पोखरामा राहत बाँड्दै पूर्व युवराज पारश शाहले भने : भोकको शोकमा कोही बस्नु नपरोस्

पोखरा, ३० बैशाख । पूर्व युवराज पारश शाहले आज पोखरा १८ पामेका जलारी समुदायमा राहत वितरण गर्नु भएको छ । करिब ४५ परिवारलाई पूर्व युवराजले आफ्नै खर्चमा राहत वितरण गर्नु भएको हो ।

कोरोनाको कहर र लकडाउनको यो समयमा जलारी परिवारलाई खाद्यान्नको अभाव भएको खबर पुगेसँगै उनीहरुलाई राहत बितरण गरिएको जनाइएको छ ।
लकडाउनले गर्दा जाल हान्न नपाएको र माछा मार्ने काम पनि रोकिएको कारण उनीहरुलाई खाद्यान्नको अभाव हुँदै आएको थियो ।

लकडाउन भएको करिब ५० दिन पुग्नै लाग्दा अति बिपन्न परिवारलाई पूर्व युुवराजको राहत बितरणले ठूलो सहयोग पुगेको जलारी समुदायले बताएका छन।पूर्व युवराज पारश शाहले सो समुदायकी ८४ बर्षीय ज्येष्ठ नागरिक रत्नमाया जलारीलाई राहत हस्तान्तरण गरेर राहत बितरण शुरु गर्नु भएको थियो । राहत बितरण कार्यक्रममा ज्येष्ठ नागरिक, अपाङ्ग तथा असहायहरुलाई प्राथमिकताका साथ हस्तान्तरण गरिएको थियो ।

संकटको या घडीमा नेपाली जनताको घरको चुलोसंग आफुहरुको सद्भाव तथा माया रहने र कोही पनि नेपाली भोकको शोकमा बस्नु नपरोस भन्ने हेतुले राहत वितरण गरिएको पारश शाहको चाहना रहेको उनका सहयोगीहरुले बताएका छन ।

पूर्व युवराजले दिएको राहत लिँदै जलारी बृद्ध बृद्धाहरुले पारश शाहको दीर्घायुको कामना गरेका थिए । उनीहरुले पूर्व युवराजको यो मायाले आफुहरुलाई साँच्चै देशमा राजसंस्थाको आवश्यकता महशुस भएको बिचार पनि ब्यक्त गरे ।

पूर्व युवराजले आजबाट राहत बितरण गर्न शुरु गरेको उनका सहयोगीले जनाएका छन । उनका सहयोगीका अनुसार जनतालाई राहत चाहिने समय अब शुरु भएको र आजबाट खाद्यान्नको अभाव भएका नेपाली नागरिकलाई खाद्यान्न उपलब्ध गराउने कार्य गरिने बताएका छन ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *