले महिनाको १२ देखि १५ हजार तलब र खानेबस्ने सुविधा पाउँछन्। एकजना दुहुने मान्छे र अर्की महिला पनि जागिर गर्न आउँछिन्।

अहिले अनिताले कर्मचारी तलबलगायत सबै खर्च कटाएर मासिक ४० हजार आम्दानी बचत गर्छिन्। अनिता आफ्ना फार्मका मुर्रा जातका भैसीहरू अरूलाई बेच्न पनि थालेकी छन्। बिउका लागि एक साँढे र एक राँगो पनि उन्नत जातको पालेकी छन्। अझै कृषि कर्जा लिएर सय जति गाईभैसी थप्ने योजना उनको छ।

उनलाई व्यवसाय गर्न समस्या नभएको हैन। स्वदेशमा उन्नत जातका पशु नपाउँदा भने दिक्कै लाग्छ।‘यहाँ उन्नत भैसी पाइँदैन भन्ने सबैलाई थाहा छ तर सरकारले भारतबाट ल्याउन पनि दिँदैन। अनि कसरी व्यवसाय गर्ने,’ उनले भनिन्।

पोहर साल दुई पटक भारतबाट किनेर भैसी ल्याउँदा सशस्त्र प्रहरीले समातेको उनले सुनाइन्।‘यहाँ भैसी नपाएर भारतका किसानले पालेका भैसी एक/एक लाख हालेर किनें,’ उनले भनिन्,’नाकावारि ल्याएपछि प्रहरीले भैंसीको बिल देखा भन्छ।’एक दुई वटा भैंसी पाल्ने किसानसँग किनेर ल्याएकी थिइन्। एक-दुई भैसी पाल्ने किसानले फर्म दर्ता गर्दैनन्। बिल पनि दिन सक्दैनन्।’प्रहरीले भैंसी भन्सार कार्यालयलाई बुझायो।

‘क्वारेन्टाइन जाँच गरी निरोगी र पाल्न योग्य भए मलाई दिनपर्ने, योग्य नभए मारी दिनुपर्ने हो तर भन्सारलाई भैंसी किन दिइन्छ?’ उनको प्रश्न छ।भन्सार कार्यालयले पक्रिएका भैंसी पाल्न एक दिन पनि सक्दैन। त्यही दिन लिलाम गर्छ। त्यो बेला उनले आफ्नै भैंसीलाई थप एक लाख १० हजार प्रतिगोटामा दरले लिलाम बोलेर ल्याइन्।

‘भन्सारलाई एक लाख र कृषकलाई एक लाख बुझाउन परेपछl भैंसीको मूल्य अब २ लाख १० हजार पुग्यो,’ उनले प्रश्न गरिन्,’मैले त्यो लगानी उठाउन कति गाह्रो होला?’कृषि प्रधान देशमा एउटा भैसी किनेर ल्याउन पनि नसकेपछि उनलाई दुःख लागेको छ। सरकारले व्यवस्थित पशु क्वारेन्टाइन बनाएर चेकजाँच गरी पास भए कर नदिई ल्याउन दिनुपर्ने उनको माग छ।

देशभित्र पनि सजिलो नभएको उनले बताइन्।‘यहाँ एक जिल्लाबाट अर्को जिल्लामा भैंसी किनबेच गर्न पनि वडाको सिफारिस, के-के भनेर दुःख दिन्छन्,’ उनले भनिन्।पशुपालनबाट राम्रो आम्दानी र बजार पनि छ। तर राज्यले व्यवसाय गरिरहेकालाई ‘ब्याक सपोर्ट’ दिनैपर्ने उनको भनाइ छ।

‘व्यवसाय गरिरहेकालाई त यस्तो समस्या छ भने नयाँ आउनेलाई के होला? राज्यले कृषकलाई सहयोग गर्ने नीति नै छैन,’ उनले भनिन्, ‘सरकारले घरजमिन नहुनेलाई देशमै कृषि गर भन्छ। भन्दैमा हुन्छ र? भारत जान कसरी रोकिन्छ?’

त्यही पनि पैसा कमाउन विदेश जानुभन्दा यहीँ केही गर्न उनको सुझाव छ। सरकारको नीति पनि फेरिँदै जाला। अहिले भने सरकारले दिएर व्यवसाय गरौंला नसोची सानसानो व्यवसाय गर्दै अघि बढ्न उनले सुझाव दिन्छिन्।’पहिले त एक पाइला चाल्नुपर्यो। एकैचोटी फड्को मारेर हुन्न। विदेश गएर भन्दा यहीँ सानोतिनो गर्दै त्यसैलाई अलि ठूलो बनाउँदै जानुपर्छ,’ उनले भनिन्।

-सेतो पाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *