प्राधिकरणले भन्यो ‘चैत्रमा जति रकम उठेको थियो, बैशाखमा पनि त्यति नै तिर्नु’

नेपाल विद्युत प्राधिकरणका घरायसी ग्राहकहरुले चैत्र महिनामा उठेको बिलको आधारमा बैशाख महिनाको पैसा तिर्नु पर्ने भएको छ । लकडाउनको कारण मिटर रिड गर्न जान नसकिएको बताउदै प्राधिकरणले चैत्रको बिल अनुसार बैशाखको रकम असुल गर्ने जनाएको हो ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले घरायसी ग्राहकको हकमा चैत्र महिनाको बिल अनुसार बैशाखको बिलिङ गरिने बताएका हुन् । उनले सम्भव हुने ग्राहकहरुलाई अनलाइन मार्फत रकम भुक्तानी गर्न आग्रह गरेका छन् । प्राधिकरणले सुरु गरेको अनलाइन बिलिङको वेबसाइट बैशाख महिनाको बिल पनि देखिन थालिसकेको छ । एक पटक अनलाइन सेवा प्रयोग गरेकाले चैत्र महिनाको बिल हेर्न सक्ने छन् । घटी वा बढी उठेको भए पछि मिलान गरिने प्राधिकरणले जनाएको छ ।

त्यस्तै रकम भुक्तानी गर्न सकिने माध्यमहरु ईसेवा, खल्ती लगायतका वेबसाइटमा पनि ग्राहकले आफ्नो विवरण राखी कति रकम उठेको छ हेर्न सक्ने छन् । अहिले देखिने रकम बिजुली खपतको आधारमा देखिएको रकम रहेको र यसमा सरकारले दिने छुट नकटाईएको उपकार्यकारी निर्देशक न्यौपानेले बताए । उनका अनुसार ग्राहकले रकम तिर्ने बेलामा मिति अनुसार छुट रकम सहुलियत हुने छ । उनले भने ‘ग्राहकले कुन मितिमा रकम तिर्छ, टुंगो हुदैन, त्यहि कारण रकम तिर्ने बेलामा मिति अनुसार छुट प्रदान गरिने छ’ ।

सरकारले पछिल्लो पटक मासिक १५० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई २५ प्रतिशत छुट र मासिक २५० युनिटसम्म विद्युत खपत गर्ने ग्रार्हस्थ ग्राहकलाई लकडाउन अवधिभर विद्युत महसुलमा १५ प्रतिशत छुट दिने ब्यबस्था मिलाउन गर्न प्राधिकरणलाई निर्देशन दिएको छ।

हाल प्राधिकरणका ग्राहकसँग ३ प्रकारका मिटर छन् । घरायसी ग्राहकलाई यस्तो ब्यबस्था गरिएको भए पनि थ्री फेज ग्राहकहरुको हकमा भने उनीहरुले भने अनुसार र प्राधिकरण आफैले पनि मिटर रिड गरिरहेको उपकार्यकारी निर्देशक न्यौपानेले बताए । टिओडि मिटरका ग्राहकको भने अनलाइन बाटै नै स्वत मिटर रिड हुने ब्यबस्था प्राधिकरणले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *