नेपालगञ्जका चार स्थान घेरावन्दीमा, थप अर्का एक युवामा पनि संक्रमणको आशंका

नेपालगञ्ज, १९ बैशाख । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रका चार स्थान घेरावन्दी (सील) गरिएको छ ।शुक्रबार नेपालगञ्जका एकजना पुरुषमा संक्रमण पुष्टि भएपछि र अर्का एक युवामा पनि कोरोना संक्रमणको आशंका गरिएपछि नेपालगञ्ज शहरका चार स्थानलाई घेराबन्दी (सील) गरिएको हो ।

आज संक्रमणको पुष्टि भएका ६० बर्षीय पुरुष भारतको सीमा क्षेत्र बहराइचबाट करिब एक महिनाअघि नेपाल फर्किएका हुन् । कोरोना पोजिटिभ देखिएका ती व्यक्ति नेपालगञ्ज उपमहानगरपालिका वडा नं.८ डीएसपी रोड महेन्द्र पार्क निवासी हुन् ।उनी लामो समय नेपालगञ्ज आसपासका मस्जिद र व्यक्तिहरुसंग घुलमिल गरिएको जानकारी आएको छ ।

नेपालगञ्जको डीएसपी रोड, वडा नं. ८, धम्बोजी र एकलैनी क्षेत्र घेरावन्दी सील गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले बताउनुभयो ।

संक्रमित व्यक्ति डीएसपी रोडस्थित घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक आउजाउ गर्दै आएका थिए । संक्रमित व्यक्ति थुप्रै व्यक्तिहरुको सम्पर्कमा पुगेको हुनसक्ने भन्दै ४ स्थान सील गरिएको हो ।

उनका श्रीमती र छोरा तथा नजिकका छिमेकीहरुको पनि कोरोना जाँच गरिने भएको छ । यसैबीच नेपालगञ्ज धम्वोजीका अर्का एक युवामा पनि संक्रमणको आशंका गरिएपछि धम्बोझी क्षेत्र सील गरिएको हो ।आज संक्रमण पुष्टि भएका नेपालगञ्ज र रुपन्देहीका दुवैजनालाई खजुरास्थित क्यान्सर अस्पतालमा रहेको आइसोलेसनमा राखेर उपचार थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *