नेपालमा संक्रमण देखिएको भन्दै नाका खोल्न चीन सरकार अनिच्छुक

काठमाडौं, २३ चैत । नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै रसुवागढी र तातोपानी नाका खोल्न चीन सरकार अनिच्छुक देखिएको छ । सरकारले चीनसँग बन्द भएको व्यापारिक नाका खोल्न पटकपटक गरेको आग्रहलाई चीनले अस्वीकार गर्दै हाल नाका नखोल्ने जनाएको हो ।

चीनले अहिले नेपालमा कोरोनाको संक्रमण देखिन थालेको र यसले ठूलो रुप लिन सक्ने भन्दै चिनियाँ अधिकारीहरु सशंकित बनेर नाका नखोल्ने मुडमा पुगेकोे रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।

नाका सञ्चालनको तयारी अन्तिम अवस्थामा पुयाउँदै गर्दा चीनको नयाँ नीतिअनुसार तत्काल नाका सञ्चालन हुन नसक्ने जानकारी केरुङ प्रशासनले गराएको भन्सार कार्यालयले जनाएको छ । तर, केरुङ प्रशासनले भने यसबिषयमा लिखित जानकारी गराएको छैन् ।

मालवस्तु आयात निर्यातसँगै मानिसको ओहोर–दोहोर हुने र त्यसले संक्रमणको जोखिम बढाउने चिन्ता चिनियाँ पक्षलाई छ । नाका सञ्चालन गर्नेबारे कूटनीतिक तवरमा निर्देशन हुनुपर्ने जानकारी चिनियाँ पक्षले गराएको भन्सारले जनाएको छ । यसअघि चीनमा कोरोना भाइरसपछि बन्द गरिएको चीनतर्फको व्यापारिक नाका सरकारले चैत १२ गतेबाट सञ्चालन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *