दिनभर गाउँको काममा, रातभर ओडारको क्वारेन्टाइनमा

जाजरकोट : स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा नबसेर जिल्ला बाहिरबाट आएका केही मजदुर भेरी नगरपालिका १ पिपेस्थित एक ओडारमा बसेको पाइएको छ । केही दिनअघि नुवाकोट र बैतडीबाट आएका भेरी नगरपालिका १ का १४ जना मजदुर गाउँकै जंगलमा रहेको ओडारमा एकान्तबास बसिरहेका छन् ।

जिल्ला बाहिरबाट आएकालाई राख्न वडाले बागेश्वरी आधारभुत विद्यालयमा क्वारेन्टाइन बनाएपनि उनीहरु ओडारमै बस्ने भनेपछि वडाले त्यही आवश्यक लत्ताकपडा र खाद्यान्नको व्यवस्था गरिएको वडाध्यक्ष दीपक रानाले बताए । भेरी नगरपालिकाले जिल्ला बाहिरबाट आउनेलाई राख्नका लागि सदरमुकामको त्रिभुवन माविमा बनाएको क्वारेन्टाइन भने रित्तै छ ।

नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइन रित्तै छन् तर उनीहरु ओडारमा सँगै कोचिएर बस्ने गरेका छन् । कतिपयले घरबाटै खाना नास्ता मगाउन गरेका छन् । लत्ताकपडा पनि घरबाटै लिएका छन् । सातजना नुवाकोट र सातजना बैतडीबाट केही दिनअघि उद्धार गरी ल्याइएका ती मजदुरले दिउँसो गाउँको काम समेत गर्ने गरेका छन् । भौतिक दूरी कायम गरेर मल बोक्ने, गहुँ काट्नेलगायतका कामहरु गरिरहेको स्थानीय ढकवीर रानाले बताए ।

ओडारमा बेड हुने कुरै भएन । चिसो भुँइमा घाँस विछ्याएर त्यहीमाथि कार्पेट राखिएको छ । दिनहुँ पानी परेपछि आफूहरुलाई चिसोले सताउन थालेको नुवाकोटबाट फर्केका हरिवहादुर पुनले बताए। उनले भने, ‘विद्यालयभन्दा ओडारमा सुरक्षित होला भनेर यहाँ बस्यौ तर चिसोले सताउन थाल्यो ।’

गाउँ नजिकै भएकोले खेतबारीको काममा समेत आफूहरुले सघाइरहेका छौं, उनले भने, ‘मल बोक्ने, गहुँ काट्नेलगायतका काममा सघाइरहेका छौं। ओडारमा बसेका हामीसँगै भएपनि गाउँका मान्छे र घरपरिवारको सम्पर्कमा गएका छैनौं ।’

केही दिनअघि एकै पटक देशका विभिन्न सहरबाट लकडाउनको उलंघन गदै हुलका हुल मानिस जिल्ला भित्रिए पनि क्वारेन्टाइनमा दुई सय मात्र बसेका छन् । अन्यलाई होम क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको स्थानीय सरकारले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *