बाल्टिनमा डुबेको भाइलाई बचाउन सकिनन् सेरिनाले

बारा : सेरिना माझी तीन वर्षकी भइन्। उसको एउटा भाइ पनि छ। उनी भाइसँग खुब खेल्छिन्। सँगै सुत्छिन्, सँगै उठ्छिन्। भाइसँगै खाना खान्छिन्। मरिहत्ते गर्छिन् भाइ भनेपछि।

आइतबार साँझ खाना खाने बेलामा डेढ वर्षको भाइ साहिललाई उनले आफ्नो भागबाट खाना थपिदिई। हजुरबुवा सोमबहादुरले खाना खाइसकेका नातिनातिनालाई धारामा लगेर जुठो हात धोइदिए।

धारोमा कालो ड्रम र २० लिटर पानी अट्ने प्लाष्टिकको बाल्टिन राखिएको छ। धारो सुकेको बेला त्यही पानी भैंसीलाई खुवाउन राखिएको हो। भान्साको लागि सागपात पखाल्नु परे पनि त्यही बाल्टिनको पानी प्रयोग हुन्छ।

लकडाउनले गर्दा तीन पुस्ता सँगै बस्न पाएका छन्। सेरिना, भाइ साहिल उनका बुवाआमा छुट्टै बसे पनि यो बेला खाना खान हजुरबुवाकै घरमा जम्मा हुन्छन्।भान्सामा सेरिनाकी ममी अस्मिता खाना पकाउने र पस्कने काममा व्यस्त थिइन्। पूर्वपट्टिको काठको घरमा खाना खान कुर्सी राखिएका छन्। कुर्सीमा सेरिनाका बाबा र काका अनि ठूलोबुवा पनि छन्।

छोराछोरीको खाना खाने क्रम सकिएपछि सेरिनाका बुवा सुरेश पनि बुबा र दाजुसँग गफिँदै खाना खाँदै थिए। सबै जना जम्मा भएर खान खाने माहोल रमाइलो हुँदै थियो। आमाबुवासँग भन्दा सेरिना र भाइ साहिल हजुरबुवा हजुरआमासँग बढी रमाउँथे।

त्यतिकैमा साहिल धारोतिरै पानी खेल्न पुग्छ। सेरिना पनि बाबा भएतिर अल्मिलिरहेकी थिइन्। एकैछिनमा साहिल नदेखेपछि यताउति हेर्दै सेरिना धारोतिर पुग्छिन्। धारोमा पनि भाइलाई देखेर उनी छक्क पर्छिन्।

एकैछिनमा साहिल बाल्टिनभित्र टाउको र खुट्टा माथि परेको अवस्थामा भेटिन्छ। भाइलाई सेरिनाले साहिललाई बाल्टिनबाट बाहिर निकालिन्। सेरिना चिच्याई, ‘ममी भाइ बाल्टिनभित्र रहेछ, मैले निकालें।’ उसले भाइलाई बोलाई, तर सहिल बोलेन। सेरिना आत्तिँदै भान्साकोठामा पुगिन्। ममीलाई भाइ लडेको छ, बोल्दैन हेर्नू न भन्दै सुनाई।

छोरो लडेको खबरले सेरिनाकी आमा अस्मिता आत्तिँदै दौडिइन्। धारोको पक्की भुइँमा साहिल उत्तानो परेको लडिरहेको थियो। ममीलाई उसले घटनाबारे सुनाई, ‘बाल्टिनबाट मैले निकालेको ममी।’
अस्मिताले छोरो अंगालोमा च्यापेर कान्छा देवर सुत्ने कोठामा पु¥याइन्। ‘कोठासम्म पुर्‍याएको मलाई थाहा छ,’ अस्मिताले भक्कानिँदै भनिन्, ‘त्यसपछि के भयो मलाई थाहा छैन। छोरा अचेत अवस्थामा देखेपछि अस्मिताले पनि होस गुमाई, अचेत भएर त्यहीँ लडिन्।

गाँस छाडेर बुवा सुरेश त्यतै दौडिए। हारगुहार गर्दै मोटरसाइकलमा राखेर निजगढ ९ को समुदायमा आधारित प्रसूति गृह पु¥याइयो। डाक्टरले पेटबाट पानी निकाले। तर अबेर भइसकेको थियो। साहिललाई डाक्टरले मृत घोषित गरे।

गएको कात्तिकमा साहिल जन्मिएको वर्ष दिन मनाएका थिए परिवारले। अस्मिताले भक्कानिँदै भनिन्, ‘अब मेरो छोरो रहेन।’ मृतक बालकको शव परीक्षणका लागि चन्द्रपुर अस्पताल रौतहटमा पठाइएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकाश थपलियाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *