टेलिभिजनमा दिएको अभिव्यक्तिका कारण राष्ट्रपतिले गरे स्वास्थ्यमन्त्री बर्खास्त

एजेन्सी, ५ वैशाख । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले स्वास्थ्यमन्त्री लुइज हेनरिक मनडेटालाई पदबाट हटाएका छन् । स्वास्थ्यमन्त्री मनडेटाले एक टेलिभिजन कार्यक्रम दिएको अभिव्यक्तिका कारण उनलाई पदबाट हटाएका हुन् ।

स्वास्थ्यमन्त्री मनडेटाले टेलिभिजन कार्यक्रममासरकार एकजुट भएर यो कोरोना महामारी संकट समाधान गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्ति खुल्लारुपमा राष्ट्रपतिको आलोचना गरेको ठानिएको छ ।

ब्राजिलका राष्ट्रपति बोलसोनारो लकडाउन गर्ने पक्षमा छैनन् । यता स्वास्थ्यमन्त्री मनडेटाले भने कोरोना भाइरसबाट जोगिन सामाजिक दुरी कायम राख्नुपर्ने लगायतका नियमको पालना गर्नुपर्ने बताउँदै आएका छन् ।

लकडाउन, सामाजिक दुरी लगायतका गतिविधिले जनतामा त्रास फैलिने भएकाले यी सब गर्न नहुने राष्ट्रपति बोलसोनारोको मत रहेको छ । उनी मानिसहरुलाई विना डर त्रास आफ्नो नियमित काम गर्न दिनुे पक्षमा छन् । उनले कोरोना भाइरसलाई ‘सामान्य फ्लु’ भन्दै आत्तिनु नपर्ने बताएका थिए।

हेनरिकले आफू बर्खास्त भएको कुरा आफैंले ट्वीट गरेर जानकारी दिएका छन् । साथै उनले लेखेका छन्– कोरोनाबाट हाम्रो स्वास्थ्य सेवामा भयंकर चुनौती आएको छ । समय छँदै उपाय लगाइएन भने स्वास्थ्य व्यवस्था धरमराउने छ ।

राष्ट्रपतिले स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरेको समाचार सार्वजनिक भएपछि ब्राजिलका नागरिकहरुले घरका बार्दलीबाट भाँडा बजाउँदै राष्ट्रपतिको बिरोध जनाएको बीबीसीले जनाएको छ ।

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार ब्राजिलमा ३० हजार ४ सय २५ जना कोरोना संक्रमित छन् भने १ हजार ९ सय २४ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *