बाटाघाटाे अलपत्र परेका पैदल यात्रुको सहायताको लागि जुटे सवारी चालक

रौतहट, ८ वैशाख । सरकारले कोरोना भाइरस (कोभिड –१९) रोकथामको लागि लकडाउन गरेको एक महिना पुग्न थालिसक्यो । यो अवस्थामा यातायात लगायत हरेक क्षेत्रहरु ठप्पप्रायः छन् ।

यहीँ क्रममा दैनिक सयौँको संख्यामा पैदल यात्रुहरु विभिन्न स्थानबाट हिडेरै आफ्नो गन्तव्यमा पुगिरहेका छन् । यस्ता पैदल यात्रुहरुमा अधिकांश दैनिक ज्यालादारी गर्ने मजदुर अनि श्रमिक वर्गका हुन्छन् । उनीहरु आफुले गर्दै आएको काम बन्द भएपछि भोकभोकै मर्ने अवस्था सृजना भएपछि हिडेरै आफ्नो घर फर्कन वाध्य भएका छन् ।

यसरी पैदल यात्रुहरुको व्यवस्थापन र सुरक्षित गन्तव्यमा पुर्याउन राज्यले कुनैपनि ठोस निति र योजना ल्याएको छैन् । बरु विभिन्न स्थानमा स्थानिय सर्वसाधरणहरुले उनीहरुलाई सकेको मद्धत र उद्धार गरिरहेका छन् ।

जिल्लाको उत्तरी भेगमा रहेको चन्द्रपुर नगरपालिका वडा नम्बर २ का सवारी चालकहरु पनि यस्ता पैदल यात्रुहरुलाई सहयोग गर्न लागिपरेका छन् । सयौँ किलोमिटर हिडेर घर फर्कन लागेका पैदल यात्रुहरुको पिडा न्यूज २४ लगायत विभिन्न सञ्चारमाध्यमहरुमा देखेपछि उनीहरुलाई सहयोग गर्न सवारी चालकहरुले सुरुवात गरेका छन् । सवारी चालकहरु राजु परियार, नरराज आचार्य, राहुल घिसिङ, रुद्र मानन्धर लगायतले स्वतः स्र्फुत रुपमा पैसा उठाएर पूर्व–पश्चिम राजमार्ग अन्र्तगतको चन्द्रनिगाहपुर सडकखण्ड हुँदै विभिन्न गन्तव्यमा हिडेका पैदल यात्रुहरुका लागि चाउचाउ, चिउरा, पानीको व्यवस्था गरेका छन् ।

त्यति मात्र होइन उनीहरुले प्रहरीको सहयोगमा त्यस्ता पैदल यात्रुहरुलाई राजमार्गमा चलेका विभिन्न विभिन्न सवारी साधनहरुमा चढाएर गन्तव्यमा पुर्याउन मद्धत गरिरहेका छन् । उनीहरुले हिडेर आएका यात्रीहरुलाई खाजापानी दिएर केही बेर सुस्ताउन आग्रह गर्छन् अनि प्रहरीसँगको सहकार्यमा उनीहरुले सो राजमार्ग हुँदै चलिरहेका सवारी साधनका आफुजस्तै चालक साथीहरुलाई आग्रह गरेर उनीहरुलाई गन्तव्य पुग्न मद्धत गर्छन् ।

‘हामीले सकेसम्म हिडेर आउनुहुने यात्रुहरुलाई गाडीमा चढाएर पठाएका छाैँ,’ सवारी चालक राजु परियार भन्छन्, ‘एउटै लाइनमा काम गर्ने भएकाले धेरै चिनेका साथीहरुको ट्रक आइरहेको हुन्छ । हामीले उनीहरुलाई भनेर पैदल यात्रुहरुलाई उनीहरुको गन्तव्यसम्म पुर्याउन पनि मद्दत गरिरहेका छौँ ।’ आफूहरु पनि श्रमिक भएकाले श्रमिकको पीडा बुझेर यो अभियानको सुरुवात गरेको उनको भनाइ छ ।

अर्का सवारी चालक नरराज आर्चायले स्थानिय प्रशासनले साथ दिएमा हिडेर आएका यात्रुहरुलाई उनीहरुको गन्तव्यसम्म पुर्याउन आफुहरुले मद्धत गर्नसक्ने बताउँछन् । उनले आफुहरुको ट्रक पनि अत्यावश्यक सामाग्रीहरु ढुवानीमा रहेकाले प्रशासनले साथ दिएमा आफूहरुकै ट्रकमा हालेर उनीहरुलाई गन्तव्यमा पुर्याउन तयार रहेका बताए । उनीहरुलाई ट्रकमा यात्रु बोक्दा प्रहरी कारवाही गर्ने वा दुःख दिने हो कि भन्ने डर रहेको छ ।

‘हाम्रा देशैभरका ट्रक चालकहरुसँग नेटवर्क छ’ उनले भने, ‘उनीहरुसँग सहकार्य गरेर यो राजमार्ग हुँदै विभिन्न स्थान जाने खाली ट्रकमा हालेर यात्रुहरुलाई उनीहरुको गन्तव्यमा पुर्याउन मद्दत गर्नसक्छौँ । यसमा प्रशासनले पनि हामीलाई साथ दिनुपर्छ ।’ उनले लकडाउन अवधिभर यो अभियान जारी राख्ने बताउँदै सबैले सकेको साथ दिन आग्रह पनि गरे ।

यसरी सवारी चालकहरुले सुरुवात गरेको यो अभियानमा अहिले स्थानियहरु पनि जोडिएका छन् । उनीहरुले पनि चालकहरुको यो अभियानमा सहभागिता जनाउन पानी, चाउचाउ, चिउराहरु सहयोग गर्न सुरु गरेका छन् । कतिले नजिकको गन्तव्य सम्म जानका लागि सवारी साधनको पनि व्यवस्था गरिदिन थालेका छन् । दुःख परेको बेला मानिसले मानिसलाई सहयोग गर्नुपर्छ भन्दै आफुहरु पनि यो अभियान जोडिएको स्थानिय विक्रम लामाले बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *