भारतबाट भित्रिएकालाई घरमै क्वारेन्टाइनमा बस्न सुझाव

काठमाडौं, १० चैत । भारतबाट भित्रिएका नेपालीलाई घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ। एकैपटक हजारौंको संख्यामा भारतीय सीमा नाकाबाट नेपाल भित्रिएका सबैलाई घरमा पुगेपछि होम क्वारेनटाइन अर्थात् घरमै अलग्गै बस्न राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ। भारतमा कोरोना संक्रमण देखिइसकेको र त्यहाँबाट आउने मानिसमा केही दिनपछि देखिन सक्ने हुनाले उनीहरूलाई होम क्वारेनटाइनमा बस्न अनुरोध गरेको महाशाखाका प्रमुख वासुदेव पाण्डेले बताए।

शनिबार भारतका विभिन्न नाकाबाट भित्रिएका नेपाली सबैलाई घरमा क्वारेन्टाइनमा बस्न सूचना दिन नसकिएको महाशाखाले स्विकारेको छ। ‘संख्या धेरै भएका कारण कतिपयले फारम भरे, कतिपयले भर्न पाएनन् र घरमै क्वारेनटाइन बस्ने कुरा पनि सुन्न पाएनन्,’ महाशाखाका प्रमुख पाण्डेले भने भारतमा कोरोना संक्रमण भइसकेका कारण त्यहाँबाट आएका नेपाली घरमै क्वारेनटाइनमा नबसे कोरोना फैलिने जोखिम बढ्ने पाण्डेले बताए। तुरुन्तै स्थानीय स्वास्थ्य निकायमार्फत गाउँमा फारम पठाइ उनीहरूको अवस्थाबारेमा खोजी गर्ने तयारी भइरहेको उनले बताए। तर यो कार्य सजिलो भने छैन।

स्वास्थ्य मन्त्रालयका अधिकारी सीमाबाट नेपाल भित्रिनेको ज्वरो नापेको तर पछि सम्पर्क गर्न आवश्यक फारम भर्न नभ्याएको जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयले भारतीय नाका बन्द गर्न गृह तथा अन्य मन्त्रालयलाई अनुरोध गरेपछि पनि नाका बन्द नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशनकुमार पोखरेलले बताए। उनले निर्बाध रूपमा सीमाबाट दैनिक नेपाली आउने क्रमले कोरोनाको जोखिम बढेको स्वीकार गरे। यो खबर आजको नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *