पञ्चेश्वरमा सीमा सुरक्षा पोष्ट, स्वराडबासीले भने ‘बल्ल नेपालीको शिर ठाडो’

बैतडी, असार १७ गते । पञ्चेश्वरमा नेपाल सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट (बीओपी) स्थापना भएपछि स्वराडबासीले ‘बल्ल नेपालीको शिर ठाडो भयो’ भनेका छन् ।

मङ्गलबार पञ्चेश्वरको रोलघाटमा एक प्लाटुन नेपाली सशस्त्र प्रहरीको टुकडी रहने गरी सीमा सुरक्षा पोष्ट उद्घाटन भएको छ । सशस्त्र प्रहरी बलका सुदूरपश्चिम प्रदेश प्रमुख डिआईजी हरिशंङ्कर बुढाथोकी र सशस्त्र प्रहरीका बैतडी प्रमुख अमित सिंह सीमा सुरक्षा पोष्टको उद्घाटन गर्न पञ्चेश्वर पुग्दा गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले नेपाली टोपी लुकाएर हिँड्नुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो ।

चन्दले भन्नुभयो, “दिनभरि कक्षाकोठामा राष्ट्रियताको पाठ पढाएर बेलुकी नेपाली टोपी लुकाएर हिँड्नुपर्ने बाध्यता थियो । आफ्नै जिल्ला सदरमुकाम जान भारतीय बाटो प्रयोग गर्नुपर्ने पीडा थियो । राज्यको उपस्थिति बढेपछि स्वराडमा अहिले सडक पुगेको छ । सुरक्षाका लागि सशस्त्र प्रहरी पनि आयो । चुनाव जितेर गाउँपालिका अध्यक्ष भए पनि मलाई बल्ल नेपाली भएको अनुभूति अहिले भएको छ ।”

सीमा सुरक्षा पोष्ट उद्घाटन गर्न मङ्गलबार अपरान्ह पञ्चेश्वर पुग्नुभएका डिआइजी बुढाथोकी बुधबार पञ्चेश्वरबाट फर्केर दार्चुला प्रस्थान गर्नुभएको छ । दार्चुलाको लाली र जोलजिबीमा पनि सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट स्थापना हुन लागेको छ ।

सीमा सुरक्षा पोष्ट स्थापनापछि सीमाको निगरानी बढ्नुका साथै अवैध तस्करी र राजस्व छली रोक्न सशस्त्र प्रहरी बल सक्रिय रहने डिआइजी बुढाथोकीले बताउनुभयो ।

पञ्चेश्वरमा नेपाल सशस्त्र प्रहरी बलको सुरक्षा पोष्ट स्थापना भएपछि भवन निर्माण गर्न यही आर्थिक वर्षभित्र १५ रोपनी जग्गा उपलब्ध गराउन पञ्चेश्वर गाउँपालिकाले पहल थालेको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो ।

बैतडीको तल्लोस्वराड क्षेत्रमा तीन वटा स्थानीय तह रहेका छन् । पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिका स्वराड क्षेत्रमा रहेका छन् ।

पञ्चेश्वरमा भर्खरै यातायात पुगेपछि त्यहाँका नागरिकको भारतीय परनिर्भरता हटेको र सशस्त्र प्रहरीको उपस्थिति बढेपछि खुशी लागेको स्थानीय बुद्धिजीवि नारायणराम सार्कीले बताउनुभयो ।

यसअघि गत महिना बैतडीको झुलाघाटमा सीमा सुरक्षा पोष्ट स्थापना भइसकेको सशस्त्र प्रहरी बल ५१ नं. गुल्म बैतडीका प्रमुख डिएसपी अमित सिंहले बताउनुभयो । झुलाघाटपछि पञ्चेश्वरमा सशस्त्रको सीमा सुरक्षा पोष्ट स्थापना भएको उहाँले बताउनुभयो ।

बैतडीको शेरादेखि पञ्चेश्वरसम्म ६५ किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरी बलका झुलाघाट र पञ्चेश्वर सीमा सुरक्षा पोष्टले नियमित गस्ती गर्ने बताइएको छ । भारततर्फ एसएसबीका १७ वटा सुरक्षा पोष्ट रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *