नेपाल औषधि लिमिटेडले स्यानिटाइजर उत्पादन सुरु गर्‍यो

नेपाल औषधि लिमिटेडले स्यानिटाइजर उत्पादन सुरु गरेको छ । लिमिटेडले एक सय मिलिलिटरको बोतलमा स्यानिटाइजर उत्पादन गर्न थालेको हो । दैनिक २० हजार बोतल स्यानिटाइजर उत्पादन गरिरहेको भन्दै लिमिटेडका स्टोर प्रमुख दिनेश भट्टराईले नेपाल आर्मी अस्पताल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा विभिन्न बैंक र सरकारी निकायले लिमिटेडले उत्पादन गरेको स्यानिटाइजर अर्डर गरेको जानकारी दिए ।

यसबाहेक लिमिटेडले बजारमा पनि स्यानिटाइजर पठाउने बताएको छ । लिमिटेडले उत्पादन गरेको स्यानिटाइजरको बजार मूल्य एक सय ७५ रुपैयाँ तोकिएको छ । औषधि व्यवस्था विभागको स्वीकृति लिएर उत्पादन गरिएको स्यानिटाइजर विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको रहेको पनि लिमिटेडले दाबी गरेको छ । लिमिटेडले उत्पादन सुरु गरेको स्यानिटाइजरमा ८० प्रतिशत अल्कोहल र बाँकी पानी तथा ग्लिसिरिन मिसाइएको छ ।

लिमिटेडले सानो बोतलबाहेक ठूलो जार, भाँडो र ग्यालिनमा पनि स्यानिटाइजर उपलब्ध गराउने भएको छ । लकडाउन भएलगत्तै लिमिटेडले स्यानिटाइजर उत्पादन सुरु गरेको हो । स्यानिटाइजर उत्पादनका लागि अहिले लिमिटेडमा एक सयभन्दा बढी कर्मचारी खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *