‘नेकपा सिसाको घर होइन, कसैले ढुंगा हान्दैमा यो फुट्दैन

काठमाडौं, १६ वैशाख। पूर्व पर्यटनमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य आनन्द पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्ष भएकाले हठात् हटाउने कल्पना गर्न नसकिने बताएका छन्।

एक अनलाइन कार्यक्रममा बोल्दै नेता पोखरेलले नेकपा एकतावद्ध भएर अघि बढ्न आग्रह गरे। उनले भने, ‘नेकपा सिसाको घर होइन, कसैले ढुंगा हान्दैमा यो फुट्दैन। यो मार्क्सवाद लेनिनवादको जगमा खडा भएको पार्टी हो। यसका लाखौं कार्यकर्ता छन्। यो कुनै नेता विशेषले फुटाउन चाहेर फुटाउन सक्दैनन्, विदेशीले पनि फुटाउन सक्दैनन्। जसले पार्टी फुटाउँछ, त्यो जनतामा जान सक्दैन।’

‘पार्टी फुट्ने कल्पना म गर्न सक्दिनँ’ पोखरेलले भने, ‘कतिपय नेताहरुले यो समयमा अध्यादेश ल्याउनु सान्दर्भिक भएन भन्नुभएको छ। तर, मैले यसलाई कम्युनिष्ट पार्टीको रणनीति र कार्यनीतिसँग जोडेर हेर्छु। २ वर्षदेखि संवैधानिक अंगहरु खाली छन्, त्यहाँ नियुक्ति हुँदा कम्युनिष्ट पार्टी नै बलियो हुन्थ्यो। शत्रु पक्षलाई कमजोर बनाएर मात्र कम्युनिष्ट पार्टी बलियो हुन्छ। अध्यादेश त्यही प्रयोजनका लागि आएको थियो।’

‘हाम्रो पार्टी फुटाउन पूँजीवादीहरु लागेका छन्’ पूर्वमन्त्री पोखरेलले भने, ‘अध्यादेशले कम्युनिष्ट पार्टी बलियो बनाउँथ्यो। मधेशवादी दल कमजोर हुँदा हामीले चिन्ता लिन जरुरी थिएन। पार्टीभित्र टाउको गन्न गणित ठीक छैन। प्रधानमन्त्रीका केही कमजोरी छन्। सबै कुरामा परामर्श नगर्ने बानी पनि होला। तर, प्रत्येकपटक सचिवालयको बैठक बसेको छ, छलफल भएको छ। बुझाइमा समस्या भएको मात्र हो।’

‘अहिले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउने कोशिस भएको छ, पार्टी अध्यक्षबाट हटाउने कोशिस भएको छ’ पूर्वमन्त्री पोखरेलले भने, ‘उहाँ तात्कालीन नेकपा एमालेको महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्ष हो। पार्टी एकता गर्न उहाँको महत्वपूर्ण भूमिका छ, दुवै पार्टी अध्यक्षको एकतामा महत्वपूर्ण भूमिका छ। यी २ अध्यक्ष मिल्नुको बिकल्प छैन। छलफल गणितमा आधारित भएर होइन, विधानअनुसार सहमति र सहकार्यका आधारमा हुनुपर्छ। आफूलाई चाहिएको कुरा पूरा नभएपछि ओलीको विरोध गर्नु ठीक होइन।’

‘वामपन्थी गठबन्धनले केपी ओलीकै ब्यानरमा चुनाव लडेको हो, समृद्धि र स्थीरताको नारामा चुनाव लडेको हो’ उनले भने, ‘केपी ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाएर नेपालको कम्युनिष्ट आन्दोलन बलियो हुँदैन। प्रतिक्रियावादीको स्वार्थ मात्र पूरा हुन्छ। उहाँलाई धेरै विदेशी शक्तिले रुचाएका छैनन्, हामी त्यसको पछाडि लाग्नु हुँदैन।’

कोरोना महामारीबाट बच्न नेपाल सरकारले चालेको कदम स्वागतयोग्य भएको उनले बताए। पोखरेलले भने, ‘नेपाल सरकारले महामारीविरुद्ध जुन प्रकारको रणनीति लिएको छ। यो स्वागतयोग्य छ। हाम्रोजस्तो स्वास्थ्य प्रणाली भएको मुलूकमा कोरोनाबाट सुरक्षित रहन सक्नु सरकारको उपलब्धी हो। हामीले बन्दाबन्दीको चाइनिज मोडेल रोजेर महामारीविरुद्ध प्रभावकारी कदम चालेका छौं, यो महत्वपूर्ण उपलब्धी हो।’

‘सरकारले जनता मर्नबाट बचाएको छ, महामारीविरुद्ध चाहिने स्वास्थ्य सामग्री उपलब्ध गराएको छ’ पूर्वमन्त्री पोखरेलले भने, ‘सरकारले कोरोनाबाट जनता मर्नबाट जनता बचाएको छ। एक जना पनि मानिसको मृत्यु नहुनु ओली सरकारको उपलब्धी हो। यद्यपि, हामीसँग चुनौती भने छन्।’ लकडाउन सरकारको रहर नभएर बाध्यता भएको पनि उनले बताए। ‘जनताको जीवनरक्षाका लागि नै लकडाउन गरिएको छ। यो सरकारको बाध्यता हो’ पोखरेलले भने।

पूर्व पर्यटनमन्त्रीसमेत रहेका पोखरेलले नेपालले कृषि र पर्यटनका क्षेत्रमा आत्मनिर्भर बन्ने अवसर प्राप्त गरेकाले त्यसको सदुपयोग गर्नुपर्ने बताए। ‘कोरोना महामारीपछि विदेसिएको जनशक्ति स्वदेश फर्किने सम्भावना छ’ पोखरेलले भने, ‘नेपालले कृषि क्षेत्रमा आत्मनिर्भर बन्न सक्छ। त्यसका लागि ठोस याोजनासहित अगाडि बढ्नुको बिकल्प छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *