नमुना लिइएका लमजुङका १४९ मध्ये ४४ जनामा कोरोना संक्रमण नभएको पुष्टि

(लमजुङ) : लमजुङमा ‘थ्रोट स्वाब’ र ‘र्‍यापिड डाइगोनोष्टिक टेष्ट’ (आरडिटी) गरिएका १४९ जनामध्ये ४४ जनाको परीक्षण नतिजा ‘नेगेटिभ’ आएको छ। ‘नेगेटिभ’ नतिजा आउनुको अर्थ उनीहरूलाई कोरोना भाइरस संक्रमण नभएको पुष्टि हुनु हो।

आइतबारदेखि सुरू भएको र्‍यापिड परीक्षण अन्तर्गत हालसम्म २४ महिला र १२५ पुरुष गरी १४९ जनाको नमुना लिइएको छ। कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्लस्थित क्वीक रेस्पोन्स टिम (क्युआरटी) का अनुसार बुधबार जिल्लाको सुन्दरबजार नगरपालिका र क्होलासोथार गाउँपालिकामा आरडीटी परिक्षण गरीएको हो। जसमध्ये सुन्दरबजारमा आठजनाको परिक्षण भएको छ भने क्होलासोँथारमा चारजना गरी १२ जनाको परिक्षण भएको छ।

जिल्लामा चैत्र १ गतेयता २८० जना आएको तथ्याङ्क छ। विदेशबाट आएको १४ दिन पुरा भई २१ दिन नकटेकाहरुको मात्रै परिक्षण गरिएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ।

क्युआरटीका अनुसार हालसम्म वेंसीशहर र मध्यनेपालमा १२–१२ जना, सुन्दरबजारमा ३८, राइनास र दुधपोखरीमा १५–१५ जना, मर्स्याङ्दीमा २७, दोर्दीमा ११ र क्होलासोँथारमा १९ जनाको र्‍यापिड परिक्षण गरिएको छ। परिक्षण गरिएका सबैमा कोरोना संक्रमण देखिएको छैन। विदेशबाट जिल्ला भित्रिएकाहरुको र्‍यापिड डाइगोनोष्टिक टेष्ट आरडिटी सुरु गरेको स्वास्थ्य कार्यालय लमजुङका अनुसार कोरोना परीक्षणका लागि जिल्लालाई एकसय ६९ आरडीटी किट प्राप्त भएको थियो।

यसैबीच कोभिड–१९ परिक्षणका लागि जिल्लाबाट ‘थ्रोट स्वाब’ परिक्षणका लागि पोखरा पठाइएका थप चार जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ। छिमेकी मुलुक भारतबाट जिल्ला भित्रीएका चारजनाको ‘थ्रोट स्वाब’ संकलन गरी जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो। प्राप्त रिपोर्टअनुसार उनीहरूमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ।

यसअघि जिल्लाबाट ४० जनाको ‘थ्रोट स्वाब’ परिक्षणका लागि पोखरा र काठमाडौं पठाइएको थियो। हालसम्म जिल्लाभरका ‘थ्रोट स्वाब’ परिक्षण गरीएका ४४ जनामध्ये सबैको रिपोर्ट ने’गेटिभ’ आएको क्युआरटीले जनाएको छ।

लमजुङमा कोभिड–१९को संक्रमण जोखिमसँगै निर्माण भएका क्वारेन्टाइनमा ६ जना थपिएका छन्‌। जिल्लास्थित विभिन्न स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनबाट दुईजना घर फर्किएको पनि क्युआरटीले जनाएको छ।

बुधबारसम्‍म प्राप्त तथ्याङ्कअनुसार जिल्लाको वेंसीशहर नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा चारजना र क्होलासोँथार गाउँपालिकामा दुईजना थप भएका हुन् । यस्तै, क्होलासोँथारकै दुईजना घर फिर्ता भएका छन्‌। हाल पाँचजना थप र दुईजना बाहिरिएसँगै जिल्लाका विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या ३८ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *