प्रधानमन्त्री ओली असक्षम, अनैतिक र भ्रष्ट : गगन थापा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली असक्षम भइसकेको बताएका छन्। ‘नेकपाको घर झगडा, राष्ट्रिय राजनीति र सरकार सञ्चालन’बारे बुधबार लिखित धारणा सार्वजनिक गर्दै सांसद थापाले सरकारको नेतृत्व गर्न प्रधानमन्त्री ओली अयोग्य भइसकेको आरोप लगाएका हुन्।

‘प्रधानमन्त्रीज्यू, पुष्पकमल दाहाल प्रचण्डज्यू कसले कसलाई फकाउने हो, कसले कसलाई तर्साउने हो, तपाईंहरू नै जान्नुहोस्,’ थापाले भनेका छन्, ‘तर याद राख्नुहोस्, प्रधानमन्त्री ओली असक्षम, अनैतिक र भ्रष्ट हुनु भएकोले सरकारको नेतृत्व गर्न अयोग्य हुनु भएको नेकपा अध्यक्षको ठहर अब सार्वजनिक सरोकारको विषय भइसक्यो। जुन तपाईंहरूको मन पखालिएर पखालिँदैन।’

प्रधानमन्त्री ओली राष्ट्रियतासँग सम्बन्धित विभिन्न विषयमा अनेक पटक फितलो देखिएको थापाको भनाइ छ। ओलीले विदेश मामिला र कूटनीतिमा नेपालको स्वतन्त्र नीतिसँग मेल नखाने व्यवहार देखाउँदै अयोग्यता प्रदर्शन गरी देशलाई क्षति पुर्‍याएको थापाको आरोप छ।

नेकपाभित्रको आन्तरिक शक्ति सङ्घर्ष अब राष्ट्रिय सरोकारको विषय बनेको उनको भनाइ छ। ‘‘फकिने’ र ‘फकाउने’ ले यो नबिर्सिनुहोला कि अब सबै विषय नेकपाभित्रको आन्तरिक विषय रहेनन्, दुई ‘पाइलट’ को मनमुटाव मात्रको विषय रहेन। अब यो राष्ट्रिय सरोकारको विषय हो; यो हाम्रो विषय हो,’ थापाले भनेका छन्।

उनले यसबारे संसद र सदनमा आवाज उठाउने पनि उल्लेख गरेका छन्। ‘नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षले आफ्नै पार्टीका तर्फबाट बन्नु भएको प्रधानमन्त्रीको सन्दर्भमा उठाउनु भएको एकएक प्रकरणको हिसाब किताब अब संसद् र सडक दुबैबाट मागिने छ,’ उनले भनेका छन्। यसअघि कात्तिक २८ गते बसेको नेकपाको सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। उक्त प्रतिवेदनमा प्रचण्डले ओलीको तीखो आलोचना गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *