तरकारी बोक्ने गाडीमा चढेका १२ भारतीय नियन्त्रणमा

इनरुवा, ०१ बैशाख । तरकारी बोक्ने गाडीमा चढेर आएका १२ जना भारतीयलाई प्रहरीले इनरुवाबाट नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रहरीले रातीको २ बजे सखुवागाछीबाट नियन्त्रणमा लिएको हो ।

ट्राफिक प्रहरी कार्यालय सखुवागाछीको टोलीले भारतीय सवार गाडी सहित १२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएकाहरुलाई ट्राफिक प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई जिम्मा लगाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले भने नियन्त्रणमा लिइएकाहरुलाई जहाँबाट आएको हो त्यही फर्कन भन्दै फिर्ता पठाएको बुझिएको छ । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार भारतीयहरुलाई लिएर आउने सवारीलाई जहाँबाट ल्याएको त्यही छाड्न भनेको छ ।

स्थानीय प्रत्यक्षदर्शीहरुका अनुसार भारतीय सवार गाडी बिहान सम्म ट्राफिकको नियन्त्रणमा थियो । नियन्त्रणमा लिइएकाहरुले ट्राफिक प्रहरी समक्ष आफुहरु भारत फर्कने क्रममा रहेको बताएका थिए । मेचीको नम्बर प्लेटको गाडीमा सवार भारतीयहरुले बिहार दरभंगा घर भएको बताएको ट्राफिक प्रहरीले जनाएको छ ।

नियन्त्रणको क्रममा भारतीयहरुले ट्राफिक प्रहरी समक्ष बेलबारीबाट आएको बताएपनि मेचीको नम्बर प्लेट भएको गाडी प्रयोग गरिएकाले स्थानीय प्रत्यक्षदर्शीहरुले भने झापाको काकडभिट्टा आसपासबाट भित्रिएको हुन सक्ने आंशका गरेका छन् । भारतीय बोकेर आएको गाडीको नम्बर खुलेको छैन् ।
लक डाउनको अवस्थाबिच रातीको समयमा कसरी इनरुवा सम्म भारतीय पुगे यतिबेला सबैको चासोको विषय बनेको छ ।

प्रदेश सरकारले कडा सुरक्षाको प्रवन्ध मिलाइएको बताइरहँदा पूर्व पश्चिम राजमार्ग भएर गाडीमा सवार भई यात्रा गर्नेहरु निर्वाध इनरुवा सम्म आइपुग्नुलाई धेरैले सुरक्षामा चुक भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *