बालबालिकामा देखिएकोे ‘अज्ञात रोग’ कोभिड–१९ सँग सम्बन्धित हुनसक्ने

अमेरिकाको न्युर्योक शहरका स्वास्थकर्मीहरुले सीमित संख्याका बालबालिकामा दुर्लभ खाले नयाँ रोगको संक्रमण देखिएको जनाएका छन् । यसअघि यस्तै अवस्था बेलायत, इटाली र स्पेनलगायत युरोपेली देशमा पनि देखिएको थियो । त्यसयता, विश्व स्वास्थ संगठनले गत साता यस्तो इन्फ्लाम्मेटरी अवस्था र कोभिड–१९ को सम्भाव्य सम्बन्धबारे अध्ययन भइरहेको जानकारी दिएकोे थियो ।

अहिले अमेरिकाको न्युर्योक शहरमा भर्ना भएका २ देखि १५ वर्ष उमेर समूहका कम्तिमा १५ बालबालिका यस्तो इन्फ्लाम्मेटरी अवस्थाबाट प्रताडित छन् । बालबालिकाको रक्तनलीमा देखिने यो दुर्लभ डिसअर्डरको लक्षण कावासाकी रोगसँग मिल्ने चिकित्सकहरुले जनाएका छन् । यस रोग लागेपछि ज्वरो आउने, छालामा खटिरा आउने र चिलाउनेलगायत अन्य धेरै समस्या देखिन्छ ।

‘बेलायतका अधिकारीहरुले भर्खरै जानकारी दिएको मल्टी सिस्टम इन्फ्लाम्मेटरी सिन्ड्रोम न्युर्योक शहर र अमेरिकाका अन्य स्थानमा पनि बालबालिका र युवा वयस्कमा देखिएको छ,’ न्युर्योक शहरको स्वास्थ विभागअन्तर्गत रोग रोकथाम डिभिजनका सहायक कमिस्नर डेमेट्री डास्कााकिसले भने । डास्कालाकिसका अनुसार यस रोग लागेपछि बालबालिकाले निरन्तर ज्वरोको अनुभव गर्छन् । त्यस्तै, आधाभन्दा बढीमा छाला चिलाउने, दुखाई हुने, वान्ता गर्ने, झाडापखाला लाग्ने र केहीमा स्वासप्रश्वास सम्बन्धी समस्या पनि देखिएको छ । यद्यपी अहिलेसम्म यस रोगबारे पूर्ण रुपमा केही थाहा नभएको उनले बताए ।

यस्तो अवस्थापछि अस्पताल आएका बिरामीलाई आईसियुमा भर्ना गरिएको थियो । उनीहरुलाई कार्डियाक वा रेस्पिरेटरी सर्पोट चाहिएको थियो । ५ जनालाई त भ्यान्टिलेसनकै आवश्यकता प-यो ।

यी बालबालिकाहरु अप्रिल १७ देखि मे १ सम्म अस्पताल भर्ना भएका थिए । भर्ना भएका १५ जना बालबालिकामध्ये ४ जना कोभीड १९ पोजेटिभ पाइएका छन् । ११ जनामा भने कोभीड–१९ संक्रमण देखिएको छैन । यद्यपी, यसमध्ये ६ जनामा कोरोना भाइरसको एन्टीबडीज फेला परेको छ, जसको अर्थ उनीहरु पहिले संक्रमित भएको हुनसक्छ ।

गत महिना बेलायतको बाल रोग इन्टेन्सिभ केयर समाजले यसर रोगबारे सतर्क रहन डाक्टरहरुको ध्यानाकर्षण गराएको थियो । ‘इन्टेन्सिभ केयर आवश्यक पर्ने मल्टि–सिस्टम इन्फ्लाम्मेटरी अवस्था बालबालिकाहरुमा देखिने क्रम बढ्दो छ,’ ध्यानाकर्षण पत्रमा लेखिएको थियो । यस स्वास्थय समुहले कोभीड–१९ सँग सम्बन्धित सिन्ड्रोम बालबालिकामा बढेको हुनसक्ने जनाएको थियो । ‘ वा त्यहाँ अर्को अज्ञात विषालु रोग यी घटनामा देखिएको हुनसक्छ,’ विज्ञप्तीमा भनिएको थियो । यो रोग कावासाकी जस्तै रहेको पनि विज्ञप्तीमा जनाइएको थियो । त्यस्तै अधिकारीहरुले केही बालबालिकामा कोभीड–१९ देखिएको र केहीमा नदेखिएको जनाएका थिए । स्पेन र इटलीका स्वास्थ अधिकारीले पनि यसअघि यस्तै चेतावनी दिएका थिए । इटालियन फिजिसियनहरुले कावासाकी रोगका बिरामीको संख्या अस्वभाविक रुपमा बढेको जनाएका थिए । बिरामी बालबालिकामध्ये केहीमा कोभीड–१९ देखिएको र केहीमा नदेखिएको उनीहरुले जनाएका थिए ।

न्युर्योक शहरका बालरोग विशेषज्ञ डायन हेसले सिबिएस न्युजसँग गत साता कुराकानी गर्दै बेलायतको घटनाबाट आफु अचम्मित नभएको बताएकी थिइन् । उनले बिरामीले कुनै किसिमको भाइरल इन्फेक्सन महसुस गरेको हप्तादेखि महिनादिनसम्म यस्तो कावासाकी रोग लाग्नसक्ने जनाएकी थिइन् ।

तर डाक्टरहरुले कोभिड–१९ संक्रमण अनुभव गरेका बालबालिकामा हल्का लक्षण देखिने वा लक्षण नै नदेखिन पनि सक्ने बताएका छन् । ‘अहिलेको अवस्थामा बालबालिका गम्भीर बिरामी पर्नु धेरै धेरै नै दुर्लभ घटना हो,’ बोस्टन चिल्ड्रेन्स अस्पतालस्थित क्रिटिकल केयरका प्रमुख जेफर बर्नस्ले वासिङटन पोस्टसँग भने ।

स्रोतः न्युयोर्क टाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *