बारीबाटै हारालुछ मुस्ताङको सेतो आलु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको लोकल सेतो आलु मुलुकका विभिन्न स्थानहरूमा प्रख्यात छ । यहाँको लोकल आलु भनेपछि एक सिजनमा यसको उपयोग गर्नेको बाक्लो जमात समेत हुन्छ ।त्यसैले पनि वर्षमा एक सिजन मात्र उत्पादन हुने मुस्ताङको लोकल सेतो आलुले धेरैको मन जितिसकेको छ । अहिले मुस्ताङको खासगरी सेतो लोकल आलु मार्फा, स्याङ, ठिनी, कागबेनी, मुक्तिनाथ, झारकोट, पाक्लिङ, फल्याक, तिरी, पुराङ (पुरानो मुक्तिनाथ) छोङ्गुर, झोङ, छुसाङ लगायतका दर्जनौ स्थानहरूमा उत्पादन हुन्छ ।

मुस्ताङको यिनै गाउँठाउँमा उत्पादन भएको आलुले देशका विभिन्न शहरमा राम्रो भाउ पाएको छ । तर, आलु बिक्री वितरणको सुरुवात खेतबाटै हुन थालेपछि कृषकहरु हिउँदमा के खाने र बिउको लागि के राख्ने भन्नेमा दुविधा सिर्जना भएको बताउँछन् ।यद्यपि मुस्ताङमा उत्पादन हुने आलुले अहिले देशका विभिन्न शहरहरूमा राम्रो बजार पाउन थालेपछि मुस्ताङी कृषकहरु निकै हर्षित छन् । तर, अर्कोतर्फ सहज रूपमा सडक सञ्जाल सूचारु नहुँदा यहाँका आलु र स्याउ व्यापारीहरुले खेप्नुपरेको समस्याले भने अर्को रुप लिन थालेको छ ।

यतिबेला मुस्ताङमै सेतो आलु पाउनका निकै सकस भइसकेको अवस्था छ । गत वर्षहरुमा भदौको अन्तिमबाट खन्न सुरु भएको आलु कार्तिक महिनाभरी खरिद बिक्री हुने गर्दथ्यो । अझ देशभरीका पर्यटकहरुले कोसेलीको रूपमा लैजाने आलु यसवर्ष मुलुककै अन्य जिल्लाहरुमा भनेजस्तो उत्पादन नभएपछि मुस्ताङको आलुले राम्रो बजार पाएको हो ।मुस्ताङका अधिकांश कृषकहरु कृषि पेसामै निर्भर रहेका छन् । तर, यसवर्ष मुक्तिनाथ र जोमसोम आसपासका गाउँमा आलु कम उत्पादन भएको छ । कृषकहरुको खेतमा आलु उत्पादन कम भएपछि दुई सातामै मुस्ताङको आलु सकिएको व्यापारीहरु बताउछन् ।

गत वर्षहरुमा आलु उत्पादन गरेर बजारसम्म पु¥याउन गाह्रो थियो । उनीहरूका अनुसार पहिले आलु किन्न व्यापारीहरु असोज महिनामा मात्रै आउथे । तर, यो वर्ष कतिपय कृषकहरुले अत्तालिएर साउन महिनाको सुरुवातबाटै सस्तो भाउमा आलु बिक्री गरेको बताउछन् ।बर्सेनी आलु र स्याउ बिक्री गर्ने मुस्ताङका व्यापारी गोपाल पुनका अनुसार यस बर्ष आलु उत्पादनमा ह्रास आएको भन्दा पनि अन्य जिल्लाहरूमा पर्याप्त उत्पादन नभएको हो । पुनले भने, ‘गत बर्षहरुमा बाहिरी जिल्लाबाट आउने व्यापारी र मुस्ताङका सीमित व्यापारीले मात्रै खरिदबिक्री गर्थे । त्यसैले खासै समस्या हुने थिएन ।’

पहिले आलु र स्याउ बगैंचामै मोलतोल हुन्थ्यो । समय आएपछि मात्र देशका बिभिन्न सहरमा पनि बिक्री हुन थालेको हो । यस बर्ष लामो समय लक डाउनका र देशभर भरी वर्षा हुँदा आलु उत्पादन हुने प्रमुख जिल्लाहरूमा समस्या देखिएको पुनले बताए ।उनले भने, ‘रोल्पा, बागलुङको काठेखोला र भारताबाट आलु नआउँदा देशभर आलुको समस्या देखिएको हो ।’‘खासगरी बेनी, बागलुङ र कुश्मालगायतका जिल्लामा म्याग्दीको सिख घाराको आलुले पुग्थ्यो । अन्य जिल्लामा भने भारत र देशका अन्य जिल्लाबाट होलसेल मूल्यमा नै आलु पाइन्थ्यो’, पुनले भने ।

उनले थपे, ‘अहिले लकडाउन र वर्षा धेरै भएकाले पनि आलु उत्पादनमा ह्रास आएको हो । एकातिर भारतबाट आलु नआउने र अन्य जिल्लामा आलु पर्याप्त नपाउनाले मुस्ताङको लोकल आलुले भाउ पाएको छ ।’बजारमा आलु नभएपछि अहिले मुस्ताङको आलुको भाउमा समेत धेरै उतारचढाव आएको छ । ब्यापारी पुनका अनुसार, सामान्यतय मुस्ताङमा लोकल आलुलाई यतिबेला पाथीको १ सय ६० देखि १ सय ८० सम्म बिक्री वितरण भैरहेको छ । सोही आलु गत वर्षहरुमा पाथीको १ सय ४० देखि १ सय ४५ रुपैयाँसम्म पर्दथ्यो ।

सेतो लोलक आलुको लागि प्रख्यात मानिएको अर्को ठाउँ हो, मुस्ताङको धार्मिक स्थल मुक्तिनाथ । यहाँ उत्पादन हुने सेतो लोकल आलुले हरेक बर्ष आन्तरिक तथा बाह्य पर्यटकको मन जित्दै आएको थियो ।यहाँ उत्पादन हुने आलु बाहिरी ब्यापारीलाई कमै मात्र बिक्री हुन्थ्यो । बाँकी सबै मुक्तिनाथ आसपासका होटेल तथा रेस्टुरेन्टहरुमा बिक्री हुन्थ्यो । आफ्ना आफन्तनहरुलाई कोसेलीको रूपमा लैजान मिल्ने सेतो लोकल आलुले धेरैको मन जितेको थियो । तर, यो वर्ष भने कोरोना महामारीका कारण त्यसो हुन सकेन ।लामो समय लकडाउन भएपछि आलु बिक्री हुँदैन कि भन्ने डर स्थानीयमा थियो ।

तर, सोचेको भन्दा फरक परिस्थिति सिर्जना भएपछि मुक्तिनाथका कृषकहरु दंग छन् । आलु बिक्री हुन्न कि भनेर डराएका मुक्तिनाथका कृषकहरु अहिले आलु खेतबाटै बिक्री भएपछि अर्को वर्षको लागि नयाँ तरिकाले आलु उत्पादन गर्ने सोचमा अहिलेबाटै जुटेका छन् ।यो वर्ष आलुले राम्रो मूल्य पाएपनि यहाँका कृषकहरु हौसिएका छन् । एक सिजनमा आफ्नो होटलमा मात्रै ७ सय पाथी भन्दा बढी आलु खरिद गर्नुपर्ने मुक्तिनाथका सफल होटल व्यवसायी सुरज गुरुङले अहिले आलु कहाँ किन्ने हो भन्नेमा कुनै दुविधा नभएको बताए ।

किनभने कोरोनाको महामारीमा पर्यटकहरु मुस्ताङ घुम्न नआउने भएपछि यस झन्झटबाट मुक्त भएको उनले बताए । उनले भने, ‘गत सालहरुमा होटलकै लागि भनेर आलु जोहो गर्नुपर्ने अवस्था थियो । अब यस बर्ष आफ्नो परिवारलाई कति चाहिने हो त्यति मात्रै खोजे पुग्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *