दक्षिण कोरिया : विदेशीको भिसा म्याद तीन महिना थपिने

सिओल- दक्षिण कोरिया सरकारले कोरोना भाइरसका कारण आफ्नो देश फिर्ता हुन नपाएका विदेशी नागरिकका लागि तीन महिना स्वतः भिसा थप गरिदिने भएको छ। यसरी थप हुने भिसा अन्तर्गत ई-९, ई-१० र पर्यटक भिसामा कोरिया आएकाहरु भने समावेश नरहेको यहाँको अध्यागमन कार्यालयले जनाएको छ।

कोरियामा रही विदेशी परिचयपत्र प्राप्त गरेका विदेशी विद्यार्थीलगायतको हकमा यस्तो व्यवस्था गरिएको कार्यालयको भनाइ छ। भिसा अवधि थप गर्नका लागि (hikorea.go.kr) मा लगइन गरी दर्ता गर्न सकिने कार्यालयले जनाएकाे छ।

भिसा अवधि समाप्त हुने चरणमा रहेका ईपिएस श्रमिकलाई भने सरकारको यसअघिकै निर्णयअनुसार समस्या परेको खण्डमा बढीमा तीस दिन भिसा अवधि थप गरिँदै आएको कार्यालयको भनाइ छ। सरकारले यसअघि गत महिना भिसा अवधि थोरै भएका तर कोरोनाका कारण आफ्नो देश फिर्ता हुन नसक्ने विदेशीको सुविधाका लागि बढीमा ५० दिनसम्म भिसाकाे म्याद थप गरिदिने निर्णय गरेको थियो। यो अवधिमा १ लाख ३० हजार विदेशीले सो सुविधाको उपयोग गरेको कार्यालयको तथ्याङक छ।

भिसा अवधि समाप्त हुन लागेका ईपिएस श्रमिकले ३० दिनसम्म भिसा अवधि थप गर्दै आएको र नेपालको हकमा नेपाल सरकारले कोरियाबाट नेपाल उडानलाई रोकेकाले सोहि अनुसार भिसा थपिँदै आएको कार्यालयले स्पष्ट पारेको छ।

ई- ९, ई- १० भिसाधारीले आफ्नो देशको सरकारले कोरोना प्रकोपका कारण कोरियाबाट नेपाल फर्किन रोक लगाएको परराष्ट्र मन्त्रालयको पत्रको प्रतिलिपीसहित अध्यागमन कार्यालयमा गई बढीमा ३० दिन भिसा अवधि थप गर्न सकिने र त्यसका लागि सिओलस्थित नेपाली दूतावासले सहयोग गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *