ब्राजिलमा कोरोना संक्रमित संख्या १५ लाख नाघ्यो, अमेरिकामा एकैदिन थपिए ५७ हजार संक्रमित

काठमाडाैँ, १९ असार । दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा काेराेना संक्रमण दर बढेसँगै दैनिक मृत्यु संख्या समेत बढिरहेकाे छ । हाल विश्वमै काेराेना संक्रमणबाट सर्वाधिक दैनिक मृत्यु ब्राजिलमै देखिएकाे छ । संक्रमणका केसमा भने अमेरिका अघि देखिएकाे छ ।

ब्राजिलमा काेराेना संक्रमितकाे संख्या १५ लाख नाघेकाे छ । शुक्रबार बिहानसम्म त्यहाँ कुल संक्रमित संख्या १५ लाख १ हजार ३५३ पुगेकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ । ब्राजिलमा बिहीबार एकै दिन ४७ हजार ९५४ जनामा संक्रमण पुष्टि भएकाे छ । काेराेना भाइरसकै कारण त्यहाँ बिहीबार १ हजार २७७ जनाकाे मृत्यु भएकाे छ ।

अघिल्लाे दिन बुधबार पनि त्यहाँ ४४ हजार ८८४ नयाँ संक्रमित थपिएका थिए भने १ हजार ५७ जनाले ज्यान गुमाएका थिए । अहिलेसम्म ब्राजिलमा काेराेना संक्रमणका कारण कुल ६१ हजार ९९० जनाले ज्यान गुमाइसकेका छन् ।

तर ब्राजिलमा निकाे हुने दर पनि बढी छ । त्यहाँ हाल काेराेना संक्रमितमध्ये ९ लाख १६ हजारभन्दा बढी मानिस संक्रमणमुक्त भएकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ । बिहीबार त्यहाँ ८९ हजारबढी मानिस संक्रमणमुक्त भएकाे तथ्यांकमा देखाइएकाे छ । हाल त्यहाँ ५ लाख २३ हजारभन्दा बढी मानिस संक्रमित अवस्थामै छन् ।

उता संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेकाे संख्या दैनिक रूपमा बढिरहेकाे छ । त्यहाँ कुल संक्रमित संख्या २८ लाख ३७ हजार नाघेकाे छ । त्यहाँ १ लाख ३१ हजारभन्दा बढीले काेराेनाकै कारण ज्यान गुमाइसकेका छन् ।

विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा शुक्रबार बिहानसम्म कुल संक्रमित संख्या २८ लाख ३७ हजार १८९ पुगेकाे छ । बिहीबार एकै दिन मात्र त्यहाँ हालसम्मकै बढी ५७ हजार २३६ जनामा संक्रमण पुष्टि भएकाे छ । यसअघि बुधबार पनि अमेरिकामा दैनिक संक्रमणका ५१ हजार ९७ केस फेला परेका थिए ।

अमेरिकामा पछिल्लाे समय काेराेना भाइरस संक्रमण तीव्र हुँदै गए पनि मृत्युदर भने कम छ । संक्रमण दरकाे तुलनामा मृत्युदर घटिरहेकाे छ भने निकाे हुनेकाे संख्या पनि बढिरहेकाे छ । अहिलेसम्म अमेरिकामा ११ लाख ९१ हजारभन्दा बढी मानिस पूर्ण रूपमा निकाे भइसकेकाे जनाइएकाे छ । पछिल्लाे २४ घण्टामा (बिहीबार) त्यहाँ २६ हजार ४११ मानिस संक्रमणमुक्त भएका छन् । यद्यपि अझै १५ लाख १४ हजारभन्दा बढीमा काेराेना भाइरस सक्रिय रहेकाे छ ।

तर अमेरिकामा काेराेना भाइरसका कारण मृत्यु हुनेकाे संख्या विश्वमै अधिक रहेकाे छ । त्यहाँ हालसम्म १ लाख ३१ हजार ४८५ जनाकाे भाइरस संक्रमणका कारण मृत्यु भइसकेकाे छ । बिहीबार त्यहाँ काेराेनाबाट ६८७ जनाकाे मृत्यु भएकाे छ । मृत्युका केसहरूमा भने दैनिक उतारचढाब जारी छ । अघिल्लाे दिन बुधबार पनि त्यहाँ ६७६ जनाकाे मृत्यु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *