मजदुरसँगै मन्त्रीको खाना मेसमा

काठमाडौं- निरन्तरको लकडाउनका कारण काठमाडौंमा बेरोजगार बनेका मजदुर तथा विपन्न वर्गका सर्वसाधारणलाई बिहान बेलुका हात मुख जोड्न समस्या भएपछि सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा विभिन्न स्थानमा सामुहिक मेस सञ्चालनमा ल्याइएको छ।

मजदुर तथा उपत्यकामै घर भएर पनि निम्न आर्थिक अवस्था भएका नागरिक आम्दानी नहुँदा बिहान बेलुकी छाक टार्नै नसक्ने अवस्थामा छन्। राहत वितरणबाट पनि समस्या समाधान हुन नसकेका बेला शहरी विकास राज्यमन्त्री मानन्धरको पहलमा काठमाडौंको बालाजु आसपासका क्षेत्रमा सामूहिक मेस सञ्चालनमा आएको हो।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा नागार्जुन नगरपालिका र काठमाडौं महानगरपालिका- १६ र १७ मा खाना खुवाउने अभियान जारी छ।
स्थानीय तहहरुले वितरण गरिरहेको राहतमा सहयोग गर्ने र खाना नपाएकाहरुलाई पनि सहयोग पुर्‍याउने भावनाले मेसमा खाना खुवाउने अभियान सुरु गरिएको राज्यमन्त्री मानन्धरले बताए। मन्त्री मानन्धरले विभिन्न स्थानमा सञ्चालित मेसमै पुगेर आफू पनि मजदुरहरुसँगै खाना खाने र आवश्यक सहयोगको पहल गर्ने गरेका छन्।

शुक्रबारमन्त्री मानन्धरले सबै मेसहरुको अवलोकन समेत गरे। नागर्जुन नगरपालिकाको वडा नम्बर १,२ र ३ तथा काठमाडौं महानगरको विभिन्न स्थानमा सञ्चालित मेसमा दैनिक दुई छाक खाना खुवाउने गरिएको मन्त्री मानन्धरले बताए।

करीब एक हजारदेखि १२ सयसम्मलाई दैनिक खाना खुवाइएको छ। महानगरको वडा नं. १६ अन्तरर्गत बाइपासको तरुण मावि, गंगाहल नजिक होलीगार्डेन स्कुलसँगै, बाइसधारा स्विमिङ पुलको पछाडि बिहान बेलुकी खाना खुवाउने गरिएको छ। यस्तै वनस्थली खरिबोट, सानोभर्‍याङ, मैपी मन्दिरको प्रांगण र नयाँबजारको सासा बैंक्वेटमा बिहान बेलुकी नै खाना खुवाउने गरिएको मन्त्री मानन्धरले जानकारी दिए। महानगरको वडा नम्बर १७ को इन्द्रायणी मन्दिरमा भने साँझको खानामात्र खुवाउने गरिएको छ।

मन्त्री स्वयं मजदुरहरुसँग बसेर खाना खाँदा सर्वसाधारणले पनि खुसी व्यक्त गरेका छन्। प्रदेशसभा सदस्य प्रकाश श्रेष्ठले मन्त्री मानन्धरको पहलमा लकडाउन अवधिभरका लागि खाना खुवाउने प्रवन्ध मिलाइएको जानकारी दिए। यस्तै नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले मेसबाट खाना खुवाइरहेको बताइन्।

विभिन्न संघ संस्थाहरुको सहयोगमा सम्बन्धित क्षेत्रका बासिन्दाले खाना बनाउने र खुवाउने गर्दै आएका छन्। खाना बनाउनका लागि आवश्यक दाल चामल तरकारीलगायतका खाद्यान्नको व्यवस्थापनका लागि दाताहरुले पनि सक्दो सहयोग गरिरहेको मन्त्री मानन्धरले बताए।

यसअघि पनि लकडाउनका कारण समस्यामा परेका सर्वसाधारणलाई आफुले आवश्यक सहजीकरण गर्दै आइरहेको बताउँदै मन्त्रीले समस्यामा परेकाहरुलाई सामूहिक मेस सञ्चालन भएका ठाउँमा खाना खान आउन निमन्त्रणा गरेका छन्।

म पनि तपाईंहरुसँगै बसेर खाना खान्छु भन्दै मन्त्री मानन्धरले नजिकका ठाउँमा गएर खाना खान आग्रह गरेका हुन्। मन्त्री मानन्धरले राहतसँगै खानाका लागि सामूहिक मेस सञ्चालन गर्दा सहज हुने भएकाले आवश्यक सहजीकरणका लागि स्थानीय सरकारहरुलाई आग्रह समेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *