डिस्चार्जपछि प्रधानमन्त्री ओलीले हिँडेरै भर्‍याङ ओर्लिए

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् । फागुन १९ गते अस्पताल भर्ना भएर २१ गते मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली १२ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनको मिर्गौला प्रत्यारोपण गरेको भने १० दिन पुगेको छ । त्रिवि शिक्षण अस्पतालको पहिलो तलामा उपचार गराएका प्रधानमन्त्री ओली भर्‍याङबाट ओर्लेर गाडीसम्म पुगेका थिए ।

ज्याकेट लगाएका ओलीले गाडीनजिक आएर हात हल्लाए । संक्रमण फैलिन सक्ने भन्दै चिकित्सकले सचेत गराएपछि प्रधानमन्त्री ओलीले उपस्थित सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन् । ओलीलाई स्वागत गर्न मन्त्रीहरू समेत अस्पताल पुगेका थिए । प्राध्यापक डाक्टर प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले अघिल्लो साताको बुधवार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको थियो ।

प्रधानमन्त्री ओलीलाई भाञ्जी नाता पर्ने झापाकी समीक्षा संग्रैलाले मिर्गौला दिएकी हुन् । समीक्षा भने बुधवार नै डिस्चार्ज भइसकेकी छन् । उनी प्रधानमन्त्री ओलीसँगै अघिल्लो साताको सोमवार अस्पताल भर्ना भएकी थिइन् । डिस्चार्ज हुनुअघि समीक्षाले प्रधानमन्त्री ओलीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएकी थिइन् । ओलीले मिर्गौला प्रत्यारोपण गराएको यो दोस्रोपटक हो ।

पहिलोपटक उनले १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए । त्यतिबेला उनलाई बुहारी अञ्जान घिमिरेले मिर्गौला दिएकी थिइन् । उक्त मिर्गौलाले काम गर्न छाडेपछि दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *