भारतीय मिडिया स्वतन्त्र पहिचान गुमाउँदै, छापियाे ‘शाेक सन्देश’

काठमाण्डाै – पटक–पटक आलाेचित हुँदै आएकाे मूलधारका भारतीय मिडियाकाे शैलीप्रति फेरि एक पटक प्रश्न उठेकाे छ । केही महिनायता अभिनेता सुशान्त सिंह राजपूतकाे निधनपछि बहुसङ्ख्यक मिडियाले यही विषयलाई हेडलाइन बनाएका छन् ।

मिडियाकाे यही रवैयाप्रति फेरि एक पटक खुलेर आलाेचना भएकाे हाे । भारतकाे अङ्ग्रेजी संस्करणकाे अखबार ‘द हिन्दू’ ले भारतमा स्वतन्त्र मिडियाकाे अवसान भएकाे भन्दै समवेदना छापेकाे छ । ‘स्वतन्त्रताकी छाेरी एवं सत्यकाे पत्नी मिडियाको अवसान भएकाेमा परिवार र साथीकाे तर्फबाट समवेदना प्रकट गरिएकाे छ’, सन्देशमा भनिएकाे छ ।

विशेषगरी सुशान्त सिंह प्रकरणमा मिडिया पूर्वाग्रही भएकाे र न्यायालयकाे काम चलिरहँदा एकतर्फी समाचार प्रकाशन र प्रसारण भएकाे प्रति एम्नेस्टी इण्डिया ले पनि ध्यानाकर्षण भएकाे जनाइसकेकाे छ । सुशान्त प्रकरणमै केही मिडियाले रिया चक्रवर्ती दाेषी साबित भइसकेकाे जसरी समाचार सम्प्रेषण गरिरहेकाे र अपमानित गरिरहेकाे भन्दै आलाेचना भइरहेकाे छ ।
भारतमा गरिबी, काेराेना महामारीले अर्थतन्त्रमा निम्त्याएकाे कहर, चीनसँगकाे सीमा विवादलगायत कैयाैँ विषय हुँदा पनि मिडिया सत्तापक्षकाे भजन गाउन, आमनागरिकका चासाेबाहिरका र कुनै स्वार्थ राखेर प्रस्तुत भएकाे भन्दै आलाेचना हुँदै आएकाे छ ।

अधिकांश मिडिया यस्तै विषयमा अल्झिँदा औँलामा गन्न सकिने केही मिडिया ओझेलमा पर्ने गरेका छन् । विश्वव्यापी रुपमा फैलिएकाे काेराेना महामारीका कारण भारत अहिले विश्वकाे सबैभन्दा प्रभावित देशकाे दाेस्राे स्थानमा छ । भारतमा ४५ लाखभन्दा धेरैमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भइसकेकाे छ भने ७६ हजारभन्दा धेरैकाे ज्यान गइसकेकाे छ ।

सुशान्त सिंह राजपूतकाे मृत्यु प्रकरणकाे जाँच तीन केन्द्रीय एजेन्सीले गरिरहेका छन् । पैसाकाे लेनदेनकाे विषयमा ईडी, मृत्युकाे विषयमा सीबीआई र लागुऔषधसँग जाेडिएकाे मामिलाकाे जाँच एनसीबीले गरिरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *