धमाधम राहत बाँड्दै मोरङका स्थानीय सरकार , ८० हजार भन्दा बढी परिवारले लिइसके राहत

माेरङ / कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी रुपमा गरिएको ‘लकडाउन’का कारण पीडित बनेकालाई मोरङका स्थानीय तहले धामाधम राहत वितरण गरिरहेका छन् । स्थानीय सरकारबाट पीडित बनेका मध्ये ८० हजार बढी परिवारले राहत लिइसकेका छन् । ‘लकडाउन’ गरिएको तीन साता वितिसक्दा ८० हजार पाँच सय ५३ घरपरिवारलाई स्थानीय सरकारले राहत वितरण गरेको विवरण जिल्ला प्रहरी कार्यालय मोरङसँग रहेको छ । सबै स्थानीय तहले गरेको राहत वितरणको विवरण प्रहरीसँग सुरक्षित रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

उनकाअनुसार मोरङका १७ वटा स्थानीय तह मध्ये अहिलेसम्म १६ वटाले राहत वितरण गरेका छन् । रतुवामाई नगरपालिकाले हालसम्म राहत वितरण गरेको नपाइएको राईले बताए । जिल्ला प्रोफाइल २०७० अनुसार मोरङमा घरघुरी संख्या दुई लाख १३ हजार आठ सय ७० रहेको छ । जम्मा घर परिवार संख्यालाई आधार मान्दा अहिलेसम्म मोरङमा ३७ दशमलव ६६ प्रतिशत राहत वितरण भएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार विराटनगर महानगरपालिकाले २६ हजार दुई सय ६८, रंगेली नगरपालिकाले सात हजार सात सय ५२, सुनवर्षी नगरपालिकाले दुई हजार चार सय ९२, धनपालथान गाउँपालिकाले छ हजार चार सय २१, बेलबारी नगरपालिकाले तीन हजार एक सय ६० परिवारका लागि राहत वितरण गरेका छन् । सुन्दरहरैँचा नगरपालिकाले चार हजार आठ सय, केराबारी गाउँपालिकाले एक हजार पाँच सय ११, ग्रामथान गाउँपालिकाले दुई हजार पाँच सय ४४, जहदा गाउँपालिकाले पाँच हजार आठ सय १६, कटहरी गाउँपालिकाले चार हजार , बूढीगंगा गाउँपालिकाले छ हजार तीन सय ८३ परिवारलाई राहत बाँडेको अधिकारीले बताए ।

उनकाअनुसार लेटाङ नगरपालिकाले दुई हजार एक सय ४१, पथरीशनिश्चरे नगरपालिकाले तीन हजार दुई सय २०, कानेपोखरी गाउँपालिकाले दुई हजार चार सय ४०, उर्लाबारी नगरपालिकाले दुई सय ६३ र मिक्लाजुङ गाउँपालिकाले एक हजार पाँच सय ४२ घर परिवारलाई राहत वितरण गरेका छन् ।
एसपी अधिकारीले जिल्ला भर १२ लाख २६ हजार नौ सय ७७ किलोग्राम चामल, एक लाख १५ हजार नौ सय दुई किलो दाल, ६१ हजार नौ सय तीन किलो आलु, ८५ हजार २५ किलो नुन राहत स्वरुप वितरण भएको बताए । उनले ४४ हजार आठ सय ९८ लिटर तेल, ७५ हजार नौ सय ४१ वटा साबुन वितरण भएको जानकारी दिए ।

बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले ‘लकडाउन’का कारण पीडित बने मध्ये पारिवारिक आर्थिक अवस्था कमजोर भएका, ज्यालामजदुरी गरेर जीविका चलाउने, वृद्धवृद्धा, अपांगता भएका, सुत्केरी समेतलाई राहत वितरण गरिएको बताए । सुवेदीले कुनै विभेद नगरिकन सम्बन्धित वडा कार्यालयले संकलन गरेको तथ्यांकका आधारमा न्यून आर्थिक अवस्था भएका र जीविकोपार्जनमा समस्या भएकालाई राहत वितरण गरिएको जानकारी दिए ।

‘लकडाउन’ पीडितलाई हालसम्म राहत वितरण नगरेको रतुवामाई नगरपालिकाका मेयर रविन राईले ग्रामीण क्षेत्रमा बाली लगाउने चटारो रहेका कारण राहत वितरण नगरिएको बताए । ‘राहत पाउनु पर्ने लक्षित वर्ग अहिले खेतबारीमा काम गरिरहेको छ । धान रोप्ने र मकै गोड्ने चटारो छ,’ उनले भने, ‘आर्थिक अवस्था मजवुत भएकालाई दिने कुरा आएन । हाम्रो नगरपालिकामा कृषकहरु नै राहत पाउने सूचीमा छन् ।’ काम सकेर कृषकहरुलाई फुर्सद भएपछि राहत वितरण थालिने राईले बताए । भने, ‘यहाँ खेती नगरिकन खान पुग्ने कम छन् । त्यही भएर यत्रो बन्दाबन्दीमा पनि कृषकहरु आआफ्नो खेतीपातीमा व्यस्त छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *