बिक्री नभएपछि २३ लाखको केरा खाल्टोमा हालेर नष्ट

लकडाउनको कारण बिक्री गर्न नपाएपछि कञ्चनपुरको वेदकोट नगरपालिका– ९ लालपुरको घटाल फ्रुट चेम्बरले २३ लाख रुपैयाँबराबरको केरा नष्ट गरेको छ। चेम्बरमा पकाएर तयार पारिएको केरा लकडाउनको कारण अन्य जिल्लामा लैजान नपाएपछि खाल्टोमा पुरेर नष्ट गरिएको सञ्चालक चन्दन गुप्ताले बताए। ‘किसानबाट खरिद गरेर पकाएको केरा बजारमा बिक्री गर्न नपाएपछि नष्ट गरेको हुँ,’ उनले भने।

केरा बिक्रीका लागि बाहिरी जिल्लामा लैजान अनुमति मागे पनि नपाएको उनको भनाइ छ। ‘बाहिर लैजानको लागि धेरै पहल गर्यौं, तर कसैले अनुमति दिएन,’ उनले भने, ‘अनुमति माग्दामाग्दै केही केरा कुहिएर गयो। अनि बाँकी सबै नष्ट गरिदिएँ ।’

किसानबाट काँचो केरा खरिद गरेर चेम्बरमा पकाएर बेच्ने गरेको उनले बताए। चेम्बरका अर्का सञ्चालक अमित गुप्ताले स्थानीयस्तरमा बजार नपाएको र बाह्य जिल्लामा लैजान नसकिने अवस्था आएपछि नष्ट गरिएको बताए।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले घटाल फ्रुट सेन्टरले केरा बिक्रीका लागि बाह्य जिल्ला लैजान अनुमति मागेको पुष्टि गरे । ‘तर, हामीले लकडाउनको वेला बाह्य जिल्लामा लैजानुभन्दा स्थानीय स्तरमै बिक्री गर्न भने पनि उनीहरूले मानेनन्,’ भट्टले भने, ‘हामीले प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्दा यताको केरा यतै बिक्री गर्न भन्नुभयो। तर, उनीहरूले खै किन हो यो जिल्लामा बिक्री गर्नै मानेनन्।’

कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार जिल्लामा अहिले दुई सय हेक्टर जमिनमा केरा खेती गरिएको छ। कञ्चनपुरमा उत्पादन गरिएको केरा स्वदेशमै खपत हुने गरेको भट्टले बताए।

उनले स्थानीय बजारमा केरा खपत गर्न सकिने भन्दै उत्पादन भएका केरालाई लकडाउनको पालना गर्दै सामाजिक दूरी कायम गरेर उपभोक्तासम्म पुऱ्याउन सकिने दाबी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *