मकै बेचेर वर्ष दिन घर खर्च चलाउने किसानहरुको सपना उडायो हावाहुरीले

रौतहट, २६ वैशाख । गत वैशाख ५ गते राति आएको हावाहुरी र असिना पानीका कारण आफुहरुले लगाएको बालीनाली नष्ट भएपछि रौतहटका किसानहरु राज्यबाट उचित क्षतिपूर्तिको आशमा बसिरहेका छन् ।

सो दिन आएको असिनापानी र हावाहुरीले जिल्लाको उत्तरी भेगमा लगाइएका बालीनालीहरुमा निकै नै क्षति पु-याएको थियो । जिल्लाको चन्द्रपुर, गुजरा, वृन्दावनलगायतका नगरपालिकाका विभिन्न वार्डहरुमा किसानहरुले लगाएका मकै, गहुँ, आँप, तरकारी लगायतका खेतीबालीहरुमा ठूलो नोक्सानी भएको छ।

आफूहरुले लाखौँ लगानी गरेर लगाएका बाली पूर्णरुपमा नोक्सान हुँदा पनि तीनै तहका सरकारले अहिलेसम्म किसानहरुलाई कुनै पनि किसिमको राहत वा क्षतिपूर्ति नदिएको किसानहरुको गुनासो छ ।

जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ चेतनगरका किसान खड्गप्रसाद पौडेलले आफुले १ विगाहा क्षेत्रफलमा लगाएको सबै मकै नष्ट भएको गुनासो गर्नुभयो ।

उहाँले असिना पानीले भर्खर दाना लाग्न थालेको मकैमा असिना पानीले केहीपनि बाँकी नराखेको भन्दै अब के गर्ने, के नगर्ने भनेर तनावमा रहेको दुखेसो व्यक्त गर्नुभयो ।

‘सबै गरेर एक कठ्ठा बराबर २५ सय हाराहारी खर्च हुन्छ’ उहाँले भन्नुभयो, ‘तर मैले एक दानापनि भित्र्याउन नसक्ने गरी मकै नष्ट भएको छ । यहीँ मकै बेचेर वर्षदिन घर चलाउने सपना थियो तर उल्टै ऋण थपिने भयो ।’

चन्द्रपुर नगरपालिकाको प्रारम्भिक तथ्याङ्क अनुसार नगरपालिकाका विभिन्न वार्डका करिब ४ हजार विगाहामा लगाएका मकैमा करिब ८५ प्रतिशत पूर्णरुपमा क्षति भएको छ ।

अर्का किसान वसन्त पौडेलले आफुले यति ठूलो हावाहुरी र असिना अहिलेसम्म नदेखेको अनुभव सुनाउँदै मकै बेचेर त्यो पैसाले आफ्ना नातिनातिनीलाई काँठमाडौँ राखेर पढाउने सपना तुहिएको दुखेसो सुनाउनुभयो । उहाँका अनुसार सो दिन करिब एक किलोसम्मको असिना परेको थियो र हावाको वेग पनि अत्याधिक रहेको थियो ।

‘हावाहुरी र असिनापानीले सबै मकै खेतमै नष्ट गरिदियो’ उहाँले भन्नुभयो,‘हाम्रो यति धेरै नोक्सान हुँदापनि राज्यले आजसम्म कुनै क्षतिपूर्ति दिएको छैन् । यस्मा हामी निकै दुःखी छौँ ।’

उहाँले राज्यले किसानहरुको नोक्सानीको क्षतिपूर्ति नदिने हो भने किसानहरु भोकभोकै मर्नुपर्ने अवस्था आउन सक्ने भन्दै किसानको हितमा राज्यले यथासक्य चाँडो निर्णय गर्नुपर्नेमा जोडदिनुभयो ।

कोरोना भाइरसको कहर अनि लकडाउनको मार खेपिरहेका किसानहरुलाई प्रकृृतिले पनि प्रहार गरेको किसान राम अयोध्या चौधरीको गुनासो छ । उहाँले कोरोना र लकडाउनको मार जेनतेन सहिरहेका किसानहरुलाई प्रकृतिले पनि नराम्रोसँग प्रहार गरेकाले अब के गर्ने भन्ने बारे अन्यौल भएको बताउनुभयो ।

उहाँले किसानहरुको क्षतिलाई उचित मूल्याङ्कन गर्दै तीन तहका सरकारले तत्काल राहत तथा क्षतिपूर्तिको घोषणा गर्नुपर्नेमा अहिलेसम्म वेवास्ता गरेको भन्दै किसानहरुको मार्का बुझेँर यथासक्य चाँडो निर्णय गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले आफुहरु किसानहरुको क्षतिको तथ्याङ्क संकलनमा लागिपरेको भन्दै तथ्याङ्क संकलन गरेर संघीय सरकारलाई क्षतिपूर्तिका लागि पत्रचार गर्ने जानकारी दिनुभयो ।

उहाँले किसानहरुको मार्का आफुले नजिकबाट बुझेको भन्दै किसानहरुको नोक्सानीको भरपाइ गर्न र यो समस्याको दीर्घकालीन समाधानको लागि आफूनिरन्तर लागिरहेको दावी गर्नुभयो ।

मकै खेती यस नगरपालिकाका किसानहरुको प्रमुख नगदे बाली हो । तर हावाहुरी र असिना पानीले खेतमै मकै सबै नष्ट गरेपछि किसानहरु चिन्तित भएका छन् । आफूहरुको लगानी त परै जावोस् उल्टै ऋण लाग्नेभएपछि घरपरिवार कसरी चलाउने भन्ने चिन्ताले किसानहरुलाई सताइरहेको छ ।

उनीहरुले राज्यले किसानहरुको क्षतिको क्षतिपूर्ति दिलाएर किसानहरुको समस्या समाधानमा पहल गर्नुपर्नेमा २० दिन कटिसक्दा पनि कुनै वास्ता नगरेको प्रति गुनासो व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *