नेपाल–भारत सीमामा‌ सशस्त्र प्रहरीको बाक्लो उपस्थिति

काठमाडौं : लकडाउनलाई‌ प्रभावकारी बनाउन नेपाल–भारत सीमामा‌ डेढ–डेढ‌ किलोमिटर दूरीमा सशस्त्र प्रहरी ‌बल‌ परिचालन‌ गरिएको‌ छ। लकडाउनको‌ सबैभन्दा प्रमुख‌ चुनौति नेपाल–भारतको‌ खुला सीमा भएकोले २२६१६ सशस्त्र प्रहरी परिचालन गरिएको‌ छ।

पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्मको करिब १ हजार ८ सय ८० किलोमिटर दूरीमा सीमा सील‌ गर्न १ हजार २ सय १३ अस्थायी चेकपोस्ट खडा गरिएको‌ छ। नयाँ चेक पोस्टमा मात्रै साढे ८ हजार जनशक्ति‌‌ परिचालन गरिएको छ। यो जनशक्ति दसगजामै राखिएको छ। यसअघि सीमा‌ सुरक्षाका‌‌‌ लागि ११९ बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) काम गरिरहेका छन्।

सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डीआईजी प्रविनकुमार श्रेष्ठका अनुसार सीमा नाका सुरक्षा, क्वारेन्टाइन सुरक्षा, हेल्थ डेस्कलगायत ‘इमिडियट रेस्पोन्स टिम’, चेक पोइन्ट, पिकेट, पैदल गस्ती, मोवाइल गस्ती, ‘क्वीक रिएक्सन टिम‌’ परिचालन गरिएको छ। ‘सीमा अत्यन्त कडाइ गरिएको छ। कोही प्रवेश गर्न नसकोस भनेर‌ हामी‌ परिचालित छौं’, उनले भने।

अस्थायी ‌चेक पोस्टमा बरिष्ठ हवाल्दारदेखि निरीक्षकको नेतृत्वमा‌ खटाइएको छ। ठूलो‌ संख्यामा‌ सीमामा परिचालित सशस्त्र प्रहरीका सुरक्षाकर्मी पाल वा टेन्टमा बस्न बाध्य छन्।

सार्वजनिक भवन, खाली स्कुल, छोटी भन्सार भएका ठाउँमा त्यही राखिएको छ। सशस्त्रले मन्त्रिपरिषद् समक्ष साधानस्रोतका‌ लागि‌ माग गरेको छ। उसले स्थानीय ‌तह र‌ प्रदेश सरकारसँग पनि समन्वय गरेको छ।

उपत्यकामा ३ हजार र कर्णालीमा १७ सय सहित आइसोलेसन, क्वारेन्टाइन व्यवस्थापन, पैदल गस्ती, बिरामी‌ ल्याउने लानेसहित‌ ३२ हजार बढी सशस्त्र बल फिल्डमा परिचालनमा छन्।

सीमाविद् बुद्धिनारायण श्रेष्ठले‌ संक्रमण ‌समाप्त नहुँदै सीमा व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएका छन्। ‘सीमा खुला‌‌ वा बन्द होइन। व्यवस्थापन गर्नु पर्छ’, उनले‌ भने, ‘अहिले‌ सीमा‌ खडा गरिएका चेकपोस्ट व्यवस्थित गर्न सकिए राम्रो हुन्छ।’

सीमामा उच्च सतर्कता

कोरोना भाईरसको संक्रमण सीमा क्षेत्रबाट भित्रिन नदिन प्रदेश ५ का भारतसँगको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। प्रदेश ५ का सीमावर्ती जिल्लाहरू पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्लाका सीमा क्षेत्रलाई पूर्ण रूपमा शील गरिएको छ।

सीमा क्षेत्रका विभिन्न स्थानहरूमा अस्थायी त्रिपाल राखी सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोस्ट खडा गरिएको छ। सीमा क्षेत्रमा सुरक्षा प्रवन्ध, स्थायी तथा अस्थायी सुरक्षा पोस्ट र सीमा अवस्था अवलोकनका लागि प्रदेश ५ सशस्त्र प्रहरी बलका प्रमुख डिआइजी नारायणदत्त नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलसहित कपिलवस्तुको सीमा क्षेत्र निरीक्षण गरेको छ।

सीमा क्षेत्रको हरेक ५ सय मीटरको दूरीमा २४ घन्टे सुरक्षाकर्मी खटाइएको छ। सीमा क्षेत्रमा अपनाइएको उच्च सतर्कताका कारण नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने अवस्था पूर्ण रूपमा रोकिएको कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताए। सामान्य अवस्थामा प्रदेश ५ का तराईका ६ जिल्लामा ६ वटा गण, ३ वटा भन्सार सुरक्षा गुल्म र २८ वटा बीओपी रहँदै आए पनि सीमा क्षेत्रमा हाल २ सय ५० बढी स्थानमा सुरक्षाकर्मीहरूको पोस्ट खडा गरिएको छ।

सशस्त्र प्रहरीको प्रदेश ५ को बिन्ध्यबासिनी बाहिनी र थप अन्य बाहिनीबाटसमेत सशस्त्र प्रहरी ल्याएर सीमा क्षेत्रलाई पूर्ण रूपमा शील गरिएको सशस्त्र प्रहरी बल प्रदेश ५ का प्रमुख डिआइजी नारायणदत्त पौडेलले बताए। सीमा क्षेत्रमा भारततर्फको गोरखपुर र लख्खीपुरस्थित भारतीय सीमा सुरक्षाका डिआइजी तहका सुरक्षा अधिकारीसँग पनि नियमित संवाद र समन्वयबाट प्रदेश ५ का नेपाल–भारत सीमामा दुवै देशका सुरक्षाकर्मीहरूबाटै संयुक्त निगरानी बढाइएको डिआइजी पौडेलले बताए।

सीमामा गरिएको यस्तो सुरक्षा प्रवन्धबाट भारतका विभिन्न सहरबाट नेपाल फर्कने सर्वसाधारणहरूको घुसपैठ रोकिँदा कोरोना भाइरसको संक्रमण फैलनसक्ने उच्च जोखिमबाट भने प्रदेश ५ लाई बचाउने सुरक्षा अधिकारीहरूको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *