बत्ती जान थाल्यो नेट काटिनबाट जोगिन इन्भर्टर वा यूपीएस जडान गर्नुस् : नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमले आफूले उपलब्ध गराइरहेको एफटीटीएच सेवामा विद्युत आपूर्ति बन्द भएको समयमा पनि भ्वाइस सेवा अवरुद्ध हुन नदिन राउटर यूपीएस÷एडाप्टर प्रयोग गर्न सकिने बताएको छ । विद्युत् आपूर्ति अवरुद्ध भएको समयमा एफटीटीएचको भ्वाइस सेवा अवरुद्ध हुन जाने भएकाले यूपीएस वा एडेप्टर प्रयोग गर्न उपयुक्त रहेको टेलिकमले जनाएको छ ।

अहिले इन्भर्टरको फुल ब्याकअप भएका घर तथा कार्यालय बाहेक अन्य स्थानमा भ्वाइस सेवा प्रयोगमा असुविधा उत्पन्न भइरहेको छ । टेलिकमले भनेको छ, “हाल बजारमा सानो खालको राउटर यूपीएस वा एडेप्टरसमेत सहज रुपमा उपलब्ध भएको हुनाले ग्राहकहरुले आफ्नो सुविधाका लागि यस्ता डिभाइस प्रयोग गर्नु उपयुक्त हुने देखिन्छ ।”

नेपाल टेलिकमले परम्परागत तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई एफटीटीएच अर्थात फाइबर टु द होम सेवाले विस्थापित गरी भ्वाइस तथा डाटा सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले निकट भविष्यमै यही सेवामार्फत टेलिभिजन सुविधासमेत उपलब्ध गराउने तयारी गरिरहेको छ ।

राउटर यूपीएस जस्ता साना डिभाइस विभिन्न क्षमताका हुन्छन् र विद्युत नभएको समयमा केही घण्टासम्म सेवाको निरन्तरताका लागि उपयुक्त हुन्छन् । एडेप्टरमा भने त्यसमा भएको ब्याट्री विद्युत् उपलब्ध भएको समयमा आफैं चार्ज हुन्छ र विद्युत नभएको समयमा त्यही ब्याकअप पावर खपत हुन्छ । कम्पनीले वितरण गरिरहेको एफटीटीएच सेवाका लागि १२ भोल्ट र एक एम्पियर क्षमताको एडेप्टर उपयुक्त हुने भएकाले ग्राहकवर्गले आफ्नो आवश्यकता तथा सहजता अनुसार बजार वा अनलाइनबाट खरिद गरी प्रयोग गर्न उपयुक्त हुने देखिन्छ ।

हाल कम्पनीले एफटीटीएच सेवामा विभिन्न प्याकेजहरु आकर्षक दरमा उपलब्ध गराइरहेको छ । प्राविधिक रुपले सम्भव हुने स्थानहरुमा पुरानो ल्याण्डलाइन फोनलाई एफटीटीएच प्याकेजअन्तर्गत एक थान वाइफाई राउटर (सीपीई) र एक सय मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध गराई नयाँ एफटीटीएच जडान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *