पर्यटन क्षेत्रका ८ लाख मजदूरको रोजगारी गुम्यो

काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) का कारण पर्यटन क्षेत्रका ८ लाख मजदूरको रोजगारी गुमेको छ। कोरोनाका कारण होटल क्षेत्रका मात्रै ५ लाख र बाँकी पथप्रदर्शकलगायतका क्षेत्रमा ३ लाख गरी ८ लाख मजदूरहरुको रोजगारी गुमेको पर्यटन मजदूरहरुको संगठन युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताए।

‘कोरोनाका कारण होटल क्षेत्रका ५ लाख र टुरिस्ट गाइड, र्‍याफ्टिङलगायत क्षेत्रका ३ लाख श्रमिकहरु महिनौंदेखि बेरोजगारी बस्नुपरेको अवस्था छ’ युनिट्राभका अध्यक्ष पराजुलीले नेपाल लाइभसँग भने।

पर्यटन क्षेत्रका श्रमिकहरु महिनौंसम्म बेरोजगारी भएर बस्नुपर्दा निकै ठूलो समस्या निम्तिएपछि युनिट्राभले राहत र दीर्घकालीन रोजगारी सिर्जनाका लागि सरकारसँग आग्रह गरेको छ। त्यस्तै पर्यटन क्षेत्रमा रोजगारी गुमाएका श्रमिकहरुलाई स्वरोजगार बन्न आवश्यक ऋणको माग पनि मजदूर संगठनले गरेको छ।

तर अहिलेसम्म पर्यटन मजदूरका लागि सरकारले कुनै पनि राहत प्याकेज घोषणा गरेको छैन। ठूलाठूला होटलहरुले ६ महिना होटल सञ्चालनमा ल्याउन नसक्ने घोषणा गरिसकेका छन्। विश्वमा भयावह बन्दै गएको कोरोना संक्रमणको प्रभाव कहिलेसम्म रहन्छ भन्ने आंकलन गर्न सक्ने अवस्था छैन। जसले गर्दा कोरोनाको प्रभाव पर्यटन क्षेत्रमा कहिलेसम्म पर्छ भन्ने यकीन समेत गर्न सकिएको छैन।

तर कोरोना संक्रमणको अवस्था यसरी नै बढ्दै जाने हो भने पर्यटन क्षेत्र पहिलेकै अवस्थामा आउन बर्षौं लाग्ने विज्ञहरुको टिप्पणी छ। अहिले पर्यटन क्षेत्रका रोजगारदाता तथा लगानीकर्ताहरु आफैं पनि टाट पल्टिने अवस्था रहेको उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा बताउँछन्।

‘यतिबेला पर्यटन उद्योगीहरुको ठूलो ठूलो लगानी डुबेको छ। जसले एउटा निकै ठूलो चुनौती थपेको छ। पर्यटन क्षेत्र धरापमा परेसँगै ठूलो संख्यामा बेरोजगारी सिर्जना भएको छ’ वरिष्ठ उपाध्यक्ष गोल्छा भन्छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना भाइरसका कारण उद्यम, व्यवसाय तथा रोजगारीको क्षेत्रमा परेको प्रभाव र न्यूनीकरणका सम्बन्धमा छलफल गरिरहेको जानकारी दिएको छ।

गत आइतबार पनि श्रम मन्त्रालयमा श्रमिक तथा उद्योगी व्यवसायीहरुको व्यवसायजन्य सुरक्षाका सम्बन्धमा मन्त्री रामेश्वर राय यादवको संयोजकत्वमा रोजगारदाता परिषद्को बैठक बसेको थियो।

सो बैठकमा राहत, छुट तथा उद्यम व्यवसाय सञ्चालनमा आवश्यक पर्ने सुविधा वितरणलगायतका विषयमा जोड दिइएको थियो। मन्त्रालयले सरकार, रोजगारदाता, श्रमिक तथा सम्बन्धित सबै सरोकारवालाहरुको सहकार्यमा कोरोना भाइरस महामारीको सामाना गर्ने निष्कर्ष निकालेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुमन घिमिरेले जानकारी दिए।

कोरोनाका कारण श्रम क्षेत्रमा देखा परेका समस्या, असर, प्रभाव, पारिश्रमिक भुक्तानीसहित रोजगारी निरन्तरतालगायत विषयमा अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन उपायहरु अबलम्बन गर्नका लागि श्रम मन्त्रालयका महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन भएको सहसचिव घिमिरेले बताए।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, श्रम मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, कृषि मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, विभिन्न रोजगारदाताहरु, संयुक्त ट्रेड युनियन समन्वय समितिलगायत सबै सरोकारवालाहरुको कार्यदल गठन भएको र समस्या पहिचानको कार्य सुरु गरिएको सहसचिव घिमिरेको भनाइ छ। रोजगारदाता तथा श्रमिकका समस्या पहिचान गरी समाधानका लागि आवश्यक कदम चाल्ने मन्त्रालयको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *