फेरि रोयो रोल्पा

रोल्पा – काठमाण्डौ ईट्टाभट्टामा मजदुरी गर्ने लालबहादुर खत्री १४ दिन क्वारेन्टाइन बसेर बिहिवार मात्रै घर आएका थिए। महिनौपछि घर आएका उनको छोराछोरीसंग सुकुनले रात बिताउने सपना बम बिस्फोटले एकैछिनमा सँधैका लागि चकनाचुर पारि दियोे।

गोठालो गएका छोरा र छोरी घरमा आउने आशमा पर्खि बसेका खत्रीलाई ठूलो स्वरमा पड्किएको आवाजले खेततिर दौडायो। वरपरका गाउँले एकै साथ आवाज आएतिर दौडिए। केहिबेरमा लालबहादुरले ११ बर्षिया छोरी बिमला र ५ बर्षे छोरा बिजयको बिभत्स शव भेटाए।

खेतमा पुगेर अर्धचेत बनेका खत्रीले आशु बगाउदै छोरा र छोरीको रक्त्तीमुसल लाश हेरिमात्र रहे। घटनास्थल पुगेका गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीका अनुसार बिमलाले सम्भवतः भाईलाई बोकेकी थिइन्। ‘दिदीको काधमै थियो बिजय।’ बाख्रा चराउन गएका ४ कलिला बालबालिकाको कोमल शरीर छरपस्ट थियो।

लालबहादुरसंगै उहि छिमेका १४ बर्षिय नोखिराम डागीका परिवार पनि बिक्षिप्त अबस्थामा थिए। उता मावली आएका १३ वर्षिय गौरव नेपालीको शव पनि बिभत्स रुपमा लडेको थियो। गौरबका बुवा मजदुरीका लागि भारतमा छन्।

सिमसिम परेको पानी बढ्दै थियो अनि रात छिप्पीदै। छेउमा अर्को ठूलो बम भएका कारण उनीहरुले आफ्ना सन्तानको शव छुन त के कपडाले छोप्न पनि पाएनन्। बिस्तारै रात छिप्पीएसंगै पानी पनि बेजोडले पर्न थाल्यो। वरिपरि प्रहरीको घेरासंगै गाउँलेहरु रातभर रुङेर बसे। ‘सुनपानी खुवाउने त परै जावस बिचरा बच्चाहरुको लासमा कात्रो समेत राख्न पाइएन।’ एक स्थानीयले भने ‘रातै भरि आकास र आँखाको पानी बगेर उज्यालो भयो।’

मृतक बालक गौरव नेपालीको मंगलवार कक्षा ६ को रिजल्ट आएको थियो। बार्षिक परीक्षा पास भएको खुसीमा उनी मामा घरमा आएका थिए तर उनको ७ कक्षा पढ्ने रहर बिस्फोटसंगै उडेर गयो। ‘गौरव हाम्रो विद्यालयको राम्रो बिद्यार्थी थिए। सधै प्रथम श्रेणीमा पास हुन्थे तर उनका जीबनलीला नै सकियो।’ शिक्षक मनिराम घर्तीले भने ‘आश लाग्दो बिद्यार्थी गुमाएका छौ।’ शिशुु कक्षामा पढ्ने भाई बिजयलाई बोकेकी बिमलाले ५ कक्षाको र नोखिराम ७ कक्षाको रिजल्ट कुरेर बसेका थिए।

बाख्रा गोठाला गएका त्रिबेणी गाउँपालिका ७ गैरीगाउँका एउटै टोलका ४ जना बालबालिकाले बिहिवार बेलुली ६ बजेतिर बेबारीसे बम बिस्फोटमा ज्यान गुमाए। हिजो रोल्पामा धेरै रातहरु रोएका थिए। १० बर्षसम्म चलेको कहाली लाग्दो द्वन्द र त्यसका बाछिटाहरुले रोल्पा र रोल्पालीलाई भरपेट रुवायो मात्र। बम, बारुद र बन्दुकका डरलाग्दा आवाजले भरिएका कानहरु ठूलो गुञ्जनले आज पनि झस्किन्छन्। अलि समय भएको थियो शान्तिको बाटोमा हिडेको तर बिहिवार फेरि रोल्पा रोएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *