नारायणी अस्पतालमा पीसीआर परीक्षण शुरु, निको भएका दुई संक्रमित पुनः आइसोलेसनमा

वीरगञ्ज, २३ वैशाख । वीरगञ्जस्थित नारायणी अस्पतालमा मंगलबारदेखि कोरोना चेकजाँच गर्ने पीसीआर मेशिन सञ्चालनमा आएको छ ।अस्पतालमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मेडिकल सुपरिटेण्डेन्ट डा. मदन उपाध्यायले लामो प्रतीक्षा पश्चात संघ र प्रदेश सरकारको सहयोगमा नारायणी अस्पतालमा सोमबारदेखि पीसीआर मेशिन सञ्चालनमा आएको जानकारी दिनुभयो ।

उहाँले पहिलो चरणमा १६ वटा थ्रोट स्वाबको नमूना परीक्षण भइरहेको बताउनुभयो । विगत तीन साता अघि नै कोरोना चेकजाँच गर्ने मेशिन प्रदेश सरकारले नारायणी अस्पताललाई उपलब्ध गराएपनि त्यसमा चाहिने अन्य सामानहरु नपठाएको कारण मेशिन थन्केर बसेको थियो ।

यहाँबाट संकलन गरिएको स्वाब परीक्षणका लागि हेटौंडा स्थित प्रादेशिक प्रयोगशाला र काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल पठाउनुपर्ने बाध्यता थियो ।

थ्रोट स्वाब संकलन गरेर हेटौडा तथा काठमाडौं पठाई रिपोर्टको लागि प्रतीक्षा गर्नुपर्ने बाध्यताको अन्त्य भएको मेसु डा.उपाध्यायको भनाइ छ ।
नारायणी अस्पतालमा सञ्चालनमा आएको पीसीआर मेशिनमा १६ वटा थ्रोट स्वाबको नमुना परीक्षणको क्रममा छ । सोही नमुना भेरिफिकेसनका लागि स्वाब टेकु पनि पठाएको भन्दै मेसु डा. उपाध्यायले दुवै अस्पतालको रिपोर्ट तुलना समेत गरिने बताउनुभयो ।

राष्ट्रिय प्रयोगशालाका माइक्रोबायोलोजिस्ट र भाइरोलोजिस्टले पीसीआर परीक्षणका लागि अस्पतालका चार जना प्राविधिकलाई एकसातादेखि तालिम दिइरहेका थिए ।

पूर्वतयारी नभएको अवस्थामा पीसीआर मेसिन आएकोले मलेकुलर ल्याब तयार गर्न समय लागेको बताइएको छ । प्रदेश सरकारले पठाएको मेशिन बाहेक अन्य सामान लामो समयसम्म नआएपछि नारायणी अस्पतालले आफै टेण्डर आह्वान गरेर खरिद प्रक्रियालाई अगाडि बढाएको थियो ।

मेसिन बाहेक ५० लाखभन्दा बढीको सहायक सामग्री खरिद गरिएको छ । एक पटकमा ३६ वटा नमुना परीक्षण गर्न सक्ने क्षमताको मेशिन नारायणी अस्पतालमा छ ।

थ्रोट स्वाब संकलनपछि परीक्षण परीक्षण गरेर रिपोर्ट आउन ५ देखि ६ घण्टा समय लाग्छ । उक्त मेशिनमा दैनिक दुई सिफ्टमा ७२ वटा नमूना परीक्षण गर्न सकिने क्षमता रहेको मेसु डा। उपाध्यायको भनाइ छ ।नारायणी अस्पतालले हालसम्म ८ सय भन्दा बढी थ्रोट स्वाब संकलन गरेर हेटौडा तथा काठमाडौं स्थित प्रयोगशालाबाट पीसीआर परीक्षण गराई सकेको छ ।

नारायणी अस्पतालमा पर्सा, बारा, रौतहट र सर्लाहीका ११ जना संक्रमित उपचाररत रहेका छन् भने २ जना निको भएका छन् । चार जना डिस्चार्ज भएकोमा २ जनाको पुनः परीक्षण गर्दा शंकास्पद देखिएकोले अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *