प्रशिक्षण रोकेर कोरोनाबारे बोल्न शेखरलाई विश्वप्रकाशलाई फोन

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय सदस्य शेखर कोइरालालाई टेलिफोन गरेर पार्टीका प्रशिक्षण कार्यक्रम नगर्न आग्रह गरेका छन्।पार्टी केन्द्रीय कार्यालयले कोरोनाभाइरसबारे सचेतना आवश्यक रहेको भन्दै गत फागुन २१ गते अर्को सूचना जारी नहुञ्जेलसम्म पार्टीका प्रशिक्षणलगायत कार्यक्रम स्थगित गरेको थियो।

तर केन्द्रीय सदस्य कोइराला शुक्रबार गोरखामा पार्टीको संशोधित विधान तथा नियमावलीमा थप भएका नयाँ प्रावधानको विषयमा एक दिने प्रशिक्षण दिन पुगेका छन्। प्रवक्ता शर्माले सेतोपाटीसँग कुराकानी गर्दै केन्द्रीय कार्यालयले प्रशिक्षणजस्ता कार्यक्रम स्थगित गर्न दिएको निर्देशन कोइरालालाई स्मरण गराइएको बताए।

‘यो कुनै निर्देशन वा स्पष्टिकरण सोधिएको होइन,’ प्रवक्ता शर्माले भने, ‘कोरोनाभाइरस विश्वभर महामारीको रूपमा फैलिएपछि सचेत रहन हामीले पार्टीका कार्यक्रम स्थगित गरेका छौं। कोइराला चिकित्सक पनि भएकोले कोरोनाभाइरसबारे सतर्कताबारे कार्यक्रममा छोटो बोलेर टुंग्याउन भनेको हुँ।’ प्रवक्ता शर्माले आफूले केन्द्रीय कार्यालयको तर्फबाट कोइरालालाई फोन गरेको बताए।

‘सभापतिको निर्देशनमा कोइरालालाई फोन गरेको भ्रम कसैमा नरहोस्,’ उनले भने, ‘क्रियाशील सदस्यता वितरण/नवीकरण, समायोजनका काम बाँकी छन् भने पनि गर्न छुट जिल्लालाई छ तर प्रशिक्षण/भेला अर्को सूचना नआउञ्जेल स्थगित गरिएको छ।’ कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले प्रवक्ता शर्माले कोइरालासँग कुराकानी गरेको बताए।

‘प्रशिक्षण रोक्नु भन्ने कुरा भएको छैन। बरू प्रवक्ताले चिकित्सक पनि भएको हुनाले कोइरालालाई कोरोनाभाइरस सचेतनाबारे बोलिदिन पनि आग्रह गर्नुभएको छ,’ गोरखामा रहेका थपलियाले सेतोपाटीसँग भने। कोइराला लामो समयदेखि जिल्ला दौडाहमा छन्। उनी १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुने चर्चा छ। कोइराला धनुषा, सिराह, पोखरा हुँदै गोरखाको कार्यक्रममा पुगेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *