ट्रिपर व्याक गरेर ४५ वर्षीया महिलाको ज्यान लिने चालक प्रहरी खोरमा

नेपालगञ्ज, २८ फागुन । बुधबार ट्रिपरको ठक्करबाट एक महिलाको ज्यान गएपछि नेपालगञ्ज–कोहलपुर सडकखण्ड तनावग्रस्त बनेको थियो । विहान करिब साढे १० बजेको समयमा नेपालगञ्ज–कोहलपुर सडकखण्डको झण्डहवा चोक पिपरीमा ट्रिपरको ठक्करबाट कोहलपुर नगरपालिका–९ की ४५ वर्षीया रामपति थारुको ज्यान गएपछि तनाबग्रस्त बन्न पुगेको हो ।

साइकलको चेल खुस्किएर बनाउँदै गरेकी रामपति थारुलाई ट्रिपरले ठक्कर दिएपछि उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै उनको ज्यान गएको थियो । यसैबीच मुचुल्का नउठाइकन प्रशासनले मृतक थारुको शव उठाएको भन्दै आफन्त र स्थानीयले दिनभर नेपालगञ्ज–कोहलपुर सडक अबरुद्ध गर्दै आन्दोलनमा उत्रिएका थिए ।

प्रत्यक्षदर्शी राजकुमार चौधरीले भने, ‘साइकलको चेन मिलाइरहेकी थारुलाई पछाडिबाट रा १ ख ८१८८ नम्बरको ट्रिपरले ठक्कर दिदा हल्का चोट मात्र लागेको थियो । तर, ड्राइभरले ट्रिपर व्याक गरी पुनः थारुको कम्मरमाथि चढायो ।’ त्यस्तै, अर्का प्रत्यक्षदर्शी पार्वती थारुले भनिन्, ‘ट्रिपर व्याक गरी रामपति थारुमाथि चढाएर भागेका चालकलाई करिब एक किलोमीटर टाढाबाट नियन्त्रणमा लिन सफल भयौं ।’

सत्यतथ्य छानबिन गर्न र उचित क्षतिपूर्तिको माग गर्दै पिपरी चोकदेखि कोहलपुर हाइस्कुलसम्मको विभिन्न ठाउँमा टायर बालेर आफन्त र स्थानीय आन्दोलनमा उत्रिएका थिए । उनीहरुले ४ घण्टासम्म कोहलपुर–नेपालगञ्ज सडकखण्ड अबरुद्ध गरेका थिए । आन्दोलनले उग्र रुप लिएपछि ठूलो सङ्ख्यामा सुरक्षाकर्मीसमेत परिचालन गरिएको थियो ।

ट्रिपर चालकलाई मुद्दा चलाउने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने सर्तमा आन्दोलन स्थगित गरिएको मृतक रामपतिका भाई तिलक चौधरीले जानकारी गराए । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार ट्रिपर र चालक दुवैलाई नियन्त्रणमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *