फेसबूक संस्थापक मार्क जुकरबर्गले पाए हिन्दू आश्रममा शान्ति

लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म फेसबूकका संस्थापनक मार्क जुकरबर्गको बिहीवार जन्मदिन परेको छ । सन् १९८४ को मे १४ मा जन्मिएका मार्क अहिले एक सफल उद्यमी तथा अर्बपति हुन् ।

उनलाई सफल बनाउन अन्य कुराको अतिरिक्त दुईवटा घटनाको ठूलो योगदान छ । पहिलो भनेको उनका पिताले दिएको पुस्तक हो भने दोस्रो चाहिँ हिन्दू आश्रममा गरेको सत्संग हो । मार्कलाई सानैदेखि कम्प्युटरप्रति लगाव थियो । त्यही लगावका कारण उनी सूचना प्रविधिको क्षेत्रमा अघि बढ्दै गएका हुन् ।

उनी बाल्यकालमै आफ्नो अधिकांश समय कम्प्युटर प्रोग्रामिङ गरेर बस्थे । त्यसै क्रममा उनका पिताले उनलाई सीप्लसप्लसप्लसको किताब दिए । त्यसले उनलाई कम्प्युटर प्रोग्रामिङमा झनै डुब्न प्रेरित गर्‍यो । अनि उनको प्रगतिको बाटो पनि त्यसैले खोल्यो ।

मार्कले फेसबूक बनाउनुअघि कलेज पढ्दाताक फेसमास नामक वेबसाइट शुरू गरेका थिए । त्यसमार्फत उनले को बढी आकर्षक छ भनी देखाउन खोजेका थिए । शुरूमा उनले केही युवक र युवतीको तस्वीर राखे । तर आफ्नो तस्वीर अनुमतिविना नै राखेको भन्दै केहीले आपत्ति जनाएपछि विवाद पनि भयो ।

तर फेसमासले नै मार्कलाई फेसबूक बनाउने प्रेरणा दियो । सन् २००४ मा हार्वर्ड विश्वविद्यालयमा पढ्दै गर्दा मार्कले साथीहरूसँग मिलेर द फेसबूक बनाए । पछि द हटाएर फेसबूक मात्र नाम राखियो । कार्कले सामाजिक सञ्जाल नेटवर्क अर्काको आइडिया चोरेर बनाएको आरोप पनि लाग्यो । पछि ठूलो रकम दिएर यस विषयलाई सामसुम पारिएको थियो ।

फेसबूकलाई सन् २००८ को आर्थिक मन्दीले निकै अप्ठ्यारो पारेको थियो र कम्पनी बिक्ने स्थितिमा पुग्न लागेको थियो । तनावमा परेका मार्कलाई एप्पलका सीईओ स्टिभ जब्सले भारत गएर केही समय बिताउन सल्लाह दिए ।

त्यसपछि मार्क सन् २००८ मा उत्तराखण्डमा रहेको नीम करौली बाबाको आश्रम पुगे । त्यहाँ एक महिना आध्यात्मिक सत्संग गरेर बस्दा उनले मानिसहरूलाई एकअर्कासँग जोड्नु नै सबभन्दा सुखद काम हो भन्ने कुरामा दृढ बने ।

नैनीतालबाट ३८ किलोमिटर पर रहेको काञ्ची आश्रममा मार्क बसेका थिए । बाबा नीम करोलीलाई हनुमानजीको अवतार मानिन्छ र आश्रमको प्रमुख मन्दिर पनि हनुमानजीकै हो ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *