भारतीय सीमामा तारबार लगाउन सहयाेग गर्छाैं : एनआरएनए अध्यक्ष

युरोप, १ जेठ । बुधबार (मे १३) नेपाल पत्रकार महासंघ युरोप शाखाले गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तको प्रमुख आतिथ्यतामा एक अन्तरक्रिया कार्यक्रम (अनलाइन जुम एप मार्फत) सम्पन्न गरेको छ ।

कोरोना भाइरसले विश्वभरमा रहेका नेपाली विद्यार्थी एवं श्रमिकहरुलाई प्राथमिकताका साथ स्वदेश फर्काउन आफुहरु लागिपरेको अध्यक्ष पन्तले बताएका छन् । उनले कतिपय देशहरुमा केही नेपालीहरु गैरकानुनी रुपमा बसोबास गरिरहेको र उहाहरुलाई सम्बन्धित देशको सरकारले यथासिघ्र देश छोड्न आदेश दिएकोले आफुहरु नेपाल सरकारसगं समन्वय गरेर स्वदेश फर्काउने बाताबरण मिलाई रहेको जानकारी दिए ।

बुधवार नेपाल पत्रकार महासघं युरोप शाखाको अनलाईन छलफल कार्यक्रममा अध्यक्ष पन्तले नेपालीहरुको समास्यालाई समाधान गर्नका लागि आफुहरु सधै प्रतिबद्ध रहेको बताउदै विदेशमा रहेका सारा नेपालीहरुको साथमा एनआरएनए रहेको बताए ।

एउटा फरक प्रसंगमा अध्यक्ष पन्तले गैरआवासीय नेपाली संघ माल्टाका केही पदाधिकारी मानव तस्कारीमा समावेश भएको समाचार आएको र उनीहरु समावेश भएको प्रमाण फेला परे आफुहरु तत्काल बर्खास्त गर्न तयार रहेको बताए ।

सघंले नेपालमा केही ठुला परियोजनाहरुमा काम गरिरहेको बताउदै कोरोनाले गर्दा केही असर परे पनि ती कामले छिट्टै निरन्तरता पाउने पनि उनले विश्वास व्यक्त गरे ।

एनआरएनए युरोप शाखाका संयोजक नारायण अर्चायले युरोपभित्र रहेका नेपालीहरुको समस्या समाधान गर्न आफुहरु निरन्तर लागि परेको बताए । आर्चायले एनआरएनए पोल्याण्ड, अष्ट्रियामा केही विवाद रहे पनि छिट्टै समाधान गरिने विश्वास दिलाए ।

‘पत्रकारमाथि दुर्व्यवहार हुँदैन’

साे क्रममा सञ्चारकर्मीहरुका प्रश्नको जवाफ दिँदै अध्यक्ष पन्तले कुनै पनि एनसीसीले गलत कार्य गरेको खन्डमा लिखित जानकारी गराए केन्द्रले आवश्यक अनुसन्धान गरेर कार्वाहीको प्रकृया अगाडि बढाउने र प्रमाणित भए निलम्बन समेत गरिने बताए । एनआरएनए (एनसीसी) का जिम्मेवार व्यक्तिहरुबाट विभिन्न देशमा पत्रकारहरुमाथि दुर्व्यवहार हुने गरेको पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै पन्तले पत्रकार र एनआरएनएबीच नङ र मासुको सम्बन्ध रहेको बताए ।

युरोप लगायत विभिन्न क्षेत्रमा मानव तस्करी भइरहेको र नेपालीहरु अलपत्र पारेको जिज्ञासामा गम्भीर हुँदै तस्करी गर्ने कसैलाई नछोड्ने बताउँदै उनले युरोप संयोजकको सयोजकत्वमा ५ सदस्यिय छानबिन समिति गठन भैसकेको समेत जानकारी गराए ।

युरोप संयोजक नारायण आचार्यले आपतकालिन राहत कोषमा लगभग २८ हजार युरो संकलन भैसकेको जानकारी दिँदै ५० हजार युरोको लक्ष पूरा गरिने प्रतिबद्धता व्यक्त गरे । संकलित रकम युरोपभित्रकै लक्षितवर्गलाई सहयोग गर्ने योजना रहेको उनले बताए । युरोपमा रहेका एनसीसीहरुको आईसीसीसँगको समन्वय, कोष संकलन र वितरणको विषयमा सह-संयोजकहरु कृष्ण तिमेल्सिना, मुक्त गुरुङ र शुक्रराज न्यौपाने ले आ-आफ्नो धारणा राखेका थिए ।

‘भारतीय सीमामा तारबार लगाउनुपर्छ’

एनआरएनए अध्यक्ष पन्तले भारत र नेपालबीचको खुला सीमामा तारबार लगाएर भए पनि देशकोे सीमा रक्षा गर्नु पर्ने बताएका छन् । पन्तले भने ‘हामीले भारतीय दादागिरीका विरुद्धमा वक्तव्य मार्फत संस्थाको पोजिसन स्पष्ट पारेका छौं । म व्यक्तिगत रुपमा नेपाल र भारतबीचको सीमा क्षेत्रमा तारबार लगाएर भए पनि सिमा रक्षा गर्नु पर्छ भन्ने मान्यता राख्छु’ ।

उनले भारतीय हेपाहा प्रवृत्तिविरुद्ध सबै नेपालीहरु जस्तै गैरआवासीय नेपाली संघ पनि एक भएर लड्न तयार भएको बताए । पन्तले भारतविरुद्ध नेपाल सरकारसँग मिलेर संघले काम गर्ने प्रतिबद्धता जाहेर गर्दै सरकारले चाहेमा संघ भारतीय सीमामा तारबार लगाउन आर्थिक संकलन गर्न समेत तयार रहेको बताए ।

यसअघि एनआरएनएले नेपाली भूमि लिपुलेकमा अतिक्रमण गरी भारतले सडक मार्ग निर्माण गरेकोप्रति भत्सर्ना गरिसकेकाे छ । संघका तर्फबाट अध्यक्ष कुमार पन्तले सोमवार एक विज्ञप्ति जारी गर्दै भारतले एकतर्फी रुपमा नेपाली भू-भाग (कालापानी, लिपुलेक र लिम्पियाधुरा) अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेकोमा र अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गरेकाेमा भारतीय यी असंवेदनशील गतिविधीको भत्सर्ना गरेका हुन् ।

भारतले नेपाली भूभागमा सडक मार्ग निर्माण गरेकोप्रति विरोध गर्न संघका सबै राष्ट्रिय समितिहरु परिचालित हुने भएका छन् । संघका महासचिव डा. हेम राज शर्माले सोमवार नै सबै राष्ट्रिय समितिलाई पत्राचार गर्दै आआफ्ना देशमा भएका भारतीय दुतावासमा गएर भारतले एकतर्फी रुपमा नेपाली भू-भाग अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेकोमा अहिले थप हस्तक्षेपको निन्दा गर्दै विरोधपत्र बुझाउन आग्रह गरेका थिए ।

शाखाका अध्यक्ष केजिन राईको अध्यक्षता र कार्यकारिणी सदस्य राजकुमार थापाको सन्चालन गरेको बहस कार्यक्रममा एनआरएनए युरोप संयोजक नारायण आचार्य, युरोप उप-संयोजकहरु क्रमशः कृष्ण तिमेल्सिना (बेलायत), मुक्त गुरुङ (स्पेन), शुक्रराज न्यौपाने (आयरल्याण्ड) को आतिथ्यता रहेको थियो ।

अन्तरक्रियामा पत्रकार महासंघ युरोप शाखाका सचिव द्रोण रिजाल, सदस्यहरु राजकुमार थापा , रविचन्द्र भट्टराई, शेरबहादुर परियार, महेशकुमार खाती, सरला कट्टेल, प्रेम परियार, गोमा खरेल लगायत युरोपका विभिन्न देशका पत्रकारहरुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *