बिचौलियाको मारमा केरा खेति गरेका किसान

चितवन – पोखराकी सुशीला केसी अधिकारीले चितवनको आफ्नो बारीको केरा कोसाको रु तीन हाराहारीमा बिक्री गर्नुहुन्छ तर स्थानीय बजारमा आफूले भने प्रतिकोसा रु १० सम्ममा किन्ने गर्नुभएको छ ।उहाँ मात्र होइन देशभरका किसान र उपभोक्ता बिचौलियाको मारमा छन् । अधिकारीले गुनासो गर्नुभयो, “बिचौलियाको यो मनोमानीको विषयमा तपाइँहरुले कलम चलाइदिनुपर्यो ।” आफूले सस्तोमा बिक्री गर्दा उपभोक्ताले त्यहीअनुसारको मूल्यमा किन्न पाए सन्तोष हुने अधिकारीको भनाइ छ । भरतपुर महानगरपालिका–२६ भगडीमा १० बिघामा उहाँको पौलमी कृषि फार्म छ ।

त्यहाँको चार बिघामा चार हजार घरी केरा बिक्रीयोग्य भएको छ ।आफ्नो बारीबाट व्यापारीले प्रतिकोसा रु तीनमा उठाउने गरेको उहाँ बताउनुहुन्छ । भारतको केरलाबाट झिकाइएको उच्चस्तरको बेर्ना लगाएको उहाँको भनाइ छ । पानीका कारण थप पाँच बिघामा लगाएको केरामध्ये ७५ प्रतिशत नष्ट भएको छ । यो पीडा हुँदाहुँदै बिक्रीयोग्य केराले पनि बजार मूल्य नपाउँदा आफू जस्ता कृषक मारमा परेको उहाँले दुखेसो पोख्नुभयो ।जिल्लाका स्थापित केरा कृषक लक्ष्मण सुवेदी बिचौलियाको मारमा परेको गुनासो गर्नुहुन्छ ।बारीबाट प्रतिकोसा रु तीनदेखि चारमा बिक्री गरेको केरा उपभोक्ताले रु आठसम्म यहीँको बजारमा किन्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

जिल्लाभरमा उहाँको मात्र ७५ बिघामा केराखेती लगाइएको छ । भरतपुरको गौरीगञ्जबाट थोक मूल्यमा उपभोक्तालाई केरा बिक्री गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मण्डी, खुद्रा व्यापारी हुँदै उपभोक्तामा पुग्दा धेरै महँगो भएपछि मैले फार्मबाट पनि खुद्रा बेच्न थालेँ ।” आम कृषक र उपभोक्ता बिचौलियाको मारमा परेको सुवेदीको भनाइ छ । सुवेदी २१ वर्षयता यहाँ धेरै केराखेती गर्ने कृषकका रूपमा परिचित हुनुहुन्छ ।चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घानाथ महतो केरा बारीबाट प्रतिकोसा डेढदेखि चार रुपैयाँसम्ममा बिक्री हुने गरेको भए पनि उपभोक्ताले दोब्बरभन्दा बढी तिरेर किन्नुपर्ने बाध्यता रहेको पीडा पोख्नुहुन्छ ।

“जमानादेखि हामीले पीडा पोख्दै आएका छौँ । कसले सुनिदिने”, उहाँले भन्नुभयो, “दुःख कृषकको तर नाफा बिचौलियालाई मात्र भयो ।” जिल्लामा केराखेती गर्ने कृषकको सङ्ख्या ७०० रहेको छ । तीन हजार बिघाभन्दा बढीमा केराखेती गरिएको छ । एक बिघामा केराखेती गर्न करिब चार लाख खर्च हुन्छ । उहाँका अनुसार एक बिघामा एक हजार ६०० बोट लगाइन्छ । एउटा बोटमा ८० देखि १०० कोसा केरा फल्ने गर्दछ ।अहिले बजारमा लुकीछिपी भारतीय केरा आइरहेकाले यहाँको केरा बिक्री कम भएको कृषक बताउँछन् । देशका विभिन्न जिल्लामा लकडाउन र निषेधाज्ञा हुँदा केराको खपत कम हुँदै गर्दा बिचौलियाको मनोमानी अरु बढेको महतोको भनाइ छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *