तयारी बिना नै भोलिदेखि लामो दूरीका गाडी चलाउने निर्णय

काठमाण्डाै – सरकारले भोलि असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक गाडी खोल्ने भने पनि यातायात व्यवसायीले आवश्यक तयारी अगाडि नबढेको बताएका छन् । यसअघि असोज ५ गतेदेखि भने पनि सरकारले एकाएक निर्णय फेरेकाले तयारी नभएको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । ६ महिनासम्म थन्किएका गाडीलाई मर्मत नगरी गुडाउन नसकिने भएकाले तत्काल गाडी चलाउन सकिने अवस्था नरहेको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो ।

भोलिदेखि लामो दूरीको गन्तब्यमा जाने यात्रुका लागि आजैदेखि काउन्टर खोलेर टिकट खुलाउनुपर्ने भएकाले अहिलेसम्म तयारी नभएको उहाँको भनाई छ । सार्वजनिक यातायात सञ्चालन गर्दा अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गर्नुपर्ने सरकारले मापदण्ड तोकेको छ । गाडीको आवागमन रोकिराख्दा देशको एक भागबाट अर्को भागमा पुग्नुपर्ने यात्रु र व्यवसायीले कठिनाइ भोग्नुपरेको भन्दै सरकारले भोलिदेखि खुला गर्ने निर्णय गरेको हो ।

गाडीमा सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु र ५० प्रतिशतसम्म बढी भाडा लिन पाइनेछ । तर लामो दूरीमा चल्ने गाडीमा सिटमा कति जनासम्म राख्ने, कहाँ र कसरी खाना नास्ता खुवाउने, सङ्क्रमणरहित बनाउन के के गर्ने लगायतका विषयमा यातायात व्यवसायी र मजदुर अन्योलमै रहेका सिटौलाको भनाई छ ।

मापदण्डबारे सरकार र यातायात व्यवसायीबीच एकमत र स्पष्ट खाका नभएकाले अलमल रहेको उहाँले बताउनुभयो । यसअघि असोजको ५ गतेदेखि चल्ने भनेकाले आजैदेखि तयारी सुरु गरे असोज ५ गतेदेखि मात्रै लामो दूरीमा गाडी चलाउन सक्ने उहाँले बताउनुभयो । गएको चैत ११ गतेदेखिको लकडाउन तथा निषेधाज्ञासँगै लामो दूरीमा चल्ने सार्वजनिक गाडी सञ्चालनमा रोक लगाउँदा ४५ लाख जनशक्ति संकटमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *