बिसिजी खोप लगाएका मुलुकमा कोरोना संक्रमणबाट मृत्युदर १० गुणा कम

बेलायत र अमेरिकी अनुसन्धानकर्ताहरूले बिसिजी (बासिल क्याल्मेट गुएरिन) खोप नलगाउने गरिएका देशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको दर १० गुणा बढी रहेको तथ्य पत्ता लगाएका छन् । एक सय ७८ देशको तथ्यांक विश्लेषणका आधारमा बेलायत र अमेरिकी अनुसन्धानकर्ताहरूले यो निष्कर्ष निकालेका हुन् ।

क्षयरोगविरुद्ध दिइने यो खोप धेरैजसो देशमा सरकारी मापदण्डभित्र समावेश गर्दै अनिवार्य नै गरिएको छ । ती देशहरूमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको दर बिसिजी खोप नलगाइने देशहरूभन्दा झन्डै १० गुणा कम देखिएको हो ।

९ मार्चदेखि २४ मार्चसम्ममा ती एक सय ७८ देशको तथ्यांक विश्लेषण गरिएको थियो । त्यसका आधारमा अनुसन्धानकर्ताले ‘खोप दिइने देशका प्रति १० लाखमा ३८.४ र नलगाइने देशमा प्रति १० लाखमा तीन सय ५८ जनामा संक्रमण’ भएको देखाएका छन् ।

त्यस्तै, खोप लगाइएको मुलुकमा ‘प्रति १० लाख संक्रमितमा मृत्युदर ४.२८ मात्र र नलगाइएको मुलुकमा मृत्युदर प्रति १० लाखमा ४० पाइएको छ । एक सय ७८ मुलुकमध्ये २१ मुलुकमा बिसिजी खोप दिइएको थिएन भने २६ देशको तथ्यांक भने पूर्ण रूपमा मिल्दो देखिएको छैन ।

अध्ययनकर्तामध्येका एक टेक्ससका प्रोफेसर आशिष कमातले यो निष्कर्षपछि भनेका छन्, ‘हामीले बिसिजीको प्रभावबारे अध्ययन गर्दा कोरोना भाइरसबाट संक्रमितमध्ये मृत्युदरमा झन्डै १० गुणा असर परेको देखिएको छ ।’ मेडिकल साइन्सको क्षेत्रमा महत्वपूर्ण मानिने डा. कमात अन्तर्राष्ट्रिय ब्लाडर क्यान्सर संस्थाका अध्यक्षसमेत हुन् ।

केही दिनअघि अस्ट्रेलियामा कोरोना भाइरसविरुद्ध पनि यो खोप प्रभावकारी देखिएको भन्दै चार सयजनामा परीक्षण गरिएको थियो । यद्यपि, कोरोना संक्रमितमध्ये कतिले बच्चा छँदा बिसिजी खोप लगाएका थिए र उनीहरूको अवस्था अहिले कस्तो छ भन्नेबारे चाहिँ कुनै तथ्यांक छैन ।

प्रोफेसर डा. कमातको दाबी के छ भने, विभिन्न जर्नलहरूको अनुसन्धान नतिजा एवं बिसिजी खोपको प्रभावकारितासम्बन्धी परीक्षणले यो खोप इम्युनिटीका लागि सकारात्मक असर पार्ने देखिएको छ ।

भारतले अर्थतन्त्रमा दैनिक चार अर्बभन्दा बढी घाटा व्यहोरिरहेको र इटलीले कोरोना भाइरसको संक्रमणबाट दिनहुँ सयौँ नागरिकको जीवन गुमाइरहेको अवस्थामा बिसिजी खोप लगाएका मानिस कोरोना भाइरसविरुद्ध प्रतिरोधी छन् कि छैनन् ? भन्ने प्रश्न यतिवेला महत्वपूर्ण छ ।

राष्ट्रिय अभियानका रूपमा बिसिजी खोप दिइने गरेका मुलुकमा मृत्युदर अन्य देशको भन्दा कम रहेको अध्ययनको निष्कर्ष छ । यसैका आधारमा बिसिजी खोपले कोरोना भाइरसविरुद्ध महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अनुमान अनुसन्धानकर्ताहरूले गरेका छन् ।

डा. कमातले आफ्नै मेडिकल सेन्टरका कर्मचारीहरूमा यसबारे परीक्षण गर्ने बताएका छन् । सुरुमा एक हजार स्वास्थ्यकर्मीलाई यो खोप दिने र प्रभावकारी देखिएमा संक्रमणको जोखिममा रहेका स्वास्थ्यकर्मी, अस्पताल एवं मेडिकल प्रयोगशालाका कार्यकर्ताहरूलाई पनि यो खोप दिने डा. कमात बताउँछन् ।

बिसिजी खोप ‘फस्र्ट फेज’को अवस्थामा रहेको मूत्रथैली (ब्लाडर)को क्यान्सरको बिरामीमा इम्युनोथेरापीका लागिसमेत प्रयोग हुने गरेको छ ।

यद्यपि, बाल्यावस्थामा लगाइएको खोपले अहिलेसम्म रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन नसकेको पनि हुन सक्छ । मेडिकल परीक्षणपछि सकारात्मक नतिजा देखिए मात्रै यो खोप कोरोना भाइरसविरुद्ध प्रयोग गरिने डा. कमातले बताएका छन् ।

यसै साता ‘न्युयोर्क इन्स्टिच्युट अफ टेक्नोलोजी’को एक अध्ययनले पनि राष्ट्रिय अभियानका रूपमा बिसिजी खोप दिइने जापान, ब्राजिललगायतका मुलुकमा कोरोना भाइरसको असर कम परेको जनाएको छ ।

‘भारतीयहरूले औषधि विज्ञानमा निकै योगदान दिँदै आएका छन् र यसले पनि हालको महामारीविरुद्ध सहयोग गर्न सक्नेछ,’ डा. कमात भन्छन्, ‘त्यसैले, बिसिजी खोपको क्लिनिकल परीक्षणको अध्ययन राम्रोसँग गरिनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *