पछिल्लो २४ घन्टाभित्र कोरोना संक्रमित थपिएको छैन : स्वास्थ्य मन्त्रालय

पछिल्लो २४ घन्टाभित्र स्वाब नमुना परीक्षण (पिसिआर) प्रविधिबाट गरिएका कुनै पनि परीक्षणमा कोरोना भाइरसको संक्रमण नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सरकारले परीक्षणको दायरा फराकिलो बनाउँदै पछिल्लो २४ घन्टामा दुई हजार आठ सय ९४ जनाको परीक्षण गरिएको बताए ।

प्रवक्ता देवकोटाले बुधबारसम्ममा पिसिआर विधिबाट ६ हजार आठ सय ७१ जनाको परीक्षण गरिएको बताए । यस्तै र्‍यापिड डाइग्नोष्टिक विधि (आरडिटी)बाट अहिलेसम्म आठ हजार नौ सय २९ वटा परीक्षण भएका छन् । दुवै विधिबाट कुल १५ हजार आठ सय परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।

र्‍यापिड टेस्ट तीव्र पारिँदै
विदेशबाट आएका व्यक्तिहरूको र्‍यापिड किटबाट परीक्षण गर्ने कार्यलाई अझ तीव्र बनाइँदै लगिएको देवकोटाले बताए । अहिलेसम्म र्‍यापिड किटबाट परीक्षण गर्न १४ वटा जिल्ला बाँकी रहेको उनको भनाइ छ ।

प्रदेश १ को सात, प्रदेश २ को तीन, गण्डकी प्रदेशको एक, प्रदेश ५ को एक र कर्णाली प्रदेशको दुई जिल्लामा र्‍यापिड टेस्ट सुरु हुन बाँकी रहेको उनले बताए । केही जिल्लामा र्‍यापिड टेस्टका क्रममा पोजेटिभ रिपोर्ट आएकोमा पिसिआर प्रविधिबाट परीक्षण गरेपछि आएको रिपोर्ट सार्वजनिक गरिनेसमेत उनले जानकारी दिए । अहिले देशभर पाँच हजार ६ सय १४ जना क्वारेन्टाइनमा र एक सय १७ जना आइसोलेसनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *